‘क्वारेन्टाइन’मा बाढीको जोखिम

‘क्वारेन्टाइन’मा बाढीको जोखिम

गुलरिया : महामारीका रूपमा फैलिरहेको कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागि बर्दियामा स्थापना गरिएका कतिपय क्वारेन्टाइन बाढीको जोखिममा छन्। कर्णाली र बबई नदीको बाढी प्रभावित क्षेत्रका विद्यालयहरूमा स्थापना गरिएका क्वारेन्टाइन बाढीको उच्च जोखिममा परेका हुन्।

बर्दियाका १ सय ४७ स्थानमा ६ हजार २२ बेडका क्वारेन्टाइन स्थापना भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। जसमा ४० वटा विद्यालय छन्। गुलरिया ११, मधुवन १०, राजापुर ५, ठाकुरबाबा २, बाँसगढी नगरपालिकामा ३ वटा र गेरुवा ५ तथा बढैयाताल गाउँपालिकाका ४ वटा विद्यालय क्वारेन्टाइन का रूपमा सञ्चालित छन्। जिल्लाका विभिन्न पालिकाहरूका ४ वटा विद्यालयमा ३ सय ७७ आइसोलेसन बेड सञ्चालनमा छन्।

बर्दियामा २५ शैयाको आइसोलेसन कक्ष थपिने तयारीमा छ। प्रजिअ अधिकारी भन्छन्, ‘जिल्ला विपद् व्यवस्थापन समिति बर्दियामार्फत मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी बाढीको जोखिम न्यून गर्ने तयारी गरेका छौं।’ जिल्लाका कर्णाली, गेरुवा, औराही, बबई, मानखोलालगायत यसका शाखा खोलामा बाढीको प्रभाव बढी छ।

बबई, कर्णालीलगायत शाखा नदीमा बाढी पूर्वसूचना प्रणालीलाई सक्रिय पारिएको छ। बाढी प्रभावित क्वारेन्टाइनलगायत आइसोलेसन कक्षहरूका लागि वैकल्पिक स्थान तयारी गर्न स्थानीय तहहरूलाई अनुरोध गरिएको प्रजिअ अधिकारीले बताए। बाढीका बेला क्वारेन्टाइनहरूमा आउन सक्ने विपत्तिलाई मध्यनजगर गरी र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको प्रजिअको भनाइ छ। रबरबोट, लाइफ ज्याकेटलगायतका खोज तथा उद्धार सामग्रीको व्यवस्थापन भएको छ।

बर्दियाका चार स्थानमा हेलिप्याड निर्माण गरिएका छन्। पूर्वतयारीका विभिन्न क्लस्टरलाई तयारी हालतमा राखिएको छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ अनुसार विगतका वर्षहरूमा झै यस वर्ष बाढी आए २० हजार घरपरिवारका १ लाख जनसंख्या उच्च प्रभावमा पर्न सक्ने पूर्वानुमान गरिएको छ। जिल्लाका ८ वटै पालिकाहरू बाढीको उच्च जोखिममा छन्। स्थानीय तहहरूमा उद्धार तथा राहत सामग्री भण्डारका लागि उपयुक्त कक्षको व्यवस्थापन गरिएका छैनन्।

गुलरिया नगरपालिका–४ स्थित कोटही माध्यमिक विद्यालयमा स्थापित जिल्लाकै एकमात्र महिला क्वारेन्टाइन पनि बाढी प्रभावित क्षेत्रमा अवस्थित छ। बर्दियामा १ सय ४८ आधारभूत र ४३ वटा माध्यमिक विद्यालय छन्। जसमध्ये ४० वटा विद्यालयहरूमा क्वारेन्टाइन सञ्चालनमा छ। क्वारेन्टाइन सञ्चालन भएका विद्यालयमध्ये १६ वटा विद्यालय बाढीको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।

अनुमानअनुसारको बाढी आए समस्या थपिन सक्छ। बाढी आएको अवस्थामा क्वारेन्टाइन मा बसेका सेवाग्राहीलाई समेत उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ। बाढीपूर्व सूचना प्रणाली कार्यदललाई सक्रिय पारिएकाले बाढीको अग्रिम जानकारी आउने उनले बताए। कर्णाली नदी तटीय क्षेत्रमा ४६ र बबई तटीय क्षेत्रमा ३७ गरी ८३ जनाको कार्यदल गठन गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.