लकडाउनपछिको फिल्म उद्योग : फेरिँदै सुटिङको मोडालिटी

लकडाउनपछिको फिल्म उद्योग : फेरिँदै सुटिङको मोडालिटी

काठमाडौं : कोरोना संक्रमणका कारण विश्वकै मनोरञ्जन उद्योग ठप्प छ। फिल्म, टीभी सिरियल तथा गीतसंगीतका भिडियो सुटिङ हुन सकेका छैनन्। फिल्म हल बन्द छन्। लकडाउन केही खुकुलो बनाइँदै लगे पनि अहिलेको अवस्था हेर्दा तत्काल मनोरञ्जन उद्योग पूर्ववत् अवस्थामा फर्कने देखिँदैन। फिल्मको सुटिङ सुरु हुने अवस्था पनि सिर्जना हुन सकेको छैन। सुटिङ सुरु भइहाले पनि अब हुने सुटिङको माहोल पहिलेको जस्तो हुने छैन। किनकि समूहमा काम गर्नुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका कारण सुटिङको माहोल नितान्त फरक हुनेछ। पहिले जसरी सुटिङ हुन्थ्यो अब त्यसरी हुने छैन। सेटको वातावरण नै फरक हुनेछ।

कहाँबाट काम सुरु गर्ने, अबको सुटिङको माहोल र मोडालिटी कस्तो हुन्छ ? बजेटको व्यवस्थापन र फिल्म रिलिजको वातावरण कसरी सिर्जना गर्ने भन्नेतर्फ बहस गर्नुपर्ने बेला हो अहिले। तर फिल्म उद्योगको वातावरण सहज बनाउन परामर्श गर्नुपर्ने बेलामा फिल्मसँग सम्बन्धित संघसंस्था भने राहत र क्षतिपूर्तिको अपेक्षा मै समय कटाइरहेका छन्। काममा सहज रूपमा फर्कने वातावरण बनाउन र त्यसको मोडालिटी बनाउन लाग्नुपर्ने धारणा राख्छन् कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का।

‘सधैं यसरी घरभित्र मात्रै बसेर समस्याको समाधान हुँदैन। सावधानी अपनाएर कसरी पूर्ववत् रूपमा काममा फर्कन सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ’, उनले भने। यो तीन महिनाको अवधिमा फिल्म उद्योगको करोडौं नोक्सान भएको छ। यसको भर्ताल तत्काल सम्भव छैन तर काममा नफर्की पनि नहुने तर्क गर्छन् चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय। ‘यही अवस्था रह्यो भने फिल्म हलको चाबी सरकारलाई बुझाउनुपर्ने अवस्था आउँछ’, उदयले भने।

विश्वको दोस्रो ठूलो मानिएको बलिउडले भने सुटिङ सुरु गर्ने मोडालिटी तय गरेको छ। उसले सरकारसँग सुटिङ गर्न अनुमति पनि लिइसकेको छ तर हाम्रो उद्योगले भने त्यसको पहल गरेको छैन। भर्खरै नियुक्त भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहल र निर्माता निर्देशक अशोक शर्माले हालै उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेटेर आफ्ना समस्या राखेका छन्। यही भेटलाई आधार मनेर बोर्डले केही कार्यक्रम ल्याउने बताउँछन् अध्यक्ष दाहाल। ‘केही नयाँ कार्यक्रम ल्याउने तयारीमा छु। तर अवस्था सहज नभएकाले केही समय लाग्छ’, उनले भने।

सुटिङ सुरु भइहाले पनि अब हुने सुटिङको माहोल पहिलेको जस्तो हुने छैन। किनकि समूहमा काम गर्नुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका कारण सुटिङको माहोल नितान्त फरक हुनेछ।

रोमान्टिक सिन कसरी खिच्ने, अनि कोरससहितको गीत राख्न सम्भव होला कि नहोलाजस्ता यावत् प्रश्नका कारण अब बन्ने फिल्मको स्क्रिप्ट नै फरक बनाउनुपर्ने बताउँछन् निर्देशक नरेश पौडेल।

