जातीय जन्जिर
अन्तर्जातीय प्रेमलाई गन्धर्व बिहेमा रूपान्तरण गर्दा छ जना युवाको कत्लेआम गरिएको रुकुम नरसंहारले समाजमा जरो गाडेर बसेको जातीय जालोलाई एकपटक फेरि छताछुल्ल पारिदिएको छ। विश्वजगत्मा नेपालको फैलँदो उपस्थिति र संसारको भौतिक प्रगतिको बढ्दो नेपाली मोह, अभ्यास, जीवनशैली, तौरतरिका र विश्वमापदण्डको मान्छे हुने रहरसँगै चुलिएको नेपालको समृद्धि यात्रामा एकपटक मिहिन ढंगले जातीय जाँतोको जरा केलाउनुपर्ने बहस निम्तिएको छ। यसलाई राज्य, दल, मिडिया, नागरिक समाज, धार्मिक समुदायले कसरी भरपुर सदुपयोग गर्छन्, त्यसकै जगमा अबको यात्रा अघि बढ्नेछ।
जातीय विभेदविरुद्ध छ दशकभन्दा लामो संगठित आन्दोलनपछि नेपालको संविधान २०७२ मा छुवाछूत तथा जातीय विभेद संवैधानिक रूपमै निर्मूल भएको दस्तावेज नेपालीले पाउनु कागजी रूपमा एउटा राम्रो फड्को भन्न कसैले अप्ठ्यारो मान्नुपर्दैन। अहिलेको गहन प्रश्न भनेको कागजी समानता, दस्तावेजी उन्मूलन र भाषणमा मात्रै सीमित मानव मान्यताले कसरी नवराज विश्वकर्माहरूको ज्यान बचाउन सकिँदैन रहेछ भन्ने नै हो। भेरीको नदी किनारमा पाशविक शैलीमा हत्या गरेर फालिदिएका मान्छेहरूलाई ‘अमान्छे’ सिद्ध गर्न राज्य संयन्त्र, जातिवादी सत्तादेखि जातीय अहंकारवादीहरू कसरी एकै ठाउँमा उभिएका छन् भन्न अब कसैको तर्क, वितर्क, ढाकछोप र रङरोगनले सम्भव नै छैन।
कागजी न्यायमै ढुक्क ?
कृष्णकुमार पासवान, मनवीर सुनार, अजित मिजार, लक्ष्मी परियार र शिवशंकर पासवानहरूसहित डेढ दर्जनभन्दा बढीको जातीय विभेद केन्द्रित हत्या सवाललाई कसरी सामसुम पारेर राज्य-तमासा देखाइयो भन्न एकपटक त्रिवि शिक्षण अस्पताल महाराजगन्जको मुर्दाघर पुगेपछि छर्लंग हुन्छ। अन्तर्जातीय बिहे परिवार, प्रशासन, समाज प्रहरीको मिलेमतोमा टुटाएपछि पनि काभ्रेका अजितलाई धादिङ लगेर योजनाबद्ध हत्या गराउँदा प्रहरी प्रशासन कसरी मिल्दो रहेछ भन्ने कुरा रुकुम सोती नरसंहारसम्म मिल्दो छ।
धादिङको जंगलमा झुन्डिएको अवस्थामा भेटिएका भन्दै प्रहरीले योजनाबद्ध लास गाडेको थियो। अधिकारकर्मीहरूको निरन्तर दबाब र खोजबिनपछि जब लास पोस्टमार्टम नगरी गाडिएको पाइयो, घटना कति योजनाबद्ध थियो भन्नै परेन। अधिकारकर्मीहरूको पहलपछि लासको पोस्टमार्टम गरियो, रिपोर्ट निर्मम कुटपिटपछि हत्या भएको आयो, झुन्डिएको अवस्थामा भेटिएको भनेर बचाउ गर्ने प्रहरी जसले पोस्टमार्टमसमेत नगरी पीडितको आँखामा छारो हाल्दै दमनमा उत्रियो, विडम्बना प्रहरी मुख्यालय तिनै कारबाही गर्नुपर्ने प्रहरी अधिकारीलाई फुली बाँड्दै पीडितको न्याय प्राप्तिको उत्कट आशामा नुनचुक छर्किंदै हिँड्दा पनि कानुन त छ नि भन्नमै एकमुख देखिएका छन्।
गाउँघरको के कुरा गर्नु, मैले काठमाडौँमा कहीँ पनि परियार क्याफे, विश्वकर्मा भोजनालय, गन्धर्व मोमो सेन्टर, मिजार रेस्टुराँ, पासवान बेकरी, परियार स्विट हाउसको बोर्ड देखेको छैन। आचार्य नास्ता पसलदेखि घिमिरे भोजनालय, कार्की किचनदेखि बस्नेत चमेना, न्यौपाने खाजा घरदेखि भण्डारी चियासम्मको सबै स्वाद लिएको छु।
अहिले रुकुम सोती नरसंहारमा राज्य सत्ता, अहंकारी जातिवादी सत्ता, समाज सत्ता घटनालाई तोडमोड गर्न, घटनाको मूल कारणभन्दा सहायक कारणलाई प्रचारबाजी गरेर भवितव्यजस्तो बनाउन जेठ १० गतेबाटै लागेको छ। गृह प्रशासनको यतिविधि लापरबाही, दुरुपयोग र अति राजनीतीकरणको मतियारपनालाई विश्वले, मानव अधिकार समुदायले नियालिरहेको नै छ, जसरी मानवतावादी, मानव मर्यादा र सामाजिक न्याय अभियन्ताहरूले घटनालाई गहिरो चासोका साथ न्यायको शुभेच्छा गरिरहेको छ, ऐक्यबद्धता जनाइरहेको छ।
राज्य सत्ताको आडमा कोही कसैलाई जोगाउन जस्तोसुकै प्रपञ्च रचे पनि मानवताविरोधी रुकुम सोती नरसंहारका पीडितहरूले न्याय पाउनैपर्छ भन्ने बहस सदन, सडक, मिडिया, सामाजिक सञ्जाल सबैमा चलाउनैपर्छ। न्याय मारेर, पीडकलाई उन्मुक्ति दिएर, सत्ता स्वादमा मात्रै मैमत्त बनेर मुलुकले फड्को मार्दैन भन्ने चेत यस्ता घटनामा पनि नखुले, नेपालको उज्यालो यात्रा ठोकुवाका साथ भन्न सकिन्छ, सम्भव छैन। दुःखद नरसंहारलाई न्यायको कसीमा पार लगाएर अघि बढ्नुभन्दा श्रेयकर के हुनसक्छ, आत्मालोचित हुँदै मूलबाटो कोरौँ।
हत्यापछि मात्रै बहस चल्छ ?
जात व्यवस्थाको कारण भोग्नुपरेको विभेद, थिचोमिचो र अमान्छे जीवनबारे इतिहास, विगत र आजको धरातलीय समस्याबारे एउटा निर्मम समीक्षा गरेर अघि बढ्नैपर्ने सन्दर्भमा केही हेर्दा, सुन्दा, देख्दा सामान्य लाग्ने कुरा बिस्तारै बहसमा ल्याउन अत्यावश्यक छ, आउने नै छ भन्दाभन्दै दशकौँ बितिसक्यो। कारण राज्यको अनुदार अभ्यास, अरुचि सम्बोधन, गोलमटोल शैली, टिपटापे पारा, गिजोल्ने नियतका कारण खाली मन्दिर प्रवेशमा समस्या, धारामा पानी भर्दा छुवाछूत भयो, चिया खाँदा गिलास माझ्न लगाइयोजस्ता पीडकलाई सामान्यजस्तो लाग्ने सवाल जब कुटपिट, गाउँ निकाला, हत्या हुँदै नरसंहारमा पुग्छ फेरि बहस सुरु हुन्छ, दलित शब्द प्रयोग, जात, थर गोत्र बहसदेखि आरक्षण नै मुख्य बाधक हो भन्नेसम्मका आफ्नै ढोल पिटाउने तर्क।
मानवता, मानवीय मूल्य, मानव मर्यादालाई हार्दिक र सरल स्वीकार्यताको अभ्यासमा मजाले चुकेका हामी कानुनी व्यवस्थालाई समेत उल्लंघन गर्दै विभेद गर्न एक कदम अघि छौँ भन्न औपचारिक दर्ज भएका विभेदजन्य अपराधको वार्षिक चाङ फुकाउन सरोकारवाला निकाय जहिले नै अनुदार देखिएको छ। के हत्या, नरसंहार नहुन्जेल यो विभेदलाई समाधान गर्न निरन्तर बहस, निर्मम समीक्षा, राजकीय अठोट र राष्ट्रिय कार्यक्रमबारे किन खुलेर बहस नगर्ने ?
किन नबढाउने हार्दिक स्वीकार्यता ?
मलाइ कहिलेकाहीँ कतिपयलाई सामान्यजस्तो लाग्ने तर जातीय जालोको मूलजरासँग जोडेर हेर्दा भयंकर ठूलो अर्थ लाग्ने र सोच्नुपर्ने सवाल बहसमा नआएजस्तो लाग्छ। पश्चिम नेपालमै प्रसिद्ध मानिने पाल्पाको भैरव मन्दिरमा रोटी चढाउने चलन छ। स्थानीय भाषामा रोट भनिने रोटी सामान्य घरमा पकाउनेभन्दा निकै ठूलो हुने गर्छ। गत साल भैरवस्थान मन्दिर पुग्नुभन्दा अलिअघि नै पोखरेल रोट घर, कार्की रोट घर, घिमिरे रोट, पौडेल रोटजस्ता दर्जनौँ पसल देख्दा त्यहाँ किन परियार रोट घर राख्न सकिएन, विश्वकर्मा रोट घर खोल्न किन कसैले सकेनजस्ता कुराहरू जब मैले पाल्पाली अगुवा विनोद पहाडीसँग राखेँ। उनको सरल र अर्थपूर्ण जवाफ थियो, ‘दलित समुदायले यो मन्दिरमा आज जसरी पूजा गरिरहेका छन् त्यसका लागि धेरै पुस्ताले लामो संघर्ष गर्नुपरेको बिर्सनै हुन्न।’
पाल्पा घटना चेतपछि जब म पार्टी र मेरो व्यावसायिक कामका सिलसिलामा काठमाडौँदेखि मुलुकका जुनजुन सहर पुग्छु, मेरो ध्यान खाजा घर, चमेना, क्याफे र भोजनालयको बोर्डमा पुगिहाल्छ। गाउँघरको के कुरा गर्नु, मैले काठमाडौँमा कहीँ पनि परियार क्याफे, विश्वकर्मा भोजनालय, गन्धर्व मोमो सेन्टर, मिजार रेस्टुराँ, पासवान बेकरी, परियार स्विट हाउसको बोर्ड देखेको छैन। आचार्य नास्ता पसलदेखि घिमिरे भोजनालय, कार्की किचनदेखि बस्नेत चमेना, न्यौपाने खाजा घरदेखि भण्डारी चियासम्मको सबै स्वाद लिएको छु। किन कल्पना पनि गर्न सकिएन परियार फुड ल्यान्ड, विश्वकर्मा झोल मोमो, पासवान चाट सेन्टर, मिजार नान घर। कोही कसैले भनिहाल्ला खोल्न कसले रोकेको छ। हो, कसैले रोकेको छैन, खोलौँ सन्देश दिन, हात फैलाऊ न सरकारी अग्रसरताको, साथ सहयोग जरुर छ, विभेद पनि खेप्ने घाटा पनि खाने काम मेरो देशका लागि।
पाँच सालअघि कर्णाली यात्रा गर्दा सुर्खेतको सापकोटा फ्रेस हाउसले मलाई एउटा गम्भीर प्रश्न जगाएको थियो। मेरो पुस्ताले थाहा पाएसम्म ब्राह्मण जातिकाहरूले कुखुरा छुनु पनि हुँदैनथ्यो, जात घटाउनेदेखि जात काढ्नेसम्मका घटुवा विधिबाट गुज्रिएको उपाध्याय ब्राह्मणले जब कुखुरा काटेर नै पेसा अपनाउन सक्नु निकै ठूलो परिवर्तन हो। मनु मान्यताअनुसार त अपराध नै थियो, अहिले कुखुराको मासु राष्ट्रिय तरकारीका रूपमा चलिसकेको छ। विडम्बना, मैले आजसम्म परियार फ्रेस हाउस, विश्वकर्मा मिट सप र मिजार मटन सेन्टर देखेको छैन। जात छँदै छ, आँट चाहियो साथ चाहियो, राज्यको सोच चाहियो, सन्देश त दिनैपर्छ।
एकपटक फर्किएर हेरौँ त वर्णाश्रम व्यवस्था, मनु विचार र जातीय श्रेष्ठतासँगै कानुनी रूपमै अभ्यासमा आएको विधिबाट फैलिएको जात व्यवस्थाको जालो कसरी जाँतोमा परिणत हुँदै हजारौँ वर्षसम्म जरा गाडेर बसेछ। कुखुरा खान त के छुन पनि नहुने एउटा जाति उपाध्याय फ्रेस हाउस चलाउनसक्छ तर अर्को एउटा जाति जो जन्मजात कुखुरा खाने जातिको परिचय बनाएको थियो, ऊ विश्वकर्मा फ्रेस हाउस चलाउन आजको समयसम्म पनि सक्दैन। वर्णाश्रमकै जगमा भोजनालय वैश्यले चलाउने हो भन्ने सोच चिर्दै ओली चमेना गृह चलाउँदा सबैले स्वीकारेझैँ मिजार भोजनालय चलाउने वातावरण नबनाउँदासम्म अन्तर्जातीय मागी बिहे सरल नबन्दासम्म समाजमा निम्न जाति र उच्च जातिको खाडल रही नै रहन्छ। यस्तो अवस्थामा समृद्धि यात्रा कसरी मूल राजमार्गबाट अघि बढ्नसक्ला।
राजनीति, शासन, प्रशासन, सेना प्रहरी, उद्योग व्यवसाय, अदालत, मिडियाजस्ता मुख्य क्षेत्रमा राम्रो पकड भएका ब्राह्मण, छेत्री समुदायले एक कदम अघि बढेर विभेदविरुद्ध खुलेर नबोलेसम्म, विभेदको अन्त्यको नेतृत्व नगरेसम्म, सहज स्वीकार्यतालाई आत्मसात् नगरेसम्म, सुधारको अगुवाइ नगरेसम्म, विभेदको अनुभूति नगरेसम्म, विभेद उन्मूलनको हरेक पाटोबारे संवेदनशील रूपमा नसोचेसम्म, विभेद समृद्धिको प्रमुख बाधक हो यसलाई चिर्न सकिन्छ भन्ने महसुस नगरेसम्म एकलकाँटे समृद्धिको रटानले भावी नेपालको गोरेटो यात्रा त घिसिपिटी चल्छ नै राष्ट्रिय समृद्धिको राजमार्गमा प्रवेश गर्न गाह्रो छ।
त्यसैले ६० लाख दलित समुदायलाई मूलधारबाट आइसोलेसनमा राखेर, डेढ करोड महिलाको समस्या पारिवारिक मात्रै बुझेर, मधेसीको समस्या, जनजातिको समस्या, अल्पसंख्यकको समस्या, अपांगता भएकाहरूको समस्या, कर्णालीको समस्या, ज्येष्ठ नागरिकको समस्या, गरिब विपन्न र निम्न आय भएकाहरूको समस्या सबै उनीहरूको समस्या मात्रै हो भनेर हेर्ने आँखाले, सोच र नीतिले समतामूलक सवृद्धिको यात्रा सम्भव छैन, सवृद्धिको सगरमाथा सपना त फगत दिवास्वप्न मात्र हुनेछ।
@PrakashCPariyar