अब ‘चन्द्रबहादुर’हरू जन्मन्छन् र ?

अब ‘चन्द्रबहादुर’हरू जन्मन्छन् र ?

पुरानो शासकीय वृत्तमा बहुचर्चित एक पात्र थिए, चन्द्रबहादुर थापा। तिनी उतिबेला नै किंवदन्तीका पात्र मानिन्थे। राणाकालीन कर्नेल, प्रजातन्त्रसँगै जर्नेल, नेपालको पहिलो मुख्यसचिव र अनि पहिलो महालेखा परीक्षक पनि। ‘चन्द्रबहादुर जस्ता धेरै भइदिऊन् भन्ने चाहन्छु’ पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका वाक्य हुन्, उनका हकमा। थापा मन्त्रिपरिषद् अध्यक्ष हुँदा चन्द्रबहादुर महालेखा परीक्षक थिए। थापाको शब्द थियो, ‘चन्द्रबहादुर जस्तै धेरै कर्मचारी भए भने नेपालको शासन प्रणाली सुध्रिन्थ्यो, सम्पत्ति हिनामिना र दुरुपयोग हुँदैनथ्यो।’

 

 ‘चन्द्रघण्टी’ र ‘जिउँदाका मलामी’ शब्दावली जोडिने गर्छ, चन्द्रबहादुरसँग। उनी मुख्यसचिव हुँदा बिहान ‘चन्द्रघण्टी’ बजेपछि जतिसुकै प्रभावशाली किन नहोऊन् तिनीहरू सिंहदरबार छिर्न पाउँदैन थिए। दोस्रो ‘चन्द्रघण्टी’ नबजेसम्म कोही पनि बाहिर निस्किन सक्दैनथिए। चन्द्रघण्टीको उल्लंघन गर्ने त सोझै सजायका भागीदार बन्थे। कडा मिजासका थापा कर्मचारीवृत्तमा डरका ‘परिचायक’ मानिन्थे।

अर्काे संयोग थियो, माथि मुख्यसचिव चन्द्रबहादुर थापा र तल ‘द्वार’पाले पनि चन्द्रबहादुर थापा। माथिका चन्द्रबहादुर अग्ला कदका, तलका होचो कदका। माथिका चन्द्रबहादुरका आदेश कठोरतापूर्वक कार्यान्वयन गर्न तलका द्वारपाले चन्द्रबहादुर पनि उत्तिकै दत्तचित्त। दुवै ‘चन्द्रबहादुर’बारे पाका पत्रकार भैरव रिसालको स्मरणमा पनि रोचक पारामा प्रस्तुत भएको छ। दुवै चन्द्रबहादुर ‘कठोर अनुशासन’का सूचक।

कर्मचारीतन्त्रलाई समयप्रति अनुशासित राख्न सिंहदरबारमा झुण्डिएको त्यो ‘घण्टी’ बोलीचालीमा ‘चन्द्रघण्टी’ बन्न पुग्यो। ‘सरकारी काम कहिले जाला घाम’का उद्देश्य बोकेकाहरू त उनको अघिल्तिर टिक्न नसक्ने अवस्था बन्यो। सैन्य-पुलिस जीवनबाट प्रशासनिक वृत्तमा प्रवेश गरेका थापा कठोर शैलीमा प्रस्तुत हुन्थे। सिंहदरबारले त उनको ‘शैली’लाई विस्मृतिमा पुर्‍याइसकेको छ। यतिखेर जस्तो कार्यकक्षमा कोट झुण्ड्याउँदै दातृ निकाय चाहर्न पुग्ने, चाकडीमा समय खर्चने र सरकारी कार्यालयलाई राजनीतिको अखडा बनाउने त झिनो सम्भावना पनि थिएन, त्यो कालखण्डमा।

द्वारे चन्द्रबहादुरको कडाइको फन्दामा डा. भेषबहादुर थापा पनि परे, त्यो पहिलो दिन नै। उनी २०१७ फागुनमा राजाबाट राष्ट्रिय योजना सदस्यसचिव नियुक्त भएपछि सिंहदरबार छिर्दैथिए। द्वारे चन्द्रबहादुरकोे सोधाइमा परे, ‘ओ, मिस्टर कहाँ जान लागेको ?’ उनले जवाफ दिए, ‘म योजनाको सदस्य सचिव भेषबहादुर थापा, अफिस जान लागेको।’  
तिनले किन प्रवेश गर्न दिन्थे र !

