तनहुँमा थप १७ जनामा कोरोना संक्रमण, घिरिङका संक्रमितलाई जीपीमा राखिने
दमौली : एकै तहका १७ जनामा एकै दिन कोरोना पोजिटिभ देखिएपछि घिरिङका संक्रमितलाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा राखिने भएको छ । यसअघि बिहीबार संक्रमण देखिएका १५ जनालाई केन्द्रमा क्षमता विस्तार गरिने भन्दै दमौली अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
तर दमौलीको आइसोलेसनले नथेग्ने भएपछि घिरिङका सबैलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा राख्न लागिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । 'सबैलाई जीपीमा राख्ने गरी तयारी गर्न निर्देशन दिएका छौं,उनीहरुलाई लिन तीन एम्बुलेन्स पठाइएको उनले जानकारी दिए ।संख्या बढ्दै जान थालेपछि केन्द्रको आइसोलेसनलाई ८० शैयाको बनाउने तयारी गरिएको पनि उनले बताए ।
केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले छुट्टै शौचालयको अभाव भएकाले सामुहिक प्रयोग गर्ने गरी व्यवस्थापन गरिने बताए । हाल जीपीको क्वारेन्टाइनमा १० संक्रमित छन्।