बेचैनमा चैनपुर

बेचैनमा चैनपुर

बझाङ : सेती नदी र बहुली खोलाले घेरेको बझाङ जिल्लाको सदरमुकाम चैनपुर नदी कटानको जोखिममा छ। सेती र बाहुली खोलाका बाढीले पटकपटक ठूलो क्षति पुर्‍याउँदै आए पनि उपयुक्त ठाउँ नहुँदा सदरमुकाम नसारिएको हो। सेती वर्षायाममा उर्लिने नदी हो। बाहुलीले जतिबेला पनि बहुलाको जस्तै रूप लिने गरेको छ स्थानीय बताउँछन्।

‘हिउँदतिर मनमा त्यति डर नभए पनि वर्षायाममा भने सेती र बाहुली आसपासमा त्रास हुन्छ’ स्थानीय लक्ष्मीराज जोशीले भने। ‘वर्षाका बेला सचेत त भइन्छ तर खहरेको भरै हुन्न, कति बेला उर्लेर आउँछ।’

जिल्ला सदरमुकाम भएकाले गाउँबाट बसाइँ सरी घर, घडेरी किन्नेहरू पनि बढिरहेका छन्। सेती र बाहुलीले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ। बाहुली खोलामा गत वर्ष आएको बाढीले ३२ वर्षअघि बनाएको झोलुंगे पुल बगाएको थियो भने जिल्ला अस्पताललाई पनि जोखिममा पारेको थियो।

बाहुलीको वितण्डापछि स्थानीयले बाहुलीगाड क्षति न्यूनीकरण तथा सदरमुकाम बचाउन अभियान सञ्चालन गरेपछि चैनपुर बचाउन तटबन्धनको काम हुन थालेको छ। स्थानीय गणेश कामी भन्छन्

‘तटबन्धनको काम भइरहेको छ, बस्ती विस्तार भइरहे पनि चैनपुरको भविष्य दिगो छैन।’ चैनपुर पारि अथवा सेती पारि हेमन्तवाडातर्फ डाँडामा पहिरो गएको छ। त्यो हरेक वर्षायाममा जाने पहिरो हो। त्यो पहिरोको बीच भएर सडक खनिएको हुँदा अझ ठूलो पहिरो आएर सेती थुनिन सक्ने खतरा रहेको लक्ष्मीराज जोशीले बताए।

चैनपुर भएर बग्ने सेती नदी नागबेली जस्तो साँघुरो ठाउँमा बगेको हँुदा सेतीले धार बदल्न सक्ने त्रास पनि छ। चैनपुरको अर्को तर्फ बग्ने बाहुली खोला ठूलो बाढी आयो भने चैनपुरको सिरानी भएर खोलाभित्र पस्न सक्ने खतरा छ।

सदरमुकामको पूर्वी भागमा सेती नदी र पश्चिमी क्षेत्रबाट बाहुली खोलामा यदि ठूलो बाढी आयो भने सदरमुकाम चैनपुरको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा रहेको स्थानीय नरेश खत्रीले बताए। डाँडाकाँडाबाट सडक खनिएकाले ठूलो पहिरो आउने सम्भावना पनि उत्तिकै छ।

बूढापाका चैनपुरको पुरानो नाम कुमालतोडो भएको बताउँछन्। धेरै वर्षअघि चैनपुर बगाएर चैनपुरको बीच भागमा रहेको सुर्मादेवीको मन्दिर मात्र बाँकी रहेको समाजसेवी गणेश गिरीले बताए। गिरी भन्छन्, ‘खोलाले बगाएको बगरमा यो बस्ती बसेको हो, कुनै समय खोलामै विलय हुन सक्ने खतरा छ’ उनले भने।

बझाङको पुरानो सदरमुकाम मेल्लेख हो। २०२८ सालमा मेल्लेखबाट चैनपुर सारिएको हो। भौगोलिक हिसाबले जिल्लाको बीच भागमा पर्ने भएकाले पनि चैनपुरलाई सदरमुकाम बनाइएको हो। तर अहिले जोखिम बढ्दै गएपछि चैनपुरवासी चिन्तित छन्।

पहिरोले सेती नथुनियोस् भनेर सेतीपारि डाँडामा वृक्षरोपण थालिएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्छन्, ‘सदरमुकाम बचाउन सिमेन्टको पक्की तटबन्धन पनि बनिरहेको छ, सानोतिनो बाढीले चैनपुर बगाउँदैन।’

सरकारी कार्यालय र निजी आवासीय क्षेत्र गरी सेती र बाहुलीको बीचमा एक हजारभन्दा बढी घर रहेका छन्। प्रशासनले चैनपुर आसपासको सेती र बाहुली खोलाबाट ढुंगा, बालुवा निकाल्न पनि रोक लगाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.