दोलखाका ७६ वर्षीय वृद्धमा कोरोना संक्रमण, टिचिङ अस्पतालमा उपचार हुँदै
चरिकोट : दोलखाका एक ७६ वर्षीय वृद्धमा कोरोना संक्रमण देखिएको छ । सदरमुकाम चरिकोटबाट करिब ३ किलोमिटर उत्तरतर्फ भीमेश्वर नगरपालिका-२, तिखातलका ७६ वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।
प्रमुख झाकाअनुसार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको जानकारी दिए । केएमसी अस्पतालमा उपचारकै क्रममा आरडीटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर टेकुमा गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ देखिएपछि बुधबार राती नै उनलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
योसँगै दोलखा जिल्ला पनि कोरोना संक्रमितको सूचीमा परेको छ । संक्रमितको छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारीले उनलाई उपचारको लागि काठमाडौं लगेकी थिइन् । बुहारीलाई टिचिङ अस्पतालले क्वारेन्टाइनमा राखेको छ र बिहीबार उनको स्वाब संकलन गरेर परीक्षण गरिने टिचिङ अस्पताल महाराजगंजका निर्देशक डा. प्रेम खड्काले जानकारी दिए ।
हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि शनिबार स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण काठमाडौं रिफर गरिएको संक्रमितका भाइले जानकारी दिए ।
चरिकोटस्थित नेपाली सेनामा कार्यरत संक्रमितका बुहारीको भाइ करिब डेढ हप्ताअघि सो घरमा भेटघाटमा गएको उनको भाइले जानकारी दिए।
संक्रमितको घरलाई बाह्य सम्पर्कका लागि रोक लगाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। घरमा रहेका २ छोरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइने प्रजिअ शर्माले जानकारी दिए । संक्रमितलाई अस्पताल पुर्याउने एम्बुलेन्स, नेपाली सेनालगायतलाई ट्रेसिङ सुरु गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !