पाटनका कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको रिपोर्ट 'नेगेटिभ '
बैतडी : बैतडीको पाटन नगरपालिका ८ का ३१ वर्षीय कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका ती पुरुषमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएपछि प्रत्यक्ष सम्पर्कमा रहेका ३१ जनाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो ।
३१ जनामध्ये ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । संक्रमित युवकसँगै क्वारेन्टाइनमा बसेका व्यक्ति, खाना पकाउने भान्छे र स्वास्थ्यकर्मीसहित ३१ जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
ती संक्रमित पुरुषको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचार भइरहेको छ । बैतडीका पहिलो कोरोना संक्रमित बुधबार कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । बैतडीका ६ जना कोरोना संक्रमितमध्ये ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने एकजनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !