तनहुँमा आइसोलेसनको क्षमताभन्दा बढी संक्रमित

तनहुँमा आइसोलेसनको क्षमताभन्दा बढी संक्रमित

दमौली : पछिल्ला दुई दिनमा लगातार संक्रमितको संख्या बढेर तोकिएका आइसोलेसनले नथेग्ने अवस्था आएपछि तनहुँमा स्थानीय तहमै उपयुक्त ठाउँलाई आइसोलेसनका रुपमा प्रयो गरिने भएको छ । 

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा अहिले १० जना छन् । २० जना क्षमता रहेको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा हाल १० जना छन् । दमौलीमा रहेको दमौली अस्पतालको आइसोलेसनमा आठ जना क्षमता भए पनि १५ जना बसिरहेका छन् । यस्तोमा घिरिङ गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २१ अनि व्यास र शुक्लागण्डकी नगरपालिकामा दुई-दुई जनामा पोजिटिभ देखिएपछि उनीहरुलाई राख्नकै लागि तत्काल स्थान अभाव देखिएको छ । 

यसअघि घिरिङका १७ जनालाई जीपीको आइसोलेसनमा राख्ने भनिए पनि फेरि ऋषिङमा पनि ठूलो संख्याका संक्रमित देखिएपछि उनीहरुकै लागि राख्ने ठाउँ अभाव देखिन लागेकाले झनै थपिने अवस्था कठिनाइपूर्ण हुने प्रशासनको अनुमान छ । यसै आधारमा अब देखिने संक्रमितलाई आफ्नै तहमा आइसोलेसन बनाएर राख्नका लागि कोभिड कमाण्डले सुझाव दिएको छ । ऋषिङ र घिरिङमा धेरै संक्रमित देखिंदा र पानी परिरहँदा आइसोलेसनमा ल्याउनै कठिन हुने भएकाले यस्तो विकल्प अघि सार्न लागिएको हो । 

शुक्रबार प्रशासनले घिरिङका संक्रमित लिन पठाएको मिनीबस बाटो खराब रहेको भन्दै बीचबाटै फर्केको थियो । यातायातको सहजता र ठाउँ अभाव दुवैका आधारमा तहगत रुपमै व्यवस्थापनको तयारी प्रशासनले गर्न लागेको हो । ‘संख्या बढिरहँदा र भएको पूर्वाधार कम भएकाले स्थानीय तहका उपयुक्त ठाउँलाई नयाँ आइसोलेसन बनाउन लागेका हौं,’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले अन्नपूर्णसँग भने,‘अब ऋषिङ र घिरिङका संक्रमितलाई त्यहीं आइसोलेसन तयार पार्छौं ।’ तर घिरिङ १का वडाध्यक्ष गंगा कुमालले भने आइसोलेसन बनाउने हो भने मापदण्ड पूरा गरेर मात्र गर्नुपर्ने माग गरे । ‘मापदण्ड पूरा नगरी गर्दा थप जोखिम आउन सक्छ,’ उनले भने ।

जीपीमा ८० क्षमताको आइसोलेसन बनाइने, व्यासले पनि आइसोलेसन भवन  थप्दै

दुई साताअघि संकलित नमूनाको नतिजामा धमाधम पोजिटिभ आउन थालेपछि तनहुँमा शनिबारसम्म पोजिटिभ देखिनेको संख्या ६८ पुगेको छ । तीमध्ये दुई मात्र निको भएर घर फर्किएका छन् । नतिजा आउन बाँकी संख्या झण्डै पाँच सय रहेको अवस्थामा आइसोलेसनको क्षमता बढाउनुपर्ने मुख्य चुनौती स्थानीय तहसँग छ । 

यसै आधारमा जीपी कोईरालाको आइसोलेसनलाई ८० जना अट्ने बनाउन लागिएको छ । तर त्यसका लागि केही दिन लाग्न सक्छ । ‘ठाउँ हाम्रा लागि छ तर ठूलो संख्यामा थप्नका लागि तयारी गर्न कम्तिमा साता दिन लाग्छ,’ केन्द्रका प्रमुख डाक्टर रामकुमार श्रेष्ठले भने । उनले तत्काल करिब २० जना अटाउन सकिए पनि अरुका लागि थप्न समय लाग्ने बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीले नजिकैको वृद्धाश्रमका वृद्धवृद्धालाई अन्यत्र सारेर आइसोलेसनको क्षमता थप्ने तयारी गरिएको बताए । ‘अस्पतपालका खाली ठाउँ र वृद्धाश्रम उपयोग गरेर आइसोलेसनको क्षमता बढाउँछौं,’ उनले भने । 

ऋषिङ गाउँपालिकाले पनि शिव सरस्वती माविलाई आइसोलेसनका रुपमा विकास गर्ने योजना बनाएको छ । प्रशासनले ऋषिङका लागि दमौली र घिरिङका लागि भीमादबाट चिकित्सक पठाउने बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.