आमालाई कोरोना नेगेटिभ, दुधे बालकलाई पोजिटिभ
दमौली : ऋषिङ गाउँपालिकामा एक वर्षका शिशुमा कोरोना पोजिटिभ देखिएको छ। आमासँगै १८ दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा रहेका ती बालकमा पोजिटिभ देखिए पनि आमालाई गरिएको परीक्षणको नतिजा भने नेगेटिभ आएको छ।
हाल आमासँगै क्वारेन्टाइनमा रहेका ती बालकलाई आमाले नै खुवाउने काम गरिरहेकी छन्। उनका काकामा पनि कोरोना पोजिटिभ नै देखिएको थियो। ‘छोरालाई पोजिटिभ देखिएकाले आमा उनीसँगै छन्’ गाउँपालिकाका योजना शाखा प्रमुख दानबहादुर श्रेष्ठले भने,‘दुधे बालक भएकाले सँगै आइसोलेसनमा लैजाने तयारी गरेका छौं।’ उनीहरुको एक साताअघि मात्र कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। गाउँपालिकाका संक्रमितलाई गाउँमै आइसोलेसन बनाएर राख्ने कि के गर्ने भन्ने विषयमा अन्यौल रहेकाले हाल ती बालक आमासँग हाल क्वारेन्टाइनमा रहेकै विद्यालयमा छन्। ‘कता पठाउने भन्ने निर्णय आए पछि उनलाई आमासँगै पठाउँछौं,’ श्रेष्ठले भने,‘अहिले क्वारेन्टिन भएकै ठाउँमा आमाकै काखमा छन्।’