नदी किनारका बस्तीमा त्रास

नदी किनारका बस्तीमा त्रास

ताप्लेजुङ/इटहरी : ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत जिल्लाका नदी आसपासका दर्जनभन्दा बढी बस्ती बाढीको जोखिममा परेका छन्। ठाडा र खहरे खोलाले बस्ती रहेको भूभाग कटान गर्न थालेपछि जोखिम बढेको हो। तमोर नदी किनारमा रहेका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटाका दर्जन बढी बस्ती र काबेली, हेवा, मेवा, मैवा नदी किनारमा बनाइएका बस्तीसमेत बाढीको जोखिमा रहेको जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङका ठूला बजार दोभान र शिवा पनि नदी किनारमा छन्। केही गाउँपालिकाका केन्द्रसमेत नदी किनारमा रहेकाले बाढी आउँदा जोखिम बढी हुने विज्ञको भनाइ छ। दोभान बजारका स्थानीय टंक खतिवडा वर्षात्को समयमा रात परेपछि सुत्नै नसक्ने बताउँछन्। ‘नदी किनारामा रहेको बजारमा घर छ। दुईतिर नदीले घेरेकाले बाढी आएमा भाग्ने ठाउँ पनि छैन। कटान बढ्दो छ।’ उनले भने।

हिउँदको समयमा नदी किनारको बस्तीमा बस्न रमाइलो भए पनि वर्षात्का अधिकांश रात जागराम बस्नुपर्ने बाध्यता रहेको खतिवडाले बताए। ताप्लेजुङका नदी किनारमा २०२० सालको बाढीले बगर बनाएको क्षेत्रलाई बिराएर बस्ती निर्माण भएको जानकारहरू बताउँछन्। तिनै बस्ती र बजार अहिले बाढीको जोखिममा परेका छन्।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा भएर बग्ने तमोर नदी किनारका सबैभन्दा बढी बस्ती र बजार ताप्लेजुङमा पर्छन्। मितलुङ, सिवा, हान्द्रुङ र दोभान बजार जिल्लाका ठूला बजार हुन्। चार सय बढी घर रहेका यी बजारका केही नागरिक वर्षात्को समयमा अन्यत्र गएर बसे पनि अधिकांश नदी किनारका घरमा बस्ने गरको स्थानीय शिक्षक चन्द्र तामाङ बताउँछन्।

ताप्लेजुङमा पहिरोले पनि बर्सेनि ठूलो क्षति पर्‍याउने गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार २० वर्षमा एक सय ५० जनाले पहिरोमा परी ज्यान गुमाएका छन्। पछिल्ला वर्षमा अव्यवस्थित रूपमा खनिएका सडकबाट बगेको पहिरोले गाउँ चिराचिरा परेको छ। ६१ वडा रहेको ताप्लेजुङका ३० वडा पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिको तथ्यांक छ।

इलामका चुरे क्षेत्र भएका तहमा वर्षात्को समयमा बाढी र पहिरो टाउको दुखाइको विषय हुने गरेको छ। माङसेबुङ गाउँपालिकाका ३, ४ र ५ मा घर भन्दा बढी पहिरो छन्। इलामका चार नगरपालिका र ६ गाउँपालिकाले बाढीपहिरोको विपद्बाट जोगिन जनचेतना, राहत र उद्धारको तयारी गरेको जनाएका छन्।

बाढीको त्रास, छैन प्रभावकारी योजना

नेपालकै ठूलो नदी सप्तकोसीदेखि ससाना दर्जनौं खोला, खोल्सी भएको सुनसरीको सबैभन्दा ठूलो प्राकृतिक विपत् बाढी रहेको जिल्ला रेडक्रस शाखा कार्यालय सुनसरीले गरेको एक अध्ययनले देखाएको छ।

सुनसरीमा बाढीको जोखिम बढाउनेमा सप्तकोसीमा नदीदेखि अन्य साना खोला तथा खोल्सासम्म छन्। सप्तकोसीमा बर्सेनि आउने बाढीले सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई त्रसित बनाउँछ। २०६५ साल भदौ २ गते सप्तकोसीको तटबन्ध भत्काएर कोसीको पानी बस्तीमा पस्दा सात हजार परिवार विस्थापित भएका थिए। पानी ओभरफ्लो भएर नजिकका बस्ती डुबान तथा कटानमा पार्ने जोखिम छ। खासगरी सुनसरीको श्रीलंका टापुमा बस्ने तीन हजार बढी परिवार कोसी बाढीको प्रत्यक्ष जोखिममा छन् भने नजिकका गाउँसमेत कोसी तटबन्ध फुट्ने हो कि भन्ने त्रासमा रहने स्थानीय बाबुराम कार्की बताउँछन्।

त्यसमाथि कोसीको पानीलाई होल्ड गर्ने कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय पक्षलाई छ। ब्यारेजको ढोका समयमै नखोल्दा ब्यारेज र बाँधमा दबाब पर्ने र जोखिम बढी हुने हुन्छ। कोसी सम्झौताअनुसार कोसीको ब्यारेज खोल्ने, बन्द गर्ने, तटबन्धहरूको मर्मत गर्ने जिम्मा भारतको छ। तर भारतले समयमै प्रभावकारी काम नगर्दा जोखिम बढ्ने प्रकाशपुरका जोनी लिम्बूको भनाइ छ।

सप्तकोसी नदीबाहेक सुनसरीमा सुनसरी खोला, बूढी खोला, टेंग्रा खोलालगायतका धेरै खोलाहरू छन्। खहरेहरूको संख्या पनि सुनसरीको धरान उपमहानगरपालिकामा धेरै छ, जसले वर्षामा नजिकका बस्तीहरू डुबाउने सम्भावना छ। इटहरीको टेंग्रा खोला, बूढी खोला, सेहरा खोला आदि इटहरीको लागि टाउको दुःखाइ नै बनेको छ। तीन वर्षअघि त बूढी खोलामा आएको बाढीले छेउको सुकुमबासी बस्ती बगाउँदा ६ जनाको ज्यान नै गयो। बूढी खोलामा आएको बाढीले दुहबी नगरपालिकासमेत प्रभावित पार्छ भने मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि डुबान र कटानको समस्या उत्पन्न गर्छ।

सुनसरीमा बाढी आइहाले उद्धार तथा राहतको संयन्त्र पनि छैन। बाढीमा पर्नेलाई उद्धार गरेर विद्यालयहरूमा राख्ने गरिएको छ। राहत तथा पुनस्र्थापनामा पनि निकै लामो समय लाग्ने गरेको छ।

यो वर्ष कोरोनाको कारण बाढीबाट हुने क्षति र उद्धारका जटिलताहरू अझ धेरै छन्। स्कुलहरू क्वारेन्टाइनमा रूपान्तरण भएको समयमा बाढी तथा प्रकोप पीडितहहरूलाई कहाँ राख्ने भन्नेमै जनप्रतिनिधिबीच अलमल छ। तीन वर्षअघि साउन महिनामा इटहरीमा आएको बाढीले इटहरी ४ गैरी गाउँमा ६ जनाको ज्यान लियो। बूढी खोलामा आएको सोही बाढीमा परी बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन्।

त्यसबाहेक पनि टेंग्रा खोलामा आएको बाढीले इटहरी चोक बजारका धेरै घर तथा पसलहरू डुबायो। प्रायःजसो सबै वडा डुबे।

टेंग्रा, बूढी, सेती र शेरा खोलामा आउने बाढीबाट इटहरीका ६ वटा वडाका दुई हजार घर परिवार जोखिममा रहेको इटहरी उपमहानगरपालिका वातावरण तथा जनसंख्या शाखा अधिकृत पुष्पनारायण चौधरीको भनाइ छ। इटहरी ४ गैह्रीगाउँमा तटबन्धको काम गर्दै आएको इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले बताए। साथै यो वर्ष पनि नालाको सफाइ गरिएको उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.