‘बिछोडको पीडा’ मा गीतकार थापा

‘बिछोडको पीडा’ मा गीतकार थापा

काठमाडौं : वरिष्ठ गीतकार रत्नशमशेर थापाको बिहीबार निधन भएको छ। ८३ वर्षीय गीतकार थापालाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति उपचारका लागि कमलपोखरीस्थित निवासबाट थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। करिब डेढ महिना टिचिङ अस्पतालमा उपचारपछि उनी घरमै आराम गरिरहेका थिए।

गीतकार थापा २०१० को दशकमै मुक्तकलाई चर्चित बनाउने पुस्तामध्येका हुन्। बिछोडको पीडा, आँखैमा रात गली, पन्छीमा डाँफे राम्रो, गोरेटो त्यो गाउँको, जाग लम्क चम्क हे नौ जवान हो, हे कान्छा ठट्टैमा बैंस जान लाग्यो, घुम्तीमा नआऊ है, त्यो खोलाको सङ्लो पानी, स्वर्गकी रानीलगायतका कयौं हिट गीतका रचनाकार हुन् थापा।

थापाका ताराका काँचा रङ (कविता संग्रह) र रुझेका परेला (गीत संग्रह) प्रकाशित छ। उनले सुरुआतमा आफ्नो साहित्यिक नाम आरएस मधुर राखेका थिए। पछि ‘रूपरेखा’ पत्रिकाका सम्पादक जनकनाथ प्याकुरेलले कविता प्रकाशन गर्दा वास्तविक नाम नै प्रकाशन गरिदिन थालेपछि भने आफ्नो साहित्यिक नाम त्यागेका थिए। उनको पहिलो रचना ‘मन पर्छ त्यो रात’ थियो। उक्त रचना पटना विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरूद्वारा प्रकाशित ‘उकालो’ पत्रिकामा प्रकाशित भएको थियो।

फणीन्द्र संगमका अनुसार थापाका समकालीन सर्जकहरू कोही रेडियो नेपाल त कोही तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका जागिरे थिए। तर उनलाई जागिरको लोभ जागेन। उनी चाकडी प्रवृत्तिका विरोधी थिए। साथीभाइसँगको चिया गफमा मात्रै होइन, उनी यस्ता प्रवृत्तिमाथि खुलेरै बोल्थे लेख्थे। यही कारण हुन सक्छ, रेडियो नेपालबाट उनका चारवटा गीत प्रतिबन्धित भएका थिए।

उनले लेखेका ‘हाँस्छौं गाउँछौं वसन्त ल्याउँछौं प्रेमको अनुरोधमा, धन्दा लिन्नौं हामी केही उनको विरोधमा’ तथा ‘बिहानीका तारा हामी सर्वहारा, धुलोमा लडी ओढ्दछौं शीतका धारा’ बोलको नारायणगोपाल र तारादेवीको युगल स्वरमा रहेको गीत प्रतिबन्धित भएको थियो। नारायणगोपालले नै संगीत भरेको ‘एक मुठी चामल पाऊँ न हजुर, जय जय मनाउँला’ गीत पनि प्रतिबन्धित भएको थियो। हाल यो गीतमा शिशिर योगीले स्वर दिएका छन्।

हाल नाइजेरियामा रहेका कवि हिक्मत थापा भन्छन्, ‘२०७२ सालको अन्तिम साँझ जिन्दगीको एउटा घुम्ती बन्यो, मेरा लागि। नयाँ वर्षको स्वागत गर्ने रंगीन साँझ रत्न दाइका मुक्तक र गीतको   श्रवणसँगै रसिलो बनेको थियो।’ गत वर्ष थापाकै टीकापुरस्थित निवासमा रत्नशमशेर थापा पुगेर उनका बुवा आमासँग तस्बिर खिचेको पनि सेयर गरेका छन् उनले।

बिहीबार सामाजिक सञ्जालबाट थापाको सम्झनामा धेरैले मनको गाँठो फुकाए। शारदा पत्रिकाका सम्पादक विमल भौकाजीले गीतकार थापाको हस्तलिखित गीत गोरेटो त्यो गाउँको पोस्ट गरेर सम्झना गरेका छन्।

विभिन्न पुरस्कार, सम्मानले थापाको कोठा भरिएको थियो। थापाले भने २०६९ सालमा मदन पुरस्कार गुठीद्वारा प्रदान गरिएको जगदम्बा श्री पुरस्कारलाई विशेष मान्थे। पुरस्कार ग्रहणपछि उनको अभिव्यक्ति थियो, ‘मलाई मेरा सिर्जनामा प्रयोग गर्न पनि मन लाग्छ। त्यसैले मेरा रचनामा विविधता, स्तरीयता, नवीनता र काव्यिकता पाइन्छ भनेर पाठक र श्र्रोताहरूले मन पराएका छन्। त्यसैले होला, डा. अभि सुवेदीले मेरा रचनाहरूलाई अध्ययन गरेर मलाई ‘युनिक पोइट’ पनि भन्ने गरेका छन्। साहित्यकार महेश पौड्याल भन्छन्, ‘रत्न दाइसँग घरमा र बाहिर बिताएका पलहरूको कुनै तुलना छैन।’ गीतकार राजेन्द्र थापा यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो गीत सुसेल्दै भन्छन्, ‘एउटा सिंगो युग पनि जाँदो रहेछ। तर कर्म भने लिएर जान नपाइने भएकोले सदा नेपाली जनमानसमा गीतकार रत्नशमशेर थापा रहिरहनु हुनेछ।’

साहित्यकार दिव्य गिरीका अनुसार नेपाली सुगम संगीतका एउटा नक्षत्र थिए गीतकार थापा। कवि साम्ब ढकाल भन्छन्, ‘गीतकार थापाको निधनले नेपाली संगीत आकाशमा ग्रहण लागेछ। ग्रहण फाट्न त समय लागिहाल्छ।’

ठट्टैमा बैंस गएको प्रसंग सुसेल्ने गीतकार थापाको जीवन सार्थक भएको छ। उनको योगदान नेपाली साहित्यमा खासगरी गीत विधामा सदा स्मरणीय रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.