डोटीका पहिलो कोरोना संक्रमित परीक्षणबिना डिस्चार्ज
डोटी : डोटी जिल्लाका पहिलो कोरोना संक्रमित २५ वर्षीय पुरुष परीक्षणबिना बिहीबार डिस्चार्ज भएका छन् । शिखर नगरपालिका-३ पुरुष डोटीको पहिलो कोरोना संक्रमित व्यक्ति हुन् । जिल्ला अस्पताल डोटीको आइसोलेसनमा १४ दिनदेखि उपचारत थिए ।
सुरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि विगत १४ दिनदेखि कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्यले जानकारी दिएको छ । भारतबाट गत जेठ १२ गते उनको परिवार घर फर्केर शिखर नगरपालिका-३ आलीमा रहेको क्वारेन्टाइनमा बसेका थिए । जेठ १६ गते उनको बच्चालाई केही सन्चो नभएपछि सोही दिन आमा, बुवा र बच्चालाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।
थ्रोट स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सँगै आएका छोरा र श्रीमतीको नतिजा भने नेगेटिभ देखाएको थियो । छोरा र श्रीमतीमा दोस्रो पटक पनि परीक्षण गर्दा नेगेटिभ आएपछि उनीहरुलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ । तर उनको भने दोस्रो पटक पीसीआर परीक्षण नगरिकन घर पठाइएको हो । आइसोलेसनमा बसेको १४ दिन पुरा भएकाले र कुनै लक्षण नदेखिएकोले 'आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका' अनुसार डिस्चार्ज गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका कोभिड-१९ सम्पर्क व्यक्ति उत्तम उपाध्यायले भने, '१४ दिनसम्म राख्दा समेत उनको कुनै लक्षण नदेखिए पछि निर्देशिकामा भएको व्यवस्था बमोजिम डिस्चार्ज गरेका छौं ।' डोटीमा अझै पाँचजना कोरोना संक्रमित आइसोलेसनमा छन् । जममध्ये पूर्वीचौकी गाउँपालिका-७ का २५ र २३ वर्षीय संक्रमित जिल्ला अस्पतालको आइसोलेसनमा रहेका छन् भने सोही गाउँपालिका वडा नम्बर ४ का २२ र २७ वर्षीय दुई जना पुरुष तथा ४५ वर्षीय एकजना महिला गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिएको छ । उता डोटी स्थायी घर भएका चारजना कोरोना संक्रमित कैलाली जिल्लामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !