सुदूरपश्चिममा टेस्ट किट अभाव
बैतडी /डोटी : पीसीआर प्रविधिको परीक्षण सुस्त रहेका बेला सुदूरपश्चिमका पहाडी जिल्लामा आरडीटी किटकै अभाव भएको छ। जेठमा मात्रै भारतबाट सुदूरपश्चिमका ९ वटा जिल्लामा ४० हजार मानिस फर्किएका छन्।
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म ९ वटै जिल्लामा ३२ हजार ७३२ जना भारताट फर्केका व्यक्ति क्वारेन्टाइन बसेका छन्। तर, अहिलेसम्म उनीहरूको आरडीटी परीक्षण पनि हुन सकेको छैन। बैतडी जिल्लामा मात्रै भारतबाट फर्किएका चार हजार मानिस क्वारेन्टाइनमा बसेका छन्। बैतडीमा ८ सय मात्रै आरडीटी किट मौज्दात रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए। उनले भने, ‘हामीले सबै पालिकामा पठाएको समेत गनेर अहिले अवस्थामा ८ सय किट मात्रै मौज्दात छन्। क्वारेन्टाइनमा १४ दिन पुगेकाको आरडीटी चेक गर्दैछौं। किट अभावको बारेमा सम्बन्धित ठाउँमा भनिसकेका छौं।’
क्वारेन्टाइनमा अहिले बसिरहेका नागरिकको भारतका बढी कोरोना प्रभावित क्षेत्रबाट फर्केका भए पनि कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। क्वारेन्टाइनमा बसेकाका आरडीटी मात्रै नभएर पीसीआर परीक्षण गर्नु उपयुक्त हुने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए। उनले भने, ‘भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक पुगेका छन्। तिनको चेकजाँच नहुँदा संक्रमणको जोखिम बढ्दै गएको छ।’ जिल्लामा भारतबाट फर्कने नागरिकको संख्या बढ्दै गएपछि कोरोना परीक्षणका लागि आरडीटी किटको अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
डोटीमा पनि भारतबाट घर फर्कनेको संख्या दिनानुदिन बढ्दै गएको छ। शुक्रबारसम्म झन्डै ६ हजार मानिस जिल्लाका क्वारेन्टाइनमा पुगेका छन्। जिल्लामा किट अभावका कारण अहिले स्वास्थ्य परीक्षण हुन नसकिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। केही व्यक्ति क्वारेन्टाइनमा बसेको समयावधि पुग्न लागे पनि उनीहरूको कोरोना परीक्षणका लागि किट अभावका कारण समयमै चेक गर्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए। ‘हामीसँग जम्मा पिसीआर दुई सय ९७ थान र आरडीटी किट दुई सय ४६ थान मात्र मौज्दात छ, यसले ६ हजारको कसरी चेक गर्ने ? ’ मलासीले भने। आवश्यक किटका लागि प्रदेश सरकारसँग माग गरिसकेको उनको भनाइ छ।
१० दिनयता भारतबाट जिल्ला भित्रिनेको संख्या पाँच हजार आठ सय १७ पुगेको छ। सीमानाकाबाट बिनापरीक्षण जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा राखिएको र हालसम्म कुनै पनि व्यक्तिको परीक्षण हुन नसक्दा कोरोना संक्रमण बढ्न सक्ने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। बिनापरीक्षण क्वारेनटाइनबाट घर पठाउँदा संक्रमण समुदाय स्तरसम्म फैलिन सक्ने र यसबाट सिर्जित परिस्थिति भयावह हुन गई नियन्त्रणबाहिर जान सक्नेसमेत प्रजिअ पौडेलले बताए।