प्रदेश २ सरकारले थप चार पीसीआर मेसिन किन्दै
जनकपुरधाम : कोरोना (कोभिड-१९) महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले थप चार पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी नेतृत्वको कोरोना नियन्त्रण व्यवस्थापन निर्देशक समितिले प्रदेशमा थप चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेपछि मेसिन खरिदको प्रक्रिया अगाडि बढाइएको हो ।
निर्देशक समितिको सम्पन्न बैठकबाट पीसीआर हाल मेसिन सञ्चालनमा रहेको जनकपुरधाम, विरगंज र राजविराजको ल्याबमा थप एक÷एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो । समितिले परीक्षण तथा उपचारका लागि थप आवश्यक जनशक्ति व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ ।
यसैगरि समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम र परीक्षणमा प्रयोग हुने रिएजेन्ट समेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशक समितिले तेश्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र काठमाण्र्डौ देखी तोकिएको क्वारेन्टाइनसम्म जाँदाको खाना, खाजा यातायात सबै खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ । लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्य आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !