सुन तोलाको लाख नजिक

सुन तोलाको लाख नजिक

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ। अन्तिमपटक २५ असारमा सुनको भाउ तोलाकै ९२ हजार ४ सय रुपैयाँ पुग्यो। दुई दशक अघिसम्म नेपालमा ‘साउनमा सुन किन्नू’ भन्ने गरिन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ।

साउने सक्रान्तिको पूर्वसन्ध्यामा नेपाली सुन पसल बन्द प्रायः छन्। अत्यावश्यक पर्नेलेबाहेक सुन किनेका छैनन्। या त, भण्डारण गर्ने अर्थात् सुनमा लगानी गरेर सञ्चित गर्नेले अहिले सुन किनिरहेका छन्।

नेपालमा ९० प्रतिशतभन्दा बढी सुनको व्यापार गरगहनाको प्रयोजनमा हुने गर्छ। तर अहिले गरगहना किन्नेभन्दा बेच्ने बढी भएको व्यावसायिको गुनासो छ। सामान्य अवस्थामा तोकिएको बिक्री मूल्यमै वा त्यसभन्दा ५ सयदेखि एक हजार रुपैयाँ सस्तोमा उपभोक्ताबाट बिक्रेताले सुन किन्ने गरेका थिए। तर अहिले ५ प्रतिशत मूल्य ह्रास कटाउने गरेको व्यवसायीले नै बताएका छन्। आर्यको संस्कृतिसँगसमेत जोडिएको पहेँलो धातुको मूल्य यसरी आकासिनुको एउटै कारण हो–कोरोना।

सन् २००८ बाट सुरु भएको वित्तीय संकटका बेला अन्तर्राष्ट्रिय बजारमा चुलिएको सुनको भाउ सन् २०११ को अन्त्यतिर कीर्तिमानी उचाइमा पुगेको थियो। त्यसबेला प्रतिऔंस १८९० अमेरिकी डलर पुगेपछि ओरालो लागेको यो बहुमूल्य धातुको माग अहिले सर्वाधिक बढेको छ। सोमबार १८०२ डलर पुगेको सुनको मूल्य मंगलबार थप चार डरल उक्लिएको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य शृंखलामा सुनलाई सबैभन्दा महत्वपूर्ण वस्तु मानिन्छ। संसरमा सीमितिमात्र पाइने अर्थात् ज्यादातर दुर्लभ भएकाले यो धातुको मूल्य उच्च भएको हो। एक सय वर्षअघि सुन र अमेरिकी डलरको भाउमा विपरीत सम्बन्ध हुन्थ्यो। अहिले पेट्रोलियम र सुनको मूल्यमा त्यस्तो विपरीत सम्बन्ध देखिन्छ।

विश्व अर्थतन्त्र चलायमान भएको र संसारभर नै आर्थिक गतिविधि उच्चदरमा बढेको बेला सुनको भाउ सस्तिन्छ। किनकी, धनि मानिस सुन बेचेर आर्थिक गतिविधिमा पैसा लगानी गर्न थाल्छन्। तर, त्यस विपरीत आर्थिक गतिविधि खस्किए, द्वन्द्व र महामारीको अवस्था सिर्जना भयो भने चाहिँ मानिस सेयर, डिबेन्चरदेखि अन्य सम्पत्ति बेचेर सुन किन्न थाल्छन्। किनभने सुन संसारको सबैभन्दा सुरक्षित लगानी मानिन्छ।

अरु बेला सुन बेच्नुको कारण पनि त्यही हो, सुरक्षित लगानीबाट असाधारण प्रतिफल पाइँदैन। सुनको मात्रै किनेर बस्ने हो भने मान्छेले पैसा कमाउन सक्दैन। तर सुनमा गरेको लगानी जस्तोसुकै खराब परिस्थितिमा पनि डुब्दैन भन्ने मान्यता छ। हामीले नेपाली सेयर बजारमा धेरैले कमाएको र गुमाएको देखेका छौं। तर सुनमा लगानी गरेर धेरै गुमाउनु परेको छैन।

अहिले नेपालमा पनि केही व्यवसायीले भारी मात्रामा सुन सञ्चय गर्न थालेको व्यवसायीले बताएका छन्। नयाँ उद्योग, व्यापार व्यवसाय सुरु गर्न अहिले कोही पनि तयार छैनन्। कोरोना महामारीले भविष्यमा कति असर पुग्छ भन्ने आँकलनसम्म गर्न नसकेका पुँजीपति बजारमा उपलब्ध सुन किनेर थुपार्न थालेको सुनचाँदी व्यवसायी बताउँछन्। ‘हामीले जति सुन बजारबाट किन्छौं, त्यो सुन पसलेले मात्रै खपत गर्न सक्दैन। अहिले सुनको बिक्री गर्नेको संख्या ह्वात्तै बढेको छ’, एक व्यवसायी भन्छन्, ‘यस्ता सुन ठूला सञ्चयकर्ताले किनिरहेका छन्।’

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पुरानो कीर्तिमानी उचाइ छिचोल्ने अनुमान भएका छन्। त्यस्ता अनुमान सत्य भए भने अहिलेभन्दा पनि सुन महँगिनेछ। त्यसै पनि अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको लगातार अवमूल्यनको मार हामीले खेप्नु परिरहेको छ। भारतीय रुपैयाँ (भारु)सँगको स्थिर विनिमय दर भएकाले नेपाली रुपैयाँ पनि भारुकै हैसियतअनुसार चल्छ। मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सन्दर्भ मूल्य १ सय २० रुपैयाँ ६१ पैसा तोकेको छ। ठीक एक वर्षअघि यो दर १ सय १० रुपैयाँ २० पैसा थियो। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको माग बढ्दै जाने र भारुको माग घट्दै जाने परिपाटीले यस्तो भएको हो।

सुनको भाउमा पनि अहिले त्यस्तै अवस्था छ। विकास निर्माणको काम, उद्योगधन्दा र नयाँ परियोजना निर्माणका काम अबरुद्ध भएपछि अहिले विश्व बजारमा पेट्रोलियम पदार्थको माग घटिरहेको छ। त्यसैकारण पेट्रोलियममा मात्र होइन, अधिकांश कम्पनीमा लगानी गर्ने लगानीकर्ताले घाटै परेपनि थप घाटाबाट बच्न त्यस्तो लगानी बेचेर सुन किन्न थालेपछि सुन महँगिएको हो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यो महँगिदो सुनको भाउ अझै उकालो लाग्नसक्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.