कमलाको त्रास, बर्सेनि उठीबास

कमलाको त्रास, बर्सेनि उठीबास

जनकपुरधाम/परासी/ गुल्मी : ‘बाढीले खेत बगाएर लान्छ, घर डुबानमा पर्छ। चुरेबाट आएको भेलले खेत बगर बनाउँछ। यो त हाम्रो बर्सेनि नियति नै बनेको छ।’ धनुषा र सिरहाको सिमाना छुट्ट्याउने कमला नदी तटीय क्षेत्रका बाढीपीडित कमलदेव यादवको यो पीडा नदी तटीय क्षेत्रका दर्जनौं गाउँलेको हजारौंको पीडा हो।

मनसुन सक्रिय भएसँगै भारतले जयनगरस्थित तटबन्धको ढोका आफू अुनुकूल खोल्दा र लगाउँदा धनुषा र सिरहाका हजारौं खेतीयोग्य जमिन र घर डुबानमा पर्छ। बाढीले गत वर्ष मात्र धनुषामा ६ जनाको ज्यान गएको थियो। जनकनन्दनी गाउँपालिका १ का रत्नेश्वरलाल गोइत भन्छन्, ‘प्रत्येक वर्ष कमला नदीको बाढी पसरै गाउँमा त्राहिमाम मच्चाउँछ। गाउँलेहरू जोगिन अग्लो ठाउँ स्कुल, सार्वजनिक भवनमा सहारा लिनुपर्छ।’

‘सिमाक्षेत्र डुबानको प्रमुख कारण भारतीय पक्षले बनाएको बाँध हो, तर कसैले आवाज नउठाएका कारण बर्सेनि बाढीपानीको नियति बनेको हो,’ कमला नगरपालिका हथमुण्डाका कमल मण्डलले भने।

प्रदेश २ प्राकृतिक विपद् तथा व्यवस्थापन समितिका सभापति रामचन्द्र मण्डलका अनुसार चुरे संरक्षण नहुँदा फँडानी र दोहनका कारण पनि नदीनालाको सतह पुरिँदै छ। कमला नदीको पूर्वी तटमा अवस्थित सिरहाको बसपिरा, बरेरवा, सिरहा मखनाहा, महसोथा, रमौल, हथमुण्डा धनुषाको बरेरवा, सघारा, भलुवाही, टरिया, लगमा, माँची, लक्कड, मडान, सखुवालगायतका बस्ती डुबानमा पर्दै आएको छ। गत वर्ष बाढीले झन्डै हजार घर भत्किएको थियो। यस वर्ष क्षति न्यूनीकरणका लागि स्थानीय तहसँग मिलेर विपद्को तयारी गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

त्रासमा गण्डकबासी

हरेक वर्षको वर्षायाम सुरुसँगै पश्चिम नवलपरासी दक्षिण भेगका स्थानीय त्रासमै बस्ने गरेका छन्। नहरमा काम गर्दा नेपाली पक्षलाई लागत अनुमान र कामको प्रकृतिका बारेमा जानकारी दिनुपर्ने सहमति छ। तर नेपाली पक्षलाई जानकारी नदिने गरिएको गण्डक सिँचाइ व्यवस्थापन डिभिजन समेरीका प्रमुख मदन मोहन झाले बताए।

गण्डक नहर

अहिले पनि गण्डक नहरमा पानीको बहाव बढ्दै गएको छ। शुक्रबार बिहान पानीको बहाव बढेर १० दशमलब ४५ मिटर पुगेको थियो। ११ मिटरपछि उच्च खतरा मानिन्छ। ‘पानीको बहाव बढ्दै गए ब्यारेजका ढोका खोल्न भारतीय पक्षसँग आग्रह गर्छौं। अहिले स्थानीयलाई सजग हुन र सुरक्षित स्थानको खोजीका लागि सरोकारवालासँग समन्वय गरिरहेका छौं’, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने।

एक सय घर जोखिममा

गुल्मीको इष्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले पालिकाका १ सय १६ घरपरिवार पहिरोको जोखिममा रहेको जानकारी दिइन्। उनले जोखिम घरपरिवारका सदस्यलाई गाउँकै विद्यालयमा लिएर राखिएको बताइन्।

कतिपय स्थानमा गाउँका खरबारी हुँदै खोलो पसेर पहिरो गएको छ भने कतिपय ठाउँमा डोजरले सडक खनेपछि पहिरो गएको स्थानीयले बताए। इष्मामा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ। इष्मा गाउँपालिका–४ रहेको कालिका निमावि पहिरोले बगाएको छ। दोहोलीमा २१, अमरपुरमा ७ तथा मालिका गाउँपालिकाको दर्जनभन्दा बढी घरपरिवार पहिरोको जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.