सामानसहित तस्करको समूह पक्राउ

सामानसहित तस्करको समूह पक्राउ

विराटनगर : मोरङका अलगअलग स्थानबाट प्रहरीले बुधबार बिहान तस्करीका सामानसहित पाँचजनालाई पक्राउ गरेको छ । 'लकडाउन' का समयमा भारतबाट भन्सार छली गरेर अवैध रुपमा सामान ल्याउँदै गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

'लकडाउन'मा दुई देशीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ । नाका 'सिल' भएपनि सुरक्षाकर्मीलाई छल्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ सामान तस्करी गर्ने क्रम भने रोकिएको छैन । 

विराटनगर महानगरपालिका-१६ भट्टीमोडबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१५ का २५ वर्षीय मुन्ना मण्डल र २८ वर्षीय मोहम्मद सोरहा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । 

साइकलमा उनीहरु भारतबाट आउँदै थिए । दुईवटै साइकल चेकजाँच गर्ने क्रममा फेन्सी सामान र कपडा तस्करी गर्ने गरेको पाइएको थियो । दुईजनाबाट भन्सार छली गरेर ल्याएका ४४ हजार मूल्य बराबरका सामान बरामद भएको राईले 
बताए । 

त्यस्तै प्रहरीले भारतदेखि अवैधरुपमा पानीपुरी, कपडा तथा किराना मालसामान ल्याउँदै गर्दा एकजनालाई पक्राउ गरेको छ । विराटनगर-१६ दरैयाबाट पक्राउ पर्नेमा २६ वर्षीय अरुण साह रहेको डीएसपी राईले बताए ।

साहका साथबाट २२ हजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाइ छ । उता मोरङको जहदा गाउँपालिका-२ जयरामचौकबाट प्रहरीले भारतदेखि टेलिभिजन सेट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । बिहान ६:३० बजेतिर पक्राउ पर्नेमा धनपालथान गाउँपालिका-२ का २६ वर्षीय सचिन मण्डल र जहदा-७ का ४० वर्षीय प्रशान्त मण्डललाई पक्राउ गरिएको डीएसपी राईले बताए । 

उनकाअनुसार भारतबाट आउँदै गरेको को २७ प ४७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा तस्करी गरेर भारतबाट ल्याउँदै गरेको अवस्थामा दुईवटा ३२ इन्चको एलइडी टेलिभिजन सेट बरामद भएको छ । सचिन मोटरसाइकलका चालक हुन् । 

पक्राउ परेकाहरुलाई उनीहरुबाट बरामद भएका मोटरसाइकल, साइकल र तस्करीका सामानसहित आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

अवैध सामानसहित पक्राउ परेका नेपाल-भारत सीमा क्षेत्रमा तस्करीको लाइन चलाउने पुराना तस्कर रहेको प्रहरीले दाबी गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ दैनिक रुपमा भन्सार छली गर्दै सामान कटाउने धन्दामा उनीहरुको संलग्नता रहने गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले बताए । 'लकडाउन' का समयमा पनि तस्करी नरोकिएपछि प्रहरीको विशेष टोली परिचालन गरेर सीमा क्षेत्रमा कडाई गर्दै निगरानी बढाइएको जानकारी उनले दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.