डोटीका पहिलो कोरोना संक्रमित : श्रीमती र बच्चासहित भारतबाट आएका थिए
डोटी : डोटीमा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका छन्। सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा यस अघिनै कोरोना संक्रमित व्यक्ति भेटिएका थिए। सोमबार डोटीमा समेत कोरोना संक्रमितको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना भाइरसका संक्रमित देखिएका छन्।
सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परिक्षणमा डोटी शिखर नगरपालिका-३ का २५ वर्षका एक जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। उनी जेठ १२ गते श्रीमती, एक बच्चा सहित भारतबाट घर फर्किएका हुन्। उनीसँगै आएका उनको श्रीमती र बच्चाको भने कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ। संक्रमित पुरुष १२ गतेदेखि नै शिखर नगरपालिका–३, आलीमा रहेको क्वारेन्टाइनमा बसेका थिए। जेठ १६ गते उनको बच्चालाई केही सन्चो नभएपछि सोही दिन आमा, बुवा र बच्चालाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको जिल्ला अस्पतालले जनाएको छ। संक्रमित व्यक्ति अहिले पनि जिल्ला अस्पतालको आइसोलेसनमै राखिएका छन् भने उनका श्रीमती रबच्चा समेत अस्पतालमै रहेका छन्।
जेठ १५ गतेनै उनी, उनको श्रीमती र बच्चा सहित शिखर नगरपालिकाकै अन्य एक जना गरी चार जनाको कोरोना परिक्षणको लागि स्वाब लिइएमा अन्य तीन जनाको भने रिपोर्ट नेगेटिभ आएको शिखर नगरपालिका स्वास्थ्य इकाइका प्रमुख हरिष शाहले जानकारी दिए।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। उनी चार दिनसम्म बसेको क्वारेन्टाइनमा बसेका अन्य सबै व्यक्तिहरुको थ्रोट स्वाब लिने काम मंगलबारबाटै गरिने शाहले बताए। गौरीफन्टा नाकाबाट जिल्लासम्म उनी आएको गाडीमा को–को रहेका थिए, कुन कुन व्यक्तिहरुसँग उनको सम्पर्क भएको थियोलगायत कन्ट्र्याक्ट ट्रेसिङ्गको काम सुरु हुने जिल्ला अस्पताल डोटीका प्रमुख रमेश मलासीले बताए।
संक्रमित व्यक्तिको श्रीमती, बच्चालाई समेत फेरि १४ देखि २१ दिनसम्म क्वारेन्टाइनमा राखिने र उनीहरुको अर्को पटक थ्रोट स्वाब संकलन गरी कोरोना परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकन पर्सन सूर्य बिष्टले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !