निरास किसान

निरास किसान

गुलरिया : अन्नको भण्डार मानिने बर्दियामा यसपटक धान दिवसको रौनक छैन। कोरोना महामारीसँगै मल अभावले किसानलाई पिरोलेको छ। मानो रोपेर मुरी फलाउने किसान यतिखेर मलबिना धान रोप्दै छन्।

गेरुवा गाउँपालिकाका खुमानन्द चौधरीले रोपाइँका लागि मल पाउनै मुस्किल भएको बताए। ‘हारगुहार गर्दा बल्लतल्ल दुई बोरा मल पाएँ, अझै अपुग छ’, उनले भने, ‘मल अभाव भए पनि आफूसँग उपलब्ध स्रोतसाधन लगाएर रोपाइँ गरेका छौं। प्रकृतिले कति साथ दिन्छ ? सिँचाइ प्रशस्त पाए उत्पादन पनि राम्रै होला।’

उनी मात्र होइन, जिल्लामा मल नपाएका सयौं किसान चिन्तामा छन्। गुलरिया नगरपालिका–८ मा अधियाँखेती गर्दै आएका बच्चा लोधले मल नपाएर रोपाइँ गर्न पाएका छैनन्। ‘बजारभरि मल खोजे कतै पाइनँ’, उनले भने, ‘मल खोज्दै छु पाएछु भने खेतमा हाल्छु नपाए यस वर्षको मेहनेत खेर जाने त होला।’

समयमै बीउ, मल नपाए उत्पादन घट्ने उनको चिन्ता छ। सिँचाइ हुने क्षेत्रमा रोपाइँ गरिए पनि आकासे पानीको भर पर्ने किसानले सुरसारै नगरेको उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन राजापुर क्षेत्रमा पनि मल व्यवस्थापन हुन सकेन। मल अभाव हुँदा त्यहाँका किसान पीडित बनेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडले मल वितरणको जिम्मेवारी दिएका डिपोले सहज रूपमा वितरण नगरेको किसानको गुनासो छ। उनीहरूले जिल्लामा उपलब्ध रासायनिक मल पहुँचका आधारमा बिक्रीवितरण भएको आरोप लगाएका छन्।

बर्दियामा ५० हजार २ सय २६ हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ। राजापुरमा बर्र्खे र हिउँदे गरी दुईपटक धानखेती हुन्छ। यस वर्ष लक्ष्यभन्दा बढी रासायनिक मलको माग आएको कृषि ज्ञानकेन्द्र बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले बताए। ‘मलको माग अत्यधिक छ’, उनले भने, ‘बर्दियामा ३१ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डीएपी र ९४ मेट्रिक टन पोटास वितरण गर्ने लक्ष्य हो। तर, मल अभावमा पूरा हुन सकेन।’

कृषि सामग्री कम्पनीमा मल माग गर्दा कोलकातास्थित बन्दरगाहमा आएर अड्किएकाले आएपछि पाइने आश्वासन दिएको उनले सुनाए। एक सातामा मल आउने भने पनि आएन। समयमै मल नपाउँदा उत्पादन घट्न सक्ने चिन्ता किसानमा छ।

बर्दियामा प्रतिहेक्टर क्षेत्रफलमा सरदर ४ मेट्रिक टन धानको उत्पादकत्व छ। गत वर्ष २ लाख २८ हजार १ सय ८५ मेट्रिक टन धान उत्पादन भएको थियो। कार्यालयले राम, राधा–४, सावित्री, सावा मन्सुली, वहुगुणी मसिनोलगायत १ दर्जनभन्दा बढी जातका धानको बीउ सिफारिस गरेको छ। थोरै समयमा धेरै उत्पादन हुने जातका बीउ सिफारिस गरिएको हो। गत वर्ष गरिमा र सिन्दुर जातका धान लगाएका किसान पाक्ने बेला नपसाएपछि करोडौंको क्षति ब्यहोर्न बाध्य बने। यो वर्ष धोका दिने ब्रान्डका बीउ सिफारिस नभएकाले किसानलाई कुनै पनि समस्या हुँदैन। धान दिवसमा भने यो वर्ष उत्सव हुने छैन।

०००

बर्दियामा रोपाइँ गर्दै किसान। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.