आफै किट खरिद गरी स्थानीयको स्वाब संकलन गर्दै गन्यापधुरा
डडेल्धुरा : जिल्लामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ। किट अभावमा क्वारेन्टाइन बसिसकेकाहरुको कोरोना परीक्षण हुन सकेको छैन। तर, डडेल्धुराकै एक स्थानीय तहले भने कोरोना परीक्षणका लागि पालिकाको पहलमा भिटिएम खरिद गरी स्वाब संकलन गरिरहेको छ ।
जिल्लाको गन्यापधुरा गाउँपालिकाले आफै भिटिएम खरिद गरी पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब नमूना संकलन गर्न सुरु गरेको छ।
भारतबाट आएर क्वारेन्टाइन बसेका र १४ दिन भन्दा बढी भइसकेका मानिसको कोरोना परीक्षणका लागि ६३ जनाको शनिबार नमुना संकलन गरिएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए ।
गाउँपालिकाले खरिद गरी ल्याएको किटबाट स्वाब संकलन गरी रिपोर्टका आधारमा घर पठाइने अध्यक्ष मल्लले बताए । जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब सकंलन गर्ने पहिलो पटक हो ।
गन्यापधुरा गाउँपालिकामा ६ शय बढी भारतबाट गौरिफन्टा नाका भएर भित्रिएका छन्।उक्त नाकाबाट चार हजार बढी मानिस भित्रिएको र आउने क्रम जारिरहेको स्थानीय तहले जनाएका छन् ।
गन्यापधुरामा स्वास्थ्य कार्यालय डडेल्धुराको प्राविधिक सहयोगमा भइरहेका नमुना संकलन आइतबार पनि जारी राखिने गाउँपालिकाले जनाएको छ । समय पुगेका र स्वाब परीक्षण नहुँदा क्वारेन्टाइनमै बस्न वाध्य भएकाको कोरोना रिपोर्ट आएपछि घर पठाउने तयारी भइहेको जनाएको छ।
जिल्लाका अन्य स्थानीय तहमा भने स्वाब संकलन रोकिएको । माथिल्लो तह र मन्त्रालयलाई जानकारी गराउँदा पनि किट नपठाएपछि कोरोना परीक्षण प्रभावित भएको जिल्ला स्वास्थ्यले जनायो।
प्रतिक्रिया दिनुहोस !