उल्टो थर्काए, ‘म यत्रो वर्षदेखि सिंहदरबारमा काम गरिरहेको छु, सारा कर्मचारी चिन्छु।’ भर्खरको २४ वर्षे केटोलाई चन्द्रबहादुरले चिन्ने सवाल नै थिएन। बल्ल-बल्ल मुख्यसचिवसँग सम्पर्क गरी माथिबाटै उपसचिव तल ओर्लेर ‘माथि’ लग्नुपरेको थियो। द्वारे चन्द्रबहादुरको ‘प्रस्तुति’का सन्दर्भमा डा. थापाले यो पंक्तिकारसँग रोचक पाराले सुनाएका थिए।

चन्द्रबहादुर थापा, आफूमात्र होइन, शासकीय वृत्तका पात्रहरूलाई ‘कडिकडाउ’ हुन सुझाउँथे। एक दिन मन्त्रिपरिषद् अध्यक्ष सूर्यबहादुर थापालाई भेट्न महालेखा परीक्षक चन्द्रबहादुर थापा कार्यकक्षमै पुगे। उनले ‘कडिकडाउ’ हुन सुझाव मात्र दिएनन् कि ठाडै भने, ‘तपाईंका पछि लाग्नेहरू जिउँदाका मलामी मात्रै हुन्। जिउँदो हुँदा सबै छन्, मर्दा-पर्दा कोही हुँदैनन्। पदमा हुँदा ज्यू-ज्यू गर्छन् पछि स्वार्थमा लिप्त हुन्छन्।’

प्रशासनिक वृत्तमा ‘कठोर र अनुशासन’ पर्यायका मानिने थापाको ५४ वर्षअघि नै निधन भएको थियो। पुराना कर्मचारीहरू पछिसम्म उनका किंवदन्ती सुनाउँथे। तर उनकाबारे लिखित दस्तावेज पढ्न पाएको थिइनँ। डेढ वर्षअघि उनकाबारे उनकै समकालीन राजनीतिज्ञदेखि प्रशासकहरूको स्मरण र चन्द्रबहादुर स्वयंका लेखहरू प्नि सामेल गरी पुस्तक सार्वजनिक भएको रहेछ। तर, त्यो किताब मेरो जानकारीमा आएन। पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रविराज थापाले ‘लकडाउन’कै बेला सामाजिक सञ्जालमा उनको पुस्तक पोस्ट गरेपछि पढ्ने रहर जगायो। पुस्तक खोजियो। त्यो पुस्तकमा उनलाई देख्ने र झेल्नेहरूको दुवैका रोचक अनुभव सामेल छ। जसमा उनै सूर्यबहादुर थापाको स्मरण पनि सामेल छ। सूर्यबहादुर थापाको प्रकाशोन्मुख पुस्तकमा ‘चन्द्रबहादुर’का प्रसंगले राम्रै ठाउँ पाएको छ।

उनकै कारण त्यो कालखण्डमा ‘जिउँदाका मलामी’ खुब चर्चित शब्दावली बन्यो। मुख्यसचिव हुँदा होस् या महालेखा परीक्षक हुँदा पनि उनी निवास न्यूरोडदेखि सिंहदरबार पैदल आउने-जाने गर्थे। त्यसक्रममा कसैले उनलाई पछ्याउन लाग्यो भने हप्काइहाल्थे, ‘ए, जिउँदाका मलामीहरू हो, मेरो अघि-पछि नलाग।’
हुन पनि हाम्रो मुलुकमा परापूर्वकालदेखि तीन ‘च’ अर्थात् चाकडी, चुक्ली र चाप्लुसी प्रवृत्ति व्याप्त रह्यो, जुनसुकै तन्त्रको शासन यन्त्र भए पनि। त्यो प्रवृत्ति बाक्लिँदो छ। योग्यता, क्षमता, नैतिकता शब्द त सिला खोज्नुपर्ने स्थिति छ। मुलुकमा शक्तिशाली पदाधिकारीहरूले ‘जिउँदा मलामी’को गूढ अर्थ बुझेको भए, तन्त्र बद्लिएसँगै ‘तीन-च’को अस्तित्व रहने थिएन। शासनको स्वरुप नै अर्काे भइसक्ने थियो। उनको पदचिन्हमा न चिन्नेहरू हिँडे, न सुन्नेहरूले नै अनुसरण गरे।

