१२ वर्षीय बालकमाथि यौन दुर्व्यवहार गर्ने युवक पक्राउ
दोलखा : भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित १२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा २२ वर्षीय एक युवक पक्राउ परेका छन् ।
भीमेश्वर नगरपालिका–३, स्थित घरमै फकाएर बोलाएर मंगलबार बेलुका आफ्नै काकाको छोरा १२ वर्षीय भाईलाई यौन दुव्र्यवहार (गुदद्वारमा अप्राकृतिक मैथुन गरेको) अभियोगमा २२ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलका अनुसार ती पुरुष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ । पीडित बालकको गुदद्वारबाट रक्तश्राव भएर चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र भर्ना भएर बिहीबार डिस्चार्ज भए पछि अभिभावकको जिम्मा लगाइएको डीएसपी पोखरेलले बताए । पक्राउ परेका पुरुषलाई प्रारम्भिक सोधपुछ गर्दा बलात्कार गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए ।
उनलाई दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको उनले बताए । प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको रिपोर्ट वाहेक विभिन्न भौतिक बस्तुहरुलाई थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौं पठाएको छ ।
ती पुरुषलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२६ को उपदफा ३ बमोजिम मुद्दा चलाइने प्रहरीको भनाइ छ । उपदफा ३ मा बालबालिका बिरुद्ध अप्राकृति मैथुन गर्नेलाई दफा २१९ बमोजिम १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस !