नेकपा विभाजन उन्मुख टकराव

नेकपा विभाजन उन्मुख टकराव

काठमाडौं : सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ।  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ।  प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन्। 

बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्।  त्यसले झन् असमझदारी बढाएको छ। पार्टीभित्र देखा परेको आन्तरिक किचलो, सीमा समस्या र समाधान, सरकार एवं पार्टी कामको समीक्षा, एमसीसी परियोजनालगायत विषयमा छलफल गर्न बोलाइएको बैठकले एकाएक फरक रूप लिएको हो।  असार १४ मा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन भारतीय राज्य संयन्त्र सक्रिय रूपमा लागेको र त्यसमा नेपालका नेताहरूसमेत संलग्न रहेको आरोप लगाएपछि बैठक त्यता मोडियो। असार १६ को बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले दुवै नेतृत्वबाट ओलीको राजीनामा मागेका थिए।  ओलीले दुवै पदबाट राजीनामा नदिने रणनीति बनाएपछि अन्तरसंघर्षले चरम रूप लिएको छ। त्यही क्रममा दुवै पक्षका बाक्ला बैठक बुधबारदेखि जारी छन्।  प्रधानमन्त्री ओलीले बालुवाटारमा दुवैतर्फका केही स्थायी समिति सदस्यसँग छलफल गरेका थिए।  प्रत्युत्तरमा दाहाल–नेपाल पक्षले ललितपुरको झम्सिखेलमा निकट नेताहरूको भेला बोलाए।  दुवैतिरका बैठकले विवादलाई झन् चरमोत्कर्षमा पुर्‍यायो। 

बिहीबार पार्टी बैठक अगाडि दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफलमा आ–आफ्नै अडान कायम रहे।  लगत्तै प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्यको निर्णय लिएर बालुवाटारमै पार्टी बैठक चलिरहेका बेला संसद् अधिवेशन अन्त्य गराउनुले पार्टी एकता गम्भीर संकटमा परेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भई नेकपा बनेको थियो।  पार्टी एकताको २६ महिनामै झन्डै दुई तिहाइ मतसहित केन्द्रीय सरकार बन्यो।  ७ मध्ये ६ प्रदेश र ५ सयभन्दा बढी स्थानीय तहका सरकार नेकपाले पायो।  राजनीतिक रूपमा मजबुत बनेको नेकपा पछिल्लो आन्तरिक विवादले फुटको संघारमा आइपुगेको छ। यसअघिका विवादहरू कुनै न कुनै बिन्दुमा समाधानमुखी अवस्थामा पुगे पनि यो पटकको समाधान के होला ? नेकपाका कुनै पनि नेता बताउन सक्ने हालतमा छैनन्। 

के के भए दिनभर ?

बुधबार साँझै स्थायी समितिका ४४ मध्ये ३० सदस्य सहभागी बैठकले ओलीलाई राजीनामा जसरी पनि गराउने निष्कर्ष निकालेको थियो।  त्यसपछि नेताहरूबीच अविश्वास झन् चुलिएको थियो। 

बिहीबार बिहान दाहालले ओली निकट नेताहरू उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, सुवास नेम्बाड, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाललगायतलाई आफ्नो निवासमा बोलाएका थिए।  उनीहरूले दुई अध्यक्ष मिलेर जाने प्रस्ताव राखे।  स्रोतका अनुसार दाहालले पार्टीमा प्रधानमन्त्रीको एकाधिकार चलेको र त्यसले आफूलाई अपमानित मात्र बनाएको बताएका थिए।  दाहालले पार्टी एकता अगाडि नै भएको आलोपालो सरकार सञ्चालनको विषय छोडेर कमजोरी गरेको र त्यसैमा टेकेर प्रधानमन्त्रीले आफूलाई अपमानित गरेको ओली निकट नेताहरूलाई जवाफ दिएका थिए। 

‘मेरो कमजोरी भनेको मैले राखेका अडानहरू छोड्नु हो।  मैले विगतमा भएका सहमति र अडान छोडें।  तर उहाँ (प्रधानमन्त्री ओली) ले पार्टीमा एकाधिकार गर्नुभयो।  मेरो अपमान भयो,’ ओली निकट नेतासँग दाहालले भनेका थिए। 

ओली निकट नेताहरूले भने दुई पार्टी मिलेर नेकपा बनेको र दुई नेता मिलेरै अहिलेको संकटको समाधान खोज्न दाहालसँग आग्रह गरेका थिए।  दुई नेता मिलेर जाने गरी समझदारीमा नजाँदा पार्टीमा दुर्घटना निम्तिन सक्ने ओली पक्षका नेताहरूले दाहाललाई सुनाएर फर्केका थिए।  उक्त छलफलमा दाहाल पक्षका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र पम्फा भुसाल सहभागी थिए। त्यसपछि फेरि बालुवाटारमा स्थायी समितिको बैठक अगाडि प्रधानमन्त्री ओली र दाहालबीच छलफल भएको थियो।  त्यसक्रममा ओलीले आफूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछाड्ने जानकारी गराउँदै दाहालसँग अन्य विषयमा मात्र छलफल गरौं भन्ने प्रस्ताव गरेका थिए।  त्यहीं ओलीले आफूले मन्त्रिपरिषद् बैठक राख्न खोजेको दाहाललाई जानकारी गराएका थिए।  तर, दाहालले पार्टी बैठक बसिरहेका बेला मन्त्रिपरिषद् बैठक नराख्न आग्रह गरेका थिए।  ओलीले पनि दाहाललाई दुई दिन स्थायी समितिको बैठक स्थगित गर्न भनेका थिए।  तर, दुवै बैठक भए। ओली–दाहाल छलफलपछि बालुवाटारमै प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दाहालले पार्टी स्थायी समिति बैठक सुरु गरे।  तर ओली भने बैठकमा नगई राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे। 

ओलीले शीतल निवासबाट फर्केपछि बिहीबार मध्याह्न मन्त्रिपरिषद् बैठक राखे।  स्थायी समितिमा रहेका मन्त्रीहरू बैठकस्थलमा पुग्दा अमृत बोहोरा र केशव बडालले आफ्नो धारणा राखिसकेको थिए।  बडालले ओलीको वचाउमा बोलेका थिए।  बोहोराले प्रधानमन्त्रीले अनुशासन तोडेको आरोप लगाएका थिए।  बैठक कक्षमै ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेको जानकारी गराउँदै समन्वयकारी भूमिका खेलिदिन दाहालसँग आग्रह गरेका थिए। दाहालले भने मन्त्रीहरूलाई क्याबिनेट बैठकमा जान निर्देशन दिँदै पार्टी बैठकमा भने, ‘मैले प्रधानमन्त्रीलाई बैठक नराख्न भनेर आएको थिएँ।  तर राख्नुभएछ।  तपाईं मन्त्रीहरू जानुहोस्।  तर त्यहाँ अध्यक्षसँग भएको छलफलका आधारमा मात्र गर्नुहोस् भनेर फर्किनुहोस्। ’मन्त्रिपरिषद् बैठक एकदमै छोटो भयो।  कतिपय मन्त्री पुग्दा नपुग्दै बैठक सकिइसकेको थियो।  बैठकमा मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुनलगायतले संसद् अधिवेशन अन्त्यको कुरा पार्टी बैठक चलिरहेकाले पार्टीसँग सल्लाह गरेर निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह गरेको एक मन्त्रीले बताए। 

