ओली-नेपाल कटुता

ओली-नेपाल कटुता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे।

पहिलो  : तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, फैसला गर्नुहोस्।

दोस्रो  : तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्।

वरिष्ठ नेता नेपालप्रति ओलीको आवेगात्मक असन्तुष्टि थियो यो। त्यसले नेकपामा ओलीको सम्बन्ध दाहालभन्दा नेपालसँग बढी तिक्ततापूर्ण देखाउँछ। ओली-नेपाल कटुता तत्कालीन एमालेको नवौं महाधिवेशनपछि उत्कर्षमा पुगेको हो। ओली र नेपाल २०७१ को नवौं महाधिवेशनमा छुट्टाछुट्टै प्यानल बनाएर भिडे। वामदेव गौतम खुलेरै ओलीका पक्षमा लागे। झलनाथ खनालले भने भित्रभित्रै नेपाललाई साथ दिए। महाधिवेशनको नतिजा ओलीले ४९ मतान्तरले आफ्नो पोल्टामा पारे। त्यसयता ओली-नेपाल सम्बन्ध सुमधुर बन्न सकेको छैन। त्यसअघि पनि यी दुई नेताबीच खटपट नभएको होइन। ६ वर्षयता भने यी दुई नेताको सम्बन्ध कहिले निकै पेचिलो अवस्थामा रह्यो त कहिले पानीको फोकामा परिणत हुँदै आयो। प्रधानमन्त्री ओलीले नेपालसँगको सम्बन्धलाई ‘पुरेत र जजमानको सम्बन्ध’का रूपमा अथ्र्याउने गरेका छन्।

‘पुरेत र जजमानको सम्बन्ध भनेको जजमानले जहिले पनि पुरेतलाई मानसम्मान, दानदक्षिणा दिन्छ। पुरेतले भने जजमानलाई कहिल्यै केही दिँदैन’, ओलीले भन्ने गरेका छन्, ‘मेरो र माधव नेपालको सम्बन्ध पुरेत र जजमानको जस्तो भयो। म जजमानजस्तो भएँ, उहाँचाहिँ पुरेतजस्तो हुनुभयो। मलाई उहाँले दिनुपर्छ भन्ने ठान्दिनँ। जुन दिन मान, सम्मान, सेवा नपुगेजस्तो हुन्छ त्यो दिन उहाँ आग्रह, रिसमा आइहाल्नुहुन्छ।’ ओली आफू पार्टी नेतृत्वमा आएदेखि नेपालले कहिल्यै साथ नदिएको महसुस गर्छन्। ओलीले संयमित भएर विधि र पद्धतिमा रही पार्टी चलाउनेभन्दा आफ्नो समूहको हित मात्र हेर्ने गरी काम गरेको भन्ने नेपाललाई लाग्छ। यही अविश्वास र असमझदारी बढ्दै जाँदा ओली-नेपाल सम्बन्ध दिनदिनै टाढिँदो छ।

एमाले-माओवादी एकतापछि नेकपामा त्रिपक्षीय शक्तिसंघर्ष छ। ओली, दाहाल र नेपालका आआफ्ना बलिया समूह छन्। दुई नेता मिल्दा अर्का किनारामा पर्छन्। अहिले ओली एकातिर र दाहाल-नेपाल अर्काेतिर देखिँदा पार्टी र सरकार सञ्चालनमा ओली अप्ठ्यारोमा परेका छन्। यही अप्ठ्यारो अवस्थामा ओलीले नेपालसँग सम्बन्ध बढाउन चाहे। तर, ओली र दाहाल मिल्दा आफूलाई पेलेको भन्दै ओलीभन्दा दाहालसँग नजिकिन पुगे नेपाल।

पातलो संवाद

प्रधानमन्त्री ओलीको अर्का अध्यक्ष दाहालसँग महिनामै झन्डै १५- २० पटक भेट हुन्छ। कहिले दाहाल ओली भेट्न बालुवाटार पुग्छन् त कहिले ओलीले नै बोलाएर छलफल गर्छन्। पछिल्लो पार्टी विवादमा पनि ओली र दाहालले १५ दिनमा झन्डै ११ पटक बालुवाटारमा घण्टौं छलफल गरेका छन्।

तर, नेपालसँग ओलीको यस्तो भेट ठप्पप्राय : छ। नेपालनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले एक त भेट्नै बोलाउनुहुन्न, उहाँ (माधव नेपाल) पनि नबोलाइकन किन जाने भन्नेमा हुनुहुन्छ। भेटघाट नगन्य अवस्थामै छ। औपचारिक पार्टी काम, मिटिङहरूबाहेक मुस्किलले वर्षमा ५ पटक भेट हुन पनि गाह्रो छ।’ ओली उपचारका लागि ५ भदौ २०७६ मा सिंगापुर जाँदै थिए। त्यही बिहान बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो। स्वास्थ्यलाभका विषयमा ओली र नेपालबीच चर्काचर्की पर्‍यो। ‘तपाईंले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ ? तपाईंको चाहना मैले बुझेकै छु। कहाँकहाँ के भन्दै हिँड्नुभएको छ। लौ भैगो, तपाईंको शुभकामना चाहिएन मलाई’, उक्त दिनको चर्काचर्कीमा ओलीले नेपालको स्वास्थ्यलाभको शुभकामनासमेत लिन अस्वीकार गरे। त्यसयता दुई नेताको सम्बन्ध औपचारिकतामा मात्रै सीमित हुन थाल्यो।

पार्टी एकताका काममा प्रदेश पदाधिकारी चयन गर्दा असहमति राखेपछि नेपाललाई बालुवाटार बन्दजस्तै हुन पुग्यो। त्यसअघि नेपालले संसद्मा दिएको एउटा अभिव्यक्तिले पनि ओलीको मन कुँडिएको थियो। त्यसबेला ओली भर्खरै मात्र दोस्रो पटक सरकारको नेतृत्वमा आएका थिए।

नेपालले संसद्लाई सम्बोधन गर्दै भने, ‘देशमा दण्डहीनता र अराजकता बढिरहेको छ। अझै पनि देश डुब्न दिने हो भने हामी सबै डुब्छौं। कोही पनि बच्दैनौ। त्यसैले पनि देशले एउटा गीतमा भनेजस्तै म देशमा एउटा मानिस खोजिरहेछु भन्ने अवस्था आइरहेको छ।’

आफ्नै पार्टीका नेता नेपालले संसद्मा गरेको यस्तो टिप्पणीले ओलीलाई नमीठो लाग्यो। त्यसमाथि नेपालले एकताका काममा प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष चयनमा मापदण्ड लागू गर्नुपर्ने, कार्यदल गठनदेखि एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषय पार्टीभित्र उठाउन थाले। ओलीले कतिपय अवस्थामा ओली र दाहालले गरेका निर्णयमा फरक मतसमेत राखे। त्यसपछि भने ओलीले एकताका क्रममा नेपाललाई अर्का नेता झलनाथ खनालभन्दा वरीयतामा माथि ल्याइएको पुरानो निर्णय उल्टाइदिए। त्यसपछि त न ओलीले नेपाललाई बालुवाटार बोलाएर छलफल गर्न थाले न त नेपाल नै बालुवाटार पुगे।

‘त्यसयता हिसाबै गर्दा पनि झन्डै अहिलेसम्म एक वर्षको बीचमा आधा दर्जन जति मात्र एक्लाएक्लै छलफल भएको होला। नत्र त्यसरी छलफल हुनै पाएको छैन’, नेपालनिकट ती स्थायी समिति सदस्य भन्छन्। ५ भदौको चर्काचर्कीपछि त ओली-नेपाल संवाद एकैचोटि साढे तीन महिनापछि २०७६ कात्तिक २६ मा भएको थियो। ओलीले त्यसबेला पनि नेपाललाई बारम्बार फोन गरेर बोलाएपछि मात्र भेट सम्भव भएको थियो। ओलीले बोलाउँदासम्म पनि नेपाल गएका थिएनन्। प्रधानमन्त्रीले बोलाइसकेपछि भेटघाटमा जान आफूनिकट नेताले आग्रह गरेपछि भने नेपाल बालुवाटार गएका थिए। त्यसबेला ओलीले बढ्दो तिक्तता हटाउने र हार्दिकता बढाउने, पार्टी कार्यालय पुनर्निर्माणको जिम्मा दिने, कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमामा देखिएको समस्या समाधान गर्न ‘विशेष दूत’का रूपमा भारत पठाउनेजस्ता प्रस्ताव नेपालसामु राखेका थिए।

लन्चसहित चार घण्टा छलफल गरेका नेपाल भोलिपल्टै फेरि बालुवाटार पुगेर ओलीको प्रस्तावमा काम गर्न आफू तयार रहेको जवाफ दिएर फर्केका थिए। प्रधानमन्त्रीकै प्रस्तावमा विशेष दूत बनेर भारत जाने भएपछि उनले केही तयारी पनि गरे। विज्ञहरूसँग छलफल, प्रमाण तथ्य संकलनसम्मका काम गरे। तर त्यो फेरि त्यत्तिकै सेलायो। त्यसपछि फेरि ओली-नेपाल भेटघाट पातलियो।

ओलीले मुलुक लकडाउनमा रहेका बेला दल विभाजनसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार संशोधन गर्न अध्यादेश वैशाख ८ मा ल्याए। पार्टीभित्र त्यसप्रति चर्काे असन्तुष्टि देखियो। नेपाल र दाहाल पक्षका २० स्थायी समिति सदस्यले पार्टी बैठक बोलाउन माग गर्दै दुवै अध्यक्षलाई निवेदन दिए। नेपालको ओलीसँगको टाढिँदो सम्बन्धसँगै दाहालतर्फ हिमचिम बाक्लिँदो थियो। नेताहरूले १७ वैशाखमा सