जबजले झस्किए दाहाल

जबजले झस्किए दाहाल

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेतालाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद (जबज)को कुरा उठेपछि दाहालले आफू निकट नेताको धारणा बुझेका हुन् ।

दाहालले शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग गर्ने तर त्यसका लागि जबज स्वीकार गर्नुपर्ने प्रस्ताव ओली पक्षबाट आएको सुनाएका थिए । तर, त्यस्तो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ थियो ।

‘राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्ने प्रस्ताव आएको थियो । तर, त्यसका लागि जबजलाई स्वीकार गर्नुपर्ने प्रस्ताव आयो । मैले त्यस्तो हुन्न भनेको छु’, दाहालको भनाइ उद्धृत गर्दै एक नेताले अन्नपूर्णसँग भने, ‘मंसिरमा महाधिवेशन सम्भव पनि छैन । जबजलाई पनि मान्ने कुरालाई स्वीकार गरेको छैन ।’

नेपालले पनि आइतबार दाहाल निवासमै भएको छलफलमा आफू जबजको पक्षपाती भएकाले अब जबजको बहस खुला गर्नुपर्ने, आगामी महाधिवेशनबाट यसलाई कार्यदिशा बनाएर जानुपर्ने धारणा राखेका थिए । यसबाट झस्किएका दाहालले स्थायी गुटबन्दीभन्दा पनि मुद्दाका आधारमा सहकार्य गरेर जाने नीति अवलम्बन गर्नुपर्ने बताएका हुन् ।

नेकपाभित्र तीन धार (ओली, दाहाल र नेपाल)मध्ये ओली र नेपालका आफ्नो धार संगठित देखिए पनि पूर्वमाओवादी धारमा भने एकता देखिएको थिएन । केही नेता दाहाललाई ओलीतिर र केही नेपालसँगको समीकरणमा तान्ने प्रयासमा थिए । यसले पूर्वमाओवादी धारभित्र देखा परेको दुई धारलाई एकताबद्ध बनाउने प्रयासस्वरूप दाहालले नेताहरूलाई बोलाएका थिए ।

सुरुमै दाहालले पूर्वमाओवादीको बैठक बोलाउनु उपयुक्त नभए पनि परिस्थिति अलिक जटिल भएकाले आफूले सुझाव लिन बोलाएको बताएका थिए । उनले विचार राजनीतिका विषयमा एकताबद्ध हुन अपिल गरे । पूर्वमाओवादीहरू एक ठाउँमा आउन दाहालले आग्रह गरे पनि सुझाव दिने क्रममा नेताहरूमा दुई धार देखा परेको थियो ।

पूर्वएमालेभित्रका दुई धार ओली या नेपालमध्ये कोसँग मिल्ने÷नमिल्ने भन्नेमा नेताहरूका आआफ्नै सुझाव थिए । नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, मातृका यादवलगायतले अहिले चलिरहेको संघर्षलाई निष्कर्षमा पुर्‍याउन पनि उठेका एजेन्डालाई अगाडि बढाएर जानुपर्ने मत राखेका थिए । तर, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेललगायतले पार्टी एकता ओलीसँग भएकाले एकता प्रक्रियालाई टुंगोमा नपुर्‍याउँदासम्म ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेका थिए ।

वैचारिक राजनीतिक प्रश्न बहसमा आउँदा तत्कालीन एमालेभित्रका नेता एकै केन्द्रमा आउन सक्ने भएकाले माओवादी धारले मुद्दाका आधारमा सहकार्य गरेर जानुपर्ने भन्दै नेताहरूले एकतालाई टुंगोमा पुर्‍याउन ओलीसँग नजिक हुनुपर्ने धारणा राखेका थिए ।

‘तपाईं (अध्यक्ष)ले स्वतन्त्र रूपमा निर्णय गर्ने काम गर्नुहोस्, ओलीले स्वतन्त्र निर्णय गरेको छ भने तपाईंले पनि आफैं स्वतन्त्र निर्णय गरेर जान हामीले सुझाव दिएका छौं’, स्थायी समिति सदस्य मणि थापाले अन्नपूर्णसँग भने,

‘पार्टी एकताको प्राधिकार हस्ताक्षरकर्ता भएकाले पार्टी एकता सम्पन्न गर्नुपर्‍यो पहिले । त्यसपछि अरू विषय आउलान् भन्ने गरी अध्यक्षलाई सुझाव दिएका छौं ।’

मन्त्री रहेका वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेललगायत भने ‘बीच’मा रहेर बोलेका थिए । बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, जनार्दन शर्मा र लेखराज भट्ट भने अनुपस्थित रहे । भट्ट ओलीतिर ढल्किसकेका आधारमा निम्त्याइएका थिएनन् । थापाले आफू पूर्वनिर्धारित कार्यक्रममा रहेको जनाएका थिए । शर्माले भने ढाडको समस्याका कारण बैठकमा आउन नसकेको जनाए पनि महासचिव विष्णु पौडेल, शंकर पोखरेललगायत नेतासँगको छलफलमा रहेको एक नेताले बताए ।

स्थायी समितिमा पूर्वमाओवादी धारका दाहालसहित १८ नेता छन् । पार्टी एकताका क्रममा भागबन्डामा १९ जना रहे पनि एक जना अग्नि सापकोटा सभामुख भएपछि त्यो स्थान रिक्त छ । नेपालसँग समीकरण गर्न जोड दिने नेताले भने मुद्दा र विधिविधानका विषयमा नेपालसँग सहकार्यमा जोड गर्नुपर्ने बताएका थिए ।

नेताहरूको सुझाव सुनेपछि दाहालले भनेका थिए, ‘पूर्वएमालेका साथीहरूको वैचारिक कुरा एक ठाउँ छ । कतिपय मुद्दामा कहिले कोसँग सहकार्य हुन्छ त कहिले कोसँग हुन्छ । हिजो केपीसँग मिलेर पार्टी एकता गरियो, उहाँसँग स्थायी विरोध हैन । अहिले पार्टीभित्रका समस्या हल गर्दा माधव नेपालहरूसँग कुरा मिल्यो । उहाँहरूसँग पनि स्थायी गुटबन्दी, स्थायी समीकरण होइन । मुद्दामा छलफल हुन्छ, सहकार्य हुन्छ र हुनु पनि पर्छ ।’

दाहालले अब स्थायी समिति बैठक नियमितताका साथ अघि बढाउने, त्यसमा आफ्ना विषयमा प्रस्ट भएर धारणा राख्न भनेका थिए । एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्षले घटनाक्रमको ब्रिफिङ गर्नुभएको थियो, किन हामीले संघर्ष गर्नुपर्‍यो, त्यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ र त्यो कसरी भन्ने विषयमा केन्द्रित रहेर ब्रिफिङ गर्नुभएको हो ।’

दाहालले प्रधानमन्त्री ओलीकै कारण पार्टीमा समस्या देखा परेको भन्दै अब समस्या समाधानको जिम्मा पनि ओलीले नै लिनुपर्ने धारणा राखेको सहभागी एक नेताले बताए । ‘प्रधानमन्त्रीजीसँग मेरो सम्बन्ध एकता, संघर्ष र एकता नै हो । उहाँमा अहंकार देखियो । यसले पार्टीमा समस्या ल्यायो । मैले नै उहाँलाई पाँच वर्ष प्रधानमन्त्री बनाउन विगतको सहमति तोडेर निर्णय गरेको हो । तर, उहाँले विगतका कुनै पनि सहमति पालना गर्नु भएन । जसले पार्टीमा समस्या देखापर्‍यो’, दाहालको भनाइ थियो, ‘तर, फेरि पार्टी एकता टुंगोमा नपुगेका कारण पनि उहाँसँग नै मुख्य रूपमा एकता, संघर्ष र एकता गर्नुपर्ने अवस्था छ ।’

मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव प्रधानमन्त्रीले झारा टार्न, अहिलेको विषयलाई विषयान्तर गर्न ल्याएको उनको भनाइ थियो, ‘उहाँले महाधिवेशन गर्ने गरी प्रस्ताव ल्याएको होइन । यो उहाँकै पुरानै तुरूप हो । पहिले पनि एकपछि अर्को गर्दै विषय ल्याउने र भुलाउने गर्नुभएको छ । अहिले पनि महाधिवेशन प्रस्ताव ल्याएर भुलाउन खोज्नु भएको हो । पार्टी एकता नै पूरा भएको छैन । अनि महाधिवेशन हुन्छ भनेर कसरी विश्वास गर्ने ? ’, उनले प्रश्न गरे ।

उनले प्रधानमन्त्रीले परिस्थिति बुझेर एउटा पद छाडिदिनु उपयुक्त हुने धारणा राखेका थिए । ‘अब नियमित पार्टी बैठकको एजेन्डामा हामी छलफलमा सहभागी होऔं । अब त्यसरी जानुको विकल्प छैन । तपाईंहरूले एजेन्डामा राम्रोसँग छलफल गर्नुहोस् । प्रधानमन्त्रीले एउटा पदबाट राजीनामा दिए निकास निस्किन्छ । अब त्यो उहाँकै कोर्टमा बल छ’, दाहालले भने, ‘स्थायी समितिमा छलफलपछि कसरी जाने भन्नेमा हामी एउटा निष्कर्षमा पुग्नै पर्छ । स्थायी समितिमा निर्णय गर्ने कि स्थायी समितिले विकल्प दिएर केन्द्रीय समितिमा जाने निष्कर्ष निकाल्नै पर्छ ।’मंगलबार बोलाइएको स्थायी समिति बैठक भने अनिश्चित छ । दाहाल र नेपाल पक्षले अब बैठक एजेन्डा केन्द्रित बनाएर सुरु गर्नुपर्ने बताइरहे पनि ओली पक्षले यसमा ठोस प्रतिक्रिया दिएको छैन । उनीहरूले अझै संवाद र सहमतिमा दुई अध्यक्षबीच कुरा मिले मात्र बैठक बस्न नसक्ने प्रतिक्रिया दिएका छन् । ‘दुई अध्यक्षबीच सहमति भए बैठक बस्न सक्छ, नत्र फेरि बैठक सर्न सक्छ’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भने ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने अब बैठक नियमिततामा अगाडि बढ्ने बताए । ‘बैठक अब रोकिँदैन होला । नियमित बैठक हुन्छ’, उनले भने, ‘स्थायी समितिमा पेस भएका एजेन्डामा केन्द्रित रहेर छलफल सुरु हुन्छ ।

१० असारमा सुरु भएको बैठक १८ असारयता स्थगन हुँदै आएको छ । दुई अध्यक्षबीच हुने छलफलले बैठकको टुंगो लाग्ने बताइएको छ । स्थायी समिति सदस्य छविलाल विश्वकर्माले दुई अध्यक्ष सहमतिनजिक पुगेको भए बैठक बस्ने र अझै केही छलफलका विषय बाँकी रहेका भए फेरि रोकिन सक्ने बताए । ‘अनिश्चित नै छ भन्नुपर्ला, हेरौं अब बस्न पनि सक्छ, फेरि सर्न पनि सक्छ, नेता विश्वकर्माले भने ।

विकल्प के ?

नेकपा बैठकमा अब १६ असारमा जस्तो सिधै प्रधानमन्त्रीको राजीनामाका विषयमा भने छलफल हुने देखिँदैन । ओली, नेपाल र दाहाल तीनै पक्षको सोमबार बसेको आआफ्ना समूहका छलफलका आधारमा अब राजीनामामा प्रवेश गर्ने नदेखिएको हो । बैठकका एजेन्डामा छलफल हुने र त्यहाँ उठेका मतका आधारमा पार्टी एउटा निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् । नेकपाभित्र कोभिड रोकथाम र नियन्त्रण, पार्टी र सरकारको कामको समीक्षा, एमसीसीलगायत विषय छलफलका क्रममा छन् । सीमा समस्या र समाधानका विषयमा भने नेताहरूले आफ्ना धारणा करिब राखिसकेका छन् ।

‘पुरानै कुरा छन्, एजेन्डा र अडान कायमै छ । स्टेप कसरी मिलाउने भन्नेमा विभिन्न विकल्प छन् । एकैपटक स्थायी समितिले निर्णय लिएर केन्द्रीय समितिमा जाने कि स्थायी समितिले विकल्प दिएर केन्द्रीय समितिमा जाने भन्नेमा अझै छलफल बाकी छ’, प्रवक्ता श्रेष्ठले भने ।

स्रोतका अनुसार खुमलटार छलफलमा दाहालले पनि अब स्थायी समितिमा एजेन्डा केन्द्रित छलफल गरेपछि प्रधानमन्त्रीलाई नै निकास दिन आग्रह गरिने बताएका थिए । ‘विभिन्न विषयहरू उठेका छन् । अब उठेका विषयमा के गर्ने भन्ने बल प्रधानमन्त्रीकै कोर्टमा छोड्ने कुरा हुन्छ । उहाँले नै निकास दिनुपर्छ’, दाहालको भनाइ उद्धृत गर्दै अर्का एक स्थायी समिति सदस्यले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.