बलिउड फिल्म उद्योगले भने सिने एन्ड टीभी आर्टिस्ट्स एसोसिएसन र फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (गिल्ड) सँग मिलेर फिल्म छायांकनका लागि केही नयाँ अवधारणा अघि सारेको छ। भारतीय सरकारले पनि फिल्म गाइड लाइन तयार गरेर सुटिङको अनुमति दिएको छ। सुटिङ स्पटमा आउँदा कलाकारले घरबाटै मेकअप गरेर आउनुपर्ने, कलाकारले आफूसँग सकेसम्म थोरै स्टाफ तथा सहयोगी ल्याउनुपर्र्ने, सुटिङ सेटमा सुरक्षाका लागि डाक्टर तथा नर्स अनिवार्य राख्नुपर्ने, सुटिङ पूरा क्षेत्र सेनेटाइज गर्नुपर्ने, सुटिङ युनिटका सबै सदस्यको तापक्रम जाँच हुनुपर्नेलगायतका मापदण्ड तय गरिएका छन्।

सुटिङ अवधिमा मास्क उपलब्ध गराउनुपर्ने, ६० वर्षभन्दा बढी उमेरका कलाकार तथा प्राविधिक छन् भने तीन महिनासम्म सुटिङका लागि नबोलाउने, सबैको बिमा अनिवार्य गराउनुपर्ने लगायतका नियम लगाउन लागिएको छ। कलिउडमा भने कलाकर्मीको बिमासमेत नभएकाले तत्काल उनीहरू सुटिङ सेटमा आइहाल्छन् भन्ने छैन।

फिल्मी संगठनहरूले सुटिङ सुरु गर्ने इजाजत मागेपछि महाराष्ट्र सरकारले बलिउडका निर्मातालाई काम सुरु गर्न केही मापदण्ड तोकेर अनुमति दिएको हो। महाराष्ट्र सरकारले सामाजिक दूरी कायम गर्दै फिल्म र टीभीको सुटिङ गर्न इजाजत दिएको छ। यसका साथै सम्बन्धित क्षेत्रका जिल्ला अधिकारीको अनुमति लिएर सुटिङमा जानु पर्ने बताइएको छ। फिल्म सिटीमा सुटिङ गर्न जिल्ला कलेक्टरसँग अनुमति लिनुपर्छ। काममा आउने सबैको मेडिकल टेस्ट गर्नु आवश्यक छ।

सुटिङमा फर्कन आतुर बलिउडका कलाकारले आफ्नो पारि श्रमिक घटाएर निर्मातालाई सघाउने घोषणा गरेका छन्। हामीकहाँ पनि केही नायक नायिकाले अनावश्यक पारि श्रमिक डिमान्ड गरेर निर्माता सताएको गुनासो बेलाबेलामा उठ्ने गरेको छ। लकडाउनपछि अब बन्ने फिल्मका लागि कलाकारले पारि श्रमिक घटाउनुपर्ने माग पनि निर्माताले गर्न थालेका छन्।

बलिउड माधुरी दीक्षितले भनिन्, ‘हामीले निर्मातालाई सपोर्ट गर्ने बेला भएको छ। हामी सबै ठिक तरिकाले काम सुरु होस् भन्ने चाहन्छौं। त्यसैले हामीले आफ्नो पारि श्रमिक घटाउनु जरुरी छ। उद्योग सामान्य रूपले चलोस् भन्ने सोच्ने हो भने हामीले पनि प्रयास गर्नु जरुरी छ। यसका लागि म निर्माताको पक्षमा उभिन तयार छु।’

बलिउड अभिनेता कार्तिक आर्यनले पनि पारि श्रमिक घटाउने इच्छा व्यक्त गरेका छन्। अभिनेत्री तापसी पन्नुले भनिन्, ‘अहिले कुनै सुटिङ भइरहेको छैन त्यसैले तलब पनि पाइएको छैन। काम सुरु भएपछि पारि श्रमिक घटाउनु पर्‍यो भने पनि म तयार छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.