सप्तरीमा थप १२ जनामा कोरोना : संक्रमितको संख्या २९ पुग्यो
राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा बसेका एक प्रहरीसहित थप १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। एक प्रहरीसहित १२ जनामा संक्रमण देखिएपछि सप्तरीमा मात्र कोरोना संक्रमितको सङ्ख्या २९ पुगेको छ।
बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय असईमा संक्रमण पुष्टि भएको थियो। बिहीबार बोदे बर्साइन नगरपालिका पातोस्थित क्वारेन्टाइनका १८, १९, २१, २६, २९, ३०, ३०, ३३, ३६, ३६, ३६ र ४२ वर्षकालाई कोरोना संक्रमण पुष्टि भएको हो। पिसिआर परीक्षणका लागि बोदे बर्साइनका २४ जनाको स्वाब जेठ ७ गते संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अत्यधिक चाप बढेपछि सप्तरीको स्वाब पहिलो पटक टेकु पठाइएको हो। बोदे बर्साइनका अन्य १२ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी छ।
बुधबार अपरान्ह बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा बोदे बर्साइन नगरपालिकाका ४७ वर्षीय र बिष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित सबै जना सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेका छन्।
मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनासहित धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजिटिभ आएको छ। प्रदेश २ मा ७६ जना नयाँ संक्रमित थपिएसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकाको सङ्ख्या प्रदेश २ मा चार सय पुगेको छ।
अहिलेसम्ममा प्रदेश २ का आठै जिल्लामा संक्रमण देखिएको छ। हालसम्म प्रदेश २ मा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ, ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। उपचारपछि निको भएर घर फर्कनेमा पर्साका सर्वाधिक ८८ जना, रौतहटका तीन जना, बाराका २ जना, सर्लाहीका २ जना र धनुषाका २ जना रहेका छन्।