मन्त्रीहरू क्याबिनेट बैठकमा गएपछि दाहालले केहीबेर स्थायी समितिको बैठक स्थगन गरेका थिए।  तर जब मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय लिएको जानकारी पार्टीका नेताहरूले पाए, त्यसपछि ओलीसँग छलफल गर्ने भन्दै अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेललगायत नेताहरू प्रधानमन्त्रीलाई भेट्न पुगे।  ओलीसँग दाहालले भने, ‘मन्त्रिपरिषद् बैठक नराख्ने समझदारीमा किन जालझेल र षड्यन्त्र गर्नुभयो ? सीधा बैठक राख्छु भन्न सक्नुहुन्थ्यो, किन भन्नुभएन ? के गर्न खोज्नु भएको छ ? ’

प्रधानमन्त्री ओलीले महामारीको अवस्था, संसद्मा बिजनेस नरहेकोले किन राखिरहौं भन्ने लागेर अन्न्य गरेको जवाफ फर्काएका थिए।  सँगै प्रधानमन्त्रीले दाहाललाई भनिदिए, ‘अध्यादेश दुई चार दिन आउँदैन, ढुक्क हुनुहोस्। ’

दाहाल र महासचिव पौडेल प्रधानमन्त्रीलाई भेट्न पुग्दा त्यहाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल र सुवास नेम्बाड पनि थिए।  प्रधानमन्त्रीले अध्यादेश नआउने बताएपछि नेम्बाडले प्रधानमन्त्रीले अध्यादेश नआउने बताउनु भएकोले उहाँलाई विश्वास गरौं भन्दै दाहाललाई थप विश्वस्त पार्न खोजे। 

दाहाल भने वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेर राष्ट्रपतिलाई भेटन शीतल निवास पुगे।  शीतल निवासमा राष्ट्रपति भण्डारीले दाहाललाई पार्टी एकता भत्किन नदिन आग्रह गरेकी थिइन्।  दाहालले भने सरकारले जुनकुनै बेला अध्यादेश ल्याउन सक्ने र त्यसलाई आउनेबित्तिकै जारी गर्ने काम नगरी तटस्थताको भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। प्रत्युत्तरमा राष्ट्रपतिले ‘अहिले त अध्यादेश आएको छैन नि’ भनेकी थिइन्।  बैठकमा सहभागी एक सदस्यका अनुसार उक्त भेटका बातचितबारे दाहालले पछि पार्टी बैठकमा जानकारी गराएका थिए।  राष्ट्रपति निवासबाट फर्केपछि दाहालले बालुवाटार फर्केर स्थायी समिति बैठक सुचारु गरेका थिए।  उनले प्रधानमन्त्री र राष्ट्रपतिसँग भएका छलफलबारे त्यहाँ जानकारी गराएका थिए। त्यसपछि बैठक शुक्रबार एक दिन प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने र पार्टी एकता जोगाउने प्रयास गर्ने भन्दै स्थगित गरिएको थियो।  बैठक फेरि शनिबार ११ वजे बस्नेछ। 

शुक्रबार निर्णायक पहल

शुक्रबार स्थायी समिति बैठक नराख्नुको एउटै उद्देश्य बताइएको छ– निर्णयक छलफल गर्ने।  ओली र दाहालले उक्त निर्णयक छलफल गर्नेछन्।  आवश्यक पर्दा सचिवालयका सदस्यहरूले दुवै अध्यक्षसँग छलफल गर्नेछन्।  दोस्रो तहका नेताहरूले पनि पार्टी एकता जोगाउन भेटघाट तीव्र बनाएका छन्। 

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट आएको बताए।  उनले एकतालाई हरहालतमा रक्षा गर्न र पार्टी, सरकार र राष्ट्रको आवश्यकता पूरा गर्नेगरी अगाडि बढ्न छलफल गर्नुपर्ने महसुस नेताहरूले गरेको बताए।  ‘दुई अध्यक्षले मिल्नेसम्मका विषयमा छलफल गर्नु हुनेछ।  हामी अन्य नेताले पनि आवश्यक पर्दा सहयोग पुर्‍याउँछौं।  त्यसपछि मात्र पार्टीको अवस्थाबारे निष्कर्ष आउँला,’ प्रवक्ता श्रेष्ठले भने।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.