पहिरोमा परी ६ महिने शिशुको मृत्यु, आमा गम्भीर
डोटी : डोटीमा पहिरोमा च्यापिएर एक ६ महिने शिशुको ज्यान गएको छ । पूर्वीचौकी गाउँपालिका ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोमा परेर ज्यान गएको हो ।
अबिरल वर्षासँगै आइतबार बिहान घर पछाडिबाट आएको पहिरोले च्यापिएर उनको ज्यान गएको हो ।मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको सानागाउँ प्रहरीचौकी इञ्चार्ज नारायण बडुले जानकारी दिए ।
मृतक शिशुकी आमा २५ वर्षीया देवा नेपाली पनि पहिरोमा परी घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर उपचार भइरहेको छ । उनको कम्मर भन्दा तल्लो शरीरमा गम्भीर चोट लागेको जनाइएको छ जिल्ला अस्पतालका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिए ।
पहिरो आउँदा घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् । पहिरोले घरभित्रको सबै सरसामान पूर्ण क्षति पुगेको छ। झण्डै ५ लाख बढीको क्षति भएको स्थानीय तथा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापती लक्षीराम कुँवरले बताए ।
प्रतिक्रिया दिनुहोस !