कलिला मुनामाथि ज्यानमारा पिपासु

कलिला मुनामाथि ज्यानमारा पिपासु

बुटवल : तानसेन नगरपालिकाको सरस्वती मावि, सुन्दरगाउँमा कक्षा ३ मा पढ्ने आठ वर्षीया बालिका वर्षा दर्लामी सानोभाइसँग विद्यालयबाट घर फर्किंदै थिइन्। होलाङ्दी खोलानजिकै पुग्दा अपरिचित व्यक्तिले उनलाई उठाए। लामिडाँडा बस्ने उनी, साँझसम्म घर पुगिनन्। भाइले अपरिचित मान्छेले दिदीलाई उठाएर लगेको कुरा भनेपछि आमा साँझ ६ बजे छोरी खोज्दै प्रहरी चौकी प्रवास पुगिन्।

प्रहरीको टोली परिचालन भयो। ७ बजेतिर होलाङ्दी खोलामा वर्षाको निर्वस्त्र शव भेटियो। २०७३ वैशाख ८ गते साँझ उनले लेख्ने कापी, सिसाकलम र इरेजर राजमार्गभन्दा ५० मिटर तल फेला पर्‍यो। यसरी उनीमाथि बलात्कार भयो। अनि हत्या।

कपिलवस्तु शिवराज नगरपालिका–१० चन्द्रौटा प्रगतिटोलकी ६ वर्षीया सीता अधिकारी आँगनमा खेल्दै थिइन्। २०७३ फागुन २ गते सोमबार साँझ उनी हराइन्, परिवारले रातभर उनको खोजी गर्‍यो। तर, भेटिइनन्। अर्काे दिन, बिहान चन्द्रौटा सशस्त्र प्रहरी गणको पछाडि उनका कपडा भेटिए। जबई खोलामा तैरिरहेको अवस्थामा उनको शव भेटियो। प्रगतिटोलकै १८ वर्षीया भीमबहादुर कुँवरले उनको बलात्कारपछि हत्या गरेका थिए। अदालतले कुँवरको सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।

पछिल्लो समय प्रदेश ५ मा पनि ५ वर्षमा यस्तै प्रकृतिका करिब एक दर्जन अपराध भएका छन्। अधिकांश बालिका, किशोरी र केही महिलाका बलात्कारपछि हत्या गरिएको छ। प्रहरी विवरणअनुसार घटनाहरू बीभत्स रूपमा घटाइएको छ। छिमेकी र चिनजानका व्यक्तिहरूले नै बालिका र युवतीमाथि बलात्कार र हत्या गर्ने गरेका छन्। करणी र हत्यामा संलग्नहरू प्रायः नशालु पदार्थ सेवन गर्नेहरू देखिन्छन्।

२०७७ जेठ ९ गते रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ की १३ वर्षीया अंगिरा पासीलाई स्थानीयले करणी भइरहेकै स्थानबाट उद्धार गरे। उद्धारपछि उनलाई जबरजस्ती करणी गर्ने युवक २५ वर्षे वीरेन्द्र घरकै जिम्मा लगाइयो। उनी पीडककै घर पुगिन् र भित्र प्रवेश दिइएन्। अर्काे दिन बिहान अंगिरा दण्डा नदीको किनारमा झुन्डिएको अवस्थामा फेला परिन्। उनको स्वास्थ्य परीक्षणमा करणी भएको रहस्य खुल्यो। उनीमाथि करणी गर्ने र आत्महत्या दुरुत्साहन मुद्दामा पीडककी आमा र ठूलीआमालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
प्रदेश ५ कै रूपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, बर्दिया र बाँकेमा बलात्कारपछि हत्या भएका घटना प्रशस्त छन्। समाजमा चेतनाको अभाव र मानसिक तनावकै कारण यस्ता जघन्य अपराध हुने गरेको अधिकारकर्मी तथा प्रदेश सांसद थानकुमारी थापा बताउँछिन्। ‘बलात्कृत हुनेलाई समेत यो आपराधिक काम हो भन्ने चेतना छैन, पीडकलाई के कारबाही हुन्छ भन्ने जानकारी भेटिँदैन’, उनी भन्छिन्, ‘यस्ता अपराध रोक्न समुदाय स्तरमा कानुनी र यौनसम्बन्धी सचेतना अत्यावश्यक छ।’ यौन पिपासुहरूले मौका छोपेर अपराध गर्ने गर्दछन्।

२०७४ माघ २२ गते रूपन्देहीको कोटहीमाई गाउँपालिका–३ की १२ वर्षीया सरलाको बलात्कारपछि हत्या भयो। खेतमा घाँस काट्न गएकी उनी उतै बलात्कृत भइन्। राति अबेरसम्म आएपछि उनको खोजी गर्दा चुन्नीले घाँटी कसिएको र निवस्त्र अवस्थामामा शव फेला पर्‍यो। छिमेककै २१ वर्षका सञ्जीवकुमार धोबीले उनको बलात्कारपछि हत्या गरेका थिए।
प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र धानुक आपराधिक मनोवृत्ति भएका बालकदेखि वृद्धसम्म नै यस्तो घटना घटाउने गरेको बताउँछन्। ‘यो मानसिक दरिद्रता हो, आपराधिक मनोवृत्ति भएकामा उमेर सीमा पनि रहँदैन’, उनी भन्छन्, ‘विश्वव्यापी ट्रेन्ड नै यस्तै छ।’

कपिलवस्तुमा पछिल्लो पाँच वर्षयता दुई जना किशोरीको ज्यान गएको छ। ६ वर्षीया अधिकारीको हत्या र अर्की १३ वर्षीया लक्ष्मी पासीले यही वैशाख २५ मा बलात्कृत भएपछि २८ गते आत्महत्या गरेकी छन्। बाँकेमा २०७३ असोज १९ गते औषधि किन्न मेडिकल गएकी तत्कालीन काम्दी गाविसकी २५ वर्षीया शान्ति बुढाको बलात्कारपछि हत्या भएको थियो। उनीमाथि ५ जनाले बलात्कार गरेका थिए। शव मृतकको घरछेउकै बारीमा भेटिएको थियो। रूपन्देहीको तिलोत्तामा नगरपालिकाकी २० वर्षीया जिम्निष्टी टन्डन, ओमसतिया–६ की १४ वर्षीया सरस्वती हरिजनको बलात्कारपछि हत्या भयो। तर, प्रहरीले यी घटनालाई हत्या मात्रै भनेको छ।

गुल्मीमा मुसिकोट नगरपालिका वडा नम्बर १ की ३५ वर्षीया गीता नेपाली र हर्मिचौरकी ६९ वर्षीया देउरूपा सापकोटाको बलात्कारपछि हत्या भएको थियो। बर्दिया राजापुरकी २८ वर्षीया मीना सुनारको भारतको हरियाणामा बलात्कारपछि हत्या भयो। २०७२ पुसमा उनको हत्यामा संलग्न ७ जनालाई भारतको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। दाङको राप्ती गाउँपालिकाकी २८ वर्षीया मुस्कान नेपालीको २०७४ फागुनमा बलात्कारपछि हत्या भएको थियो। अर्घाखाँचीको शीतगंगाको जामने वनमा उनको बलात्कारपछि हत्या गरिएको थियो।
प्रहरीले कतिपय घटनालाई बलात्कारपछि हत्या नभनी हत्यामा मात्रै मुद्दा चलाएको छ। घटना प्रकृति बलात्कारजस्तो देखिने तर, धेरै दिनपछि हुने पोस्टमार्टमले बलात्कार पुष्टि नगर्ने सुरक्षा अधिकारीहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.