रामेछापका थप दुई जनामा कोरोना भाइरस पुष्टि
काठमाडौं : रामेछापमा थप २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा आइतबार २ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले लिखु तामाकोसी गाउँपालिका-३ का २९ वर्षीय पुरुष र मन्थली नगरपालिका-४ का १९ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको बताए। उनकाअनुसार दुबै जना भारतबाट आएर पालिकाले बनाएको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।
यस अगाडि भारतका विभिन्न स्थान र नवलपरासी, रौतहट जिल्लाबाट आएर गोकुलगंगा र लिखुतामाकोसी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वाब संकलन गरी धुलिखेल अस्पतालमा परीक्षण गर्दा १७ जनाको पोजिटिभ आएको थियो।
गोकुलगंगा गाउँपालिका २२,२२,२३,२४,२६,२६,२७,२८ र ३८ वर्षका ९ जना पुरुष र लिखुतामाकोशी गाउँपालिकाको क्वारेन्टइनमा रहेका १७,२१,२१,२४, २५ र २६ वर्षका ६ जना पुरुष गरी जम्मा १५ जना व्यक्तिहरुलाई जेठ २३ गते रातिदेखि जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। त्यसैगरी जेठ २५ गतेबाट गोकुलगंगा -४ का २६ वर्षिय पुरुष र गोकुलगंगा-४ कै ४९ पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ।
लिखुतामाकोसी गाउँपालिका -७ का २६ वर्षीय पुरुषलाई बिहीबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा. आनन्द प्रसाद आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए।
उनकाअनुसार रामेछापका १७ जनामध्ये तिल्पुङका २६ वर्षीय पुरुषलाई आएकै दिनदेखि ज्वरो आएको र उपचार गर्दासमेत ज्वरो कम हुन नसकेपछि पाटन अस्पतालमा पठाइएको हो।
प्रतिक्रिया दिनुहोस !