अझ शासन वृत्तमा अर्काे ‘च’ले पनि गर्दन जोडेको छ, ‘चाटुकार’। अनेकन् रुप-रंगमा सत्ताको वरिपरि भुनभुनाउने वर्ग बनेको छ। तिनले योग्य र इमानदार मानिसलाई शासकको नजिक पर्न दिँदैनन्। भ्रष्ट र बेइमान तत्वसँग सम्बन्ध बनाउँदै शासक र आफू दुवै लाभान्वित हुन्छन्। तिनै चाटुकारले मुलुकमा आगो दन्दनी बलिरहँदा शासकलाई शीतलहरको कथा सुनाउँछन्। तिनै चाटुकारका ‘चक्कर’मा शासकीय वृत्तका पात्रहरूले धारणा र मान्यता परिवर्तन गरी ‘निरो’मा परिणत हुन्छन्। मुलुकमा ‘चाटुकार’ राम्रैसँग झांगिदै गएका छन्।

त्यही पुस्तकमा ‘चाकडी’का सन्दर्भमा रोचक र ऐतिहासिक सन्दर्भ पढ्न पाइन्छ, पूर्व प्रशासक रामप्रसाद श्रेष्ठको स्मरणअन्तर्गत। आफ्नो एकदमै मन परेका शक्तिशाली माथेमा काजीकहाँ ‘चाकडी’ गर्नेको लस्कर देखेपछि राणा शासक जुद्ध शमशेर रिसले चूर भएछन्। श्रेष्ठका अनुसार, ‘रिसले चूर भएका जुद्ध शमशेरले जागीर खोसिदिएछन्। भोलिपल्ट त काजीको चाकडीमा मुसो पनि देखिएन। फेरि काजीको जागीर थामी दिएछन्। फेरि मानिसहरू त्यसरी चाकडीमा लाग्न थाले।’
त्यही दृश्य नियमित छ, पात्रहरू फरक हुन्। स्वार्थी, लोभी, भ्रष्ट र अनैतिक पात्रहरू मात्र चाकडीमा लाग्छन् भन्ने ‘गूढ रहस्य’ चन्द्रबहादुरले बुझे। त्यहीअनुरुप आप्mनो व्यवहार बनाए। उनले तिनै स्वार्थी तत्वबाट टाढा रहन ‘मुर्दाका मलामी’ शब्द ‘क्वाइन’ गरे।

समकालीन प्रशासक कृष्णबहादुर देउजाको कथनमा, ‘थापामा चाकरी र चाप्लुसीको गन्ध पनि देखिएन, सुनिएन र अनभुव पनि गरिएन। आफू मातहतका कर्मचारीहरूले काम बिर्गादा कराएको आवाज बाहिरसम्म सुनिन्थ्यो। राम्रो काम गर्ने मान्छेलाई प्रोत्साहित गर्नुहुन्थ्यो, खराब काम गर्नेलाई सजाय।’

शासन वृत्तमा पुगेका विरलै मात्र पात्रहरू ‘शंकालु प्रश्न’ बाहिर पर्छन्। धेरैजसो पात्रहरू त स्वार्थी, लोभी र भ्रष्ट मतिका कारण अनेकन् काण्ड-प्रकरणमा पर्छन्। कथंकदाचित प्रकरण-काण्ड बचे पनि समाजले चाहिँ सधैँभरि ‘प्रश्न’भित्रै राख्छ। पूर्व प्रशासक देउजाकै शब्दमा, ‘थापालाई ‘अनक्वोइसन्ड म्यान’ भन्न चाहन्छु।’

सिंहदरबारमा यतिखेर ‘चन्द्रघण्टी’ बज्दैन। यतिखेर त मन्त्रालय छिर्ने हो भने जो कोही पनि रनभुल्लमा पर्न सक्छ। किनभने, कर्मचारीहरू मन्त्रीलाई सजिलै भनिरहेका हुन्छन्, ‘अभिभावदन कमरेड’, ‘लालसलाम कमरेड’। कुनै बेला सिंहदरबारमा बाक्लै सुनिन्थ्यो, ‘जय नेपाल दाइ’। सरकारी कार्यालय हो कि पार्टी कार्यालय छुट्याउन कठिन हुन्छ।
०००
पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’मा चन्द्रबहादुर प्रसंगले राम्रो ठाउँ पाएको छ। राणाकालमा संघर्षरत थापाका सुरक्षाकर्मीद्वारा कोइराला पक्राउ परे। त्यसपछि ठाडो शैलीमा चन्द्रबहादुरले सोधे, ‘तिमी को हौ ?’ जवाफ मिल्यो, ‘म विश्वेश्वरप्रसाद कोइराला।’ चन्द्रबहादुरको ठाडो ठाडो टिप्पणी आयो, ‘चिन्हाउने मान्छे छन्, चिन्हौँला।’

यतिखेर सरकारी संयन्त्रमा न ‘चन्द्रघण्टी’ बज्छ, न माथिदेखि तलसम्म ‘चन्द्रबहादुर’हरू नै छन्।

प्रजातन्त्र पुनस्र्थापनापछि विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री भए। धेरैलाई लागेको थियो, त्यस्ता कठोर पात्रलाई ‘बदला’ लिनेछन्। उल्टो कोइरालाले कर्नेलबाट जर्नेलमा बढुवा गरे। राणाकालीन हस्ती त्यसरी पुरस्कृत भएकामा कोइरालाको सर्वत्र विरोध भयो। जवाफमा बीपीले भनेका थिए, ‘उहाँ राणा जस्तो निरंकुश नभएर एउटा इमानदार, कर्तव्यनिष्ठ व्यक्ति हो। त्यसकारण हामीलाई उहाँ जस्ता व्यक्तिको खाँचो हुन्छ।’

चन्द्रबहादुर स्वयं पनि त्यस्तो निर्णयबाट आश्चर्यमै परेका थिए। उनले उतिबेलै लेखेका थिए, ‘मैले राणा प्रशासन यन्त्रको भालाको तीखो टुप्पो बनेर काठमाडांै उपत्यकामा कांग्रेसी आन्दोलन दबाउन कोसिस गरेको थिएँ। कांग्रेसीहरू शक्तिमा आएपछि अवश्यमेव मलाई सियोले घोचेर मार्नेछन् भनी जनता भन्दथे। यसको उल्टो कांग्रेसी सरकारले मेरो कदर गर्‍यो।’
त्यतिमात्र होइन, राजा त्रिभुवनले पनि राणा प्रशासनमा जे-जति गर्‍यौ, तिम्रो दोष नभएको र कर्तव्य कर्म गर्‍यौ भनी धाप मारेका थिए। त्रिभुवनको भनाइ उद्धृत गर्दै थापाले लेखेका थिए, ‘तिमीले त्यसबेला पक्राउ गरी जेल नेल ठोकेका कांग्रेसी नेताहरू तिम्रो बफादारी र इमानदारीको सराहनी मसँग गर्छन्।’

यतिखेर इमानदार, नियम हिँडाउन खोज्ने, सरकारी नूनको सोझो गर्नेहरू कमै पुरस्कृत हुन्छन्। त्यहीकारण शासकीय संयन्त्रबाट योग्य, क्षमतावान, निःस्वार्थी शब्द हराएको छ। जहाँ थपिएको छ, ‘प्रधानमन्त्री, मन्त्री, त्यो नेता, त्यो  गुटसँग नजिकका मान्छे हुन्।’
०००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ‘वेबसाइट’मा उनी पहिलो मुख्यसचिव देखिन्छन्, थापा २०१२ असोज २८ देखि २०१६ असार १४ सम्म मुख्यसचिव रहे। मुख्यसचिवबाट बाहिरिएको भोलिपल्टै २०१६ असार १५ मा महालेखा परीक्षक भए, २०२२ असार १४ सम्म बहाल रहे। अर्थात्, कांग्रेस सरकारकै बखत उनलाई पहिलो महालेखा परीक्षक बन्ने अवसर मिल्यो।

मुख्यसचिव हुँदा ‘चन्द्रघण्टी’ बजाए भने महालेखा परीक्षक भएपछि सरकारी सम्पत्ति हिनामिना गर्नेहरूलाई तारोमा पारे। उनी महालेखा परीक्षक भएपछि अर्थ-प्रशासन त्रस्त बन्यो, उनको कारबाहीको डरबाट। उनी राष्ट्रिय धनको जथाभावी खर्च गर्ने प्रवृत्तिको घोर विरोधी थिए। यहाँसम्म सरकारी साइकल निजी काममा प्रयोग गर्ने कर्मचारीमाथि पनि प्रश्न उठाउँथे। उनी स्वयं पनि सरकारी कामकाजबाहेक सरकारी साधन प्रयोग गर्दैनथिए।

यतिखेर त सार्वजनिक पदाधिकारीहरू आफू मात्र होइन, श्रीमती, छोरा-बुहारीलाई सरकारी गाडीमै शयर गराउँछन्। सरकारी कोषकै डिजेल-पेट्रोल ‘दुरुपयोग’ गर्छन्। पदीय हैसियत दुरुपयोग गरी अथाह सम्पत्ति कमाउँछन्। लाजबेगर सिधै भन्छन्, ‘श्रीमतीको पेवा, दाइजो र ससुरालीबाट प्राप्त सम्पत्ति।’ शासकीय वृत्तका पदाधिकारीको सम्पत्ति विवरणमा हेर्नुभयो भने अकूत सम्पत्तिको स्रोत तिनैमा आधारित हुन्छ।

महालेखा परीक्षक हुँदा कहिले पैदल, कहिले रिक्सा र कहिले सार्वजनिक बसमा हुन्थे। कसैले सोध्यो भने जवाफ हुन्थ्यो, ‘बेकारमा किन सरकारी ढुकुटी रित्याउने ?’
महालेखा परीक्षकको पहिलो प्रतिवेदनको हस्ताक्षरकर्ता उनै हुन्। उनले प्रतिवेदन हिसाब-किताब भद्रगोलका अनेकन् दृष्टान्त प्रस्तुत गरेका थिए। राष्ट्रिय धनको खर्चमा बुद्धि नपुर्‍याएको र अराजक तथ्य तत्कालीन राजा महेन्द्रसामु प्रस्तुत गरेका थिए। उनी महालेखा परीक्षक प्रतिवेदमा उल्लेख छ, ‘अनियमिततामा स्पष्टीकरण माग्दा कसैले निचमारी बस्ने, कसैले अधकल्चो जवाफ पठाउने, उपयुक्त तहबाट लेखी आउन पर्छ भन्ने सुझाव अर्पित गर्दा कसै कसैले सो लेखी पठाउनु शोभनीय भएन। अनियमितता मौकामै पत्ता नलागी आवश्यक कारबाही नभई लाखौँ रुपैयाँ जिन्सी मालसामान (नगद सरहकै) हिफाजत साथ राखिएको छैन। लेखा परीक्षणका सिलसिलामा तत्सम्बन्ध कागजपत्र संविधान बमोजिम सेवकले हेर्न पाउनेमा अर्थ मन्त्रालयले हेर्न नदिन खिंचोला झिकेका थियो।’

महालेखा परीक्षकले शासकीय संयन्त्रको ‘भद्रगोल’ हिसाब लिपिबद्ध गरेपछि राजा महेन्द्र पनि चिन्तित हुन पुगेका थिए। मन्त्री-सचिवहरूसँग राजा महेन्द्र भन्थे, ‘हेर, भोलि महालेखा परीक्षकको प्रतिवेदन अध्ययन गर्नेहरूले त्यो पैसा त राजाले खाएछ भन्छन्, के गर्ने ?’ 

उता महालेखा परीक्षक थापा चाहिँ मुलुकको ढुकुटी यथार्थ बताउनु सेवकको दायित्व भएको मान्यता राख्थे। राजतन्त्र रहँदाका बखत संवैधानिक पदाधिकारीहरूले आफूलाई राजाको ‘सेवक’का रुपमा प्रस्तुत गर्थे। पुराना प्रतिवेदनमा महालेखा परीक्षकले ‘सेवक’ शब्द प्रयोग गरेको भेटिन्छ। 

राष्ट्रको ढुकुटी खोक्रो हुनुमा तिनै शासकीय वृत्तका पात्रहरूमा भ्रष्ट मनोवृत्ति हाबी हुनु हो। नियन्त्रणको साँचो बोकेकाहरू ‘छुचो’ हुन र ‘खतरा’ मोल्न चाहँदैनन्। अझ शासकीय वृत्तबाट हराएको शब्द बनेको छ, ‘अनुशासन’ र ‘निष्पक्षता’। सरकारी पदमा आसीन पात्रहरू रातारात नवधनाढ्य वर्गमा स्थापित हुन्छन्। छोरा-छोरी महँगा विद्यालयमा अध्ययन गर्छन्। तिनको तलब हेर्ने हो भने जो कोहीको पनि हात-मुख जोर्न धौ-धौ हुनुपर्ने हो। त्यसको अर्थ हो, सरकारी धनमा ‘लूट’ मच्चाउनु। यतिखेर सरकारी संयन्त्रमा न ‘चन्द्रघण्टी’ बज्छ, न माथिदेखि तलसम्म ‘चन्द्रबहादुर’हरू नै छन्।
@Haribthapa


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.