हरायो आत्मीयता

हरायो आत्मीयता

धादिङ  : केही समय अघिसम्म पृथ्वी राजमार्गमा गुडिरहेका गाडीले स्थानीय बजार तथा होटल छेउमा ब्रेक लगाउने वित्तिकै आसपासका होटल तथा पसलबाट स्वागतका शब्द गुन्जिन्थे। मौसमी फलफूल (काफल, लिची, केरा, सुन्तला, आँप) लगायत माछा बेच्नेहरुको भीड बस र अन्य सवारीका झ्यालमा हुन्थ्यो। तर, अहिले सुनसान छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँगैको त्रासले त्यो वातावरणलाइ उल्टो बनाइदिएको छ। राजमार्ग बजार सुनसान भएका छन्, छेउछाउमा फलफूल र माछा व्यापारी हराएका छन्। लकडाउन भन्दा अघि शुक्रबार र शनिबार मलेखु बजारमा खाली होटल भेट्न मुस्किल हुन्थ्यो। अहिले राजमार्ग छेउमा रहेका पहेलो घेरासँगै डोरी टाँगेर होटलमा पस्न छेकवार लगाइएको छ। ‘डोरी नटाग्दा सम्म त नियमित आउने चालकहरु होटल खोल्न र खाना खुवाउन भन्दै घरभित्रै आउन थालेपछि यस्तो अवरोध राखिएको हो’, एक होटल सञ्चालिकाले भनिन्।

सवारी चापको कर्कस आवाज सुनिने राजमार्ग आसपासका भेगको वातावरण अहिले शान्त छ। राजमार्गमा मालबाहक सवारी, एम्बुलेन्स र सवारी पास लिएका गाडी मात्रै गुड्छन्। खाना खाने समस्या भएको मालवहाक सवारी चालकको गुनासो छ। भैरहवाबाट खाद्यान्न बोकेर काठमाडौंतर्फ लागेका ट्रक चालक सोमबहादुर मगरले भने, ‘लकडाउनका सुरुवाती दिनमा कतिदिन भोक भोकै गाडी गुडाइयो। खाने कुराको बन्दोबस्त कतै नहुने भएपछि गाडीमै एक सेट किचन सामग्री र ग्यास बोकेर हिड्न बाध्य भइयो।’

कोरोनाको त्राससँगै सबैभन्दा अप्रिय व्यवहार भने एम्बुलेन्स चालकले भोगे। ‘यति सम्म नमिठो व्यवहार भोगियो कि हामीले बिरामी बोक्ने भएकाले पसलमा पानी पनि किनेर खान दिइएन, कति पटक त घरबाट खाना खाएर हिँडेपछि घरमै फर्किएर मात्रै खाना खान पाइएको छ’, एम्बुलेन्स चालक किसान श्रेष्ठले भने। बजार र राजमार्ग आसपासका भेगका बासिन्दामा अभैm पनि त्रासमा छन्। विभिन्न वस्तीहुँदै राजमार्गमा गुड्ने सवारी चालक र सहचालक नै संक्रमित हुन सक्ने आशंका रहने पसल र होटल व्यवसायी बताउँछन्। ‘नजिक भएर कुरा गर्दा पनि रोग सर्छ भन्ने छ, पैसा भन्दा ज्यान ठूलो भएकाले बार नै लगाएर व्यवसाय बन्द गर्नुपरेको हो’, एक होटल व्यवसायीले भने, ‘यो महामारी सामान्य अवस्थामा नफिर्किएसम्म राजमार्ग क्षेत्रको वातावरण पहिले जस्तो अवस्थामा आउदैन होला।’

राजमार्ग किनारामा फलफूल, मकै, माछा बेचेर गुजारा चलाउनेहरु पनि विस्थापित भएका छन्। ‘सरकारकै अनुरोधमा सबैले बन्द गरेका हुन्, राजमार्गमा धेरैखाले मान्छे धेरै ठाउँबाट आवतजावत हुन्छ, जोखिम धेरै नै हुने भएकाले बन्द गर्नु पर्ने बाध्यता हो’, होटल व्यवसायी संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले भने। अन्य खाद्यान्न प्याकिङ गर्न मिले पनि राजमार्गका होटलमा प्याकिङ सिस्टम सम्भव नभएकाले तत्काल होटल सञ्चालनमा ल्याउन समस्या हुने उनको बुझाइ छ। यद्यपि केही होटल फाट्टफुट्ट सञ्चालन हुन थालेका श्रेष्ठले जानकारी दिए।

पृथ्वी राजमार्गमा लकडाउन भन्दा पहिले दैनिक २० हजार भन्दा बढी गाडीको ओहोर दोहोर हुन्थ्यो। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक नेत्र भट्टले भने, ‘अहिले सवारी चाप न्यून छ, राजमार्गमा गुड्ने सवारी चालकलाइ धेरै समस्या छ, होटल तथा रेष्टुरेन्टमा रोकेर फ्रेस भएर जाँउ न त भन्न पाएका छैनन्। राजमार्ग छेउछाउका वस्तीमा देखिने आत्मीयता र हार्दिकता हराउँदै गइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.