लगानी घट्यो
काठमाडौं : चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा लगानीमा कमी आउने आकलन गरिएको छ । आर्थिक सर्वेक्षण २०७६–७७ ले कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण सार्वजनिक र निजी लगानीमा ३.४ प्रतिशतले संकुचन आइ १८ खर्ब ८९ रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । चालु आवमा सार्वजनिक खर्च (सरकारको खर्च) १३ खर्ब ८५ अर्ब रुपैयाँ हुने सरकारको अनुमान छ । बाँकी लगानी निजी क्षेत्र र घरयासी क्षेत्रबाट आउनेछ । चालु आर्थिक वर्षमा लगानीमा संकुचन आउने भए पनि अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा भने लगानी १९.२ प्रतिशतले वृद्धि भएको थियो ।
अर्थशास्त्री केशव आचार्य लगानीमा कमी आउँदा उत्पादन तथा रोजगारीमा कमी आउने बताउँछन् । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन २.३ प्रतिशत हुने अनुमान गरिएको छ । सरकारले आर्थिक वर्षको सुरुवातमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । तर कोभिड–१९ को महामारीले पर्यटन, व्यापार, औद्योगिक क्षेत्र, उपभोग तथा आपूर्ति श्रृंखलामा आघात पारेपछि वृद्धिदर कमजोर हुने आकलन गरिएको हो । केन्द्रीय तथ्यांक विभागले जेठ महिनादेखि पूर्ववत् आर्थिक क्रियाकलाप सुचारू भए उक्त आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको भएपनि जेठ महिनामा पनि आर्थिक गतिविधि ठप्प छन् । जसका कारण आर्थिक वृद्धिदर अझै कमजोर हुनसक्छ । यद्यपि अनुमानित आर्थिक वृद्धिदर हासिल भएको खण्डमा नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रुपैयाँको हुनेछ ।
लगानी घटेको र (गार्हस्थ) बचत बढेकाले लगानीको उपलब्धता भने बढेको छ । गत आर्थिक वर्षमा बचत र लगानीको अन्तर ३७.६ प्रतिशत थियो । अर्थात लगानीको आवश्यकता अनुसार स्रोतको उपलब्धता कम भएर अन्तर फराकिलो थियो । चालु आर्थिक वर्ष २०७६–७७ मा वचत र लगानीको अन्तरमा कमी आइ ३२.१ प्रतिशत हुने अनुमान छ । यसको अर्थ लगानीको लागि स्रोत उपलब्ध भए पनि लगानी गर्ने वातावरण नभएको भन्ने हो ।
आर्थिक सर्वेक्षण अनुसार, आर्थिक वर्ष २०७३–७४ मा वचत र लगानीको उपलब्धतामा सन्तुलन कायम रहेपनि त्यसपछिका वर्षहरूमा भने वचत र लगानीको मागमा ठूलो खाडल रहँदै आएको छ । गत वर्ष यो खाडल निकै उच्च थियो भने चालु आर्थिक वर्षमा लगानीको माग कम हुँदा केही घटेको छ ।
चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादनको १८.१ प्रतिशत वचत रहने अनुमान गरिएको छ, यस्तो वचत अघिल्लो आर्थिक वर्षमा १८.९ प्रतिशत थियो ।
कुल राष्ट्रिय वचतमा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको छ । कुल राष्ट्रिय वचत १७ अर्ब ३३ अर्ब रुपैयाँ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा लगानी बोर्डको कार्यालयबाट मात्रै १ खर्ब ५५ अर्ब रुपैयाँको लगानी स्वीकृत भएको छ । त्यस्तै, नेपालीहरूको प्रतिव्यक्ति ऋण ३८ हजार एक सय २९ पुगेको छ । सरकारले ऋण परिचालन बढाएपछि प्रत्येक नेपालीको ऋणभार २ हजार छ सय एक रुपैयाँ थपिने अनुमान छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स प्राप्तिमा गिरावट आउने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आर्थिक वर्षमा ७ खर्ब २५ अर्ब रेमिट्यान्स भित्रने अनुमान छ । अघिल्लो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को २५.४१ प्रतिशत बराबर रेमिट्यान्स भित्रिएको थियो भने चालु आवमा यो घटेर १९.२५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ ।
आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवाराज खतिवडाले फागुन अघिसम्म अर्थतन्त्रका सबै परिसूचक मजबुत रहेको भएपनि त्यसयता कोरोना भाइरसको महामारीका कारण उत्पन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशले दबाब उत्पन्न भएको उल्लेख गरेका छन् ।