मेलम्ची ‘३ प्रतिशत बाँकी’

मेलम्ची ‘३ प्रतिशत बाँकी’

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको ९७ प्रतिशत काम सकिएको छ। मेलम्ची खानेपानी विकास समितिले बुधबार संसद्को विकास तथा प्रविधि समितिमा अब तीन प्रतिशत काम बाँकी रहेको बताएको हो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले आयोजनाको काम अन्तिम चरणमा रहेको दाबी गरेका हुन्। उनका अनुसार आयोजना अन्तर्गत सुरुङको काम ९९ प्रतिशत, हेडवक्र्सको काम ६५ प्रतिशत, डीआइ पाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम सय प्रतिशत, सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत र पानी प्रशोधन केन्द्रको काम सय प्रतिशत सकिएको छ।

पानी पथान्तरण सुरुङ निर्माण कार्यअन्तर्गत रक वेज जडान तथा ग्राउन्डिङ, इन्भर्ट कंक्रिट लाइन, हाइड्रो मेकानिकल गेट जडानको काम सकिएको र सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको पाइप जडान कार्य १० मिटर बाँकी रहेको आयोजनाले समितिलाई बताएको छ। त्यस्तै, हेडवक्र्स अन्तर्गत कोफर ड्याम, डीआई पाइप लाइन निर्माण, हाइड्रो मेकानिकल गेट जडानको काम सकिएको आयोजनाले बताएको हो।

समितिमा खानेपानीमन्त्री बिना मगरले यही महिना मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताइन्। अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उनले दाबी छ। ‘असार मसान्तमा टेस्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रक्रिया अगाडी बढ्छ’, उनले भनिन्, ‘हामीले पहिले नै यसबारे प्रतिबद्धता जनाइसकेका छौं। सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ।’

समिति सदस्य सांसदले मेलम्ची आयोजना समयमै नसकेको भन्दै मन्त्री मगरप्रति आक्रोश व्यक्त गरेका थिए। सांसद गणेश पहाडीले काठमाडौंका जनतालाई आफूले केही जवाफ दिन नसकेको बताए। ‘मेलम्चीको पानी घरघरमा कहिले पुग्छ ? काठमाडौंका जनता जान्न चाहन्छन्। यहाँका मानिसहरुले यो प्रश्न सोधिरहेका छन् तर हामीले केही जवाफ दिन सकिरहेका छैनौं, मेलम्ची सुन्दरीजलसम्म मात्र ल्याउने होइन होला ? ’, उनले भने,‘सुन्दरीजलसम्म आएको मेलम्चीको पानीलाई नयाँ पाइपले काठमाडौं घरघरसम्म पुर्‍याउने अवस्था छैन, पुराना पाइपले त्यो पानी धान्न सक्दैन।’

अर्का सांसद संजयकुमार गौतमले मेलम्ची भ्रमजालका कारण धेरै वर्ष बितेको बताए। ‘मेलम्चीका बारेमा पहिले पहिले जे कुरा सुनिन्थ्यो अहिले पनि त्यस्तै सुनिन्छ, ठोस कुरा आउनुपर्‍यो’, उनले भने, ‘दुई महिनाअघि खनिएको बाटो अहिले फेरि खनिँदै छ। यसमा तपाइँहरुको हात कति छ? मेलम्चीका बारेमा जे अवस्था हो त्यो यथार्थ भन्नुपर्‍यो।’

त्यस्तै सांसद आशाकुमारी विकले मन्त्रालयबाट अनावश्यक रुपमा भ्रामक प्रचार भएको बताइन्। ‘बरु एक, दुई महिना ढिला होस् तर अगाडी नै प्रचार नगरौं पोहोर पनि दशैंमा नै मेलम्ची आउँछ भन्ने प्रचारका कारण जनतामा निराशा देखिएको छ’, उनले भनिन्।

सांसद बहादुर सिंह लामाले मेलम्ची आयोजनाको सम्पूर्ण खर्च विवरण समितिमा बुझाइनुपर्ने बताए। ‘यसअघि पनि सीएमसीले ९५ प्रतिशत काम सकिएको भनेको थियो, अहिलेको यत्ति काम बढाउन कति खर्च लाग्यो? ’ मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले आयोजनामा विभिन्न समस्याहरु आइपरेको बताए। उनकाअनुसार सीएमसीसँगको ठेक्का तोडिएपश्चात बाँकी रहेका कामका लागि विभिन्न १० वटा प्याकेजमा ठेक्का सम्झौता भएपनि ती ठेक्कामा समन्वय हुन सकेको छैन।

त्यस्तै, आयोजनामा रक डावेल तथा ग्राउन्डिङको परिणाम बढेका कारण थप काम गराउनुपर्ने समस्या देखिएको छ। भेण्ट साफ्ट निर्माणको प्रविधि सहजरुपमा उपलब्ध नहुनु पनि आयोजनाको अर्को समस्याको रुपमा खडा भएको छ। लकडाउनका कारण विदेशी दक्ष कामदार परिचालन गर्न नसक्दासमेत समस्या सिर्जना भएको खत्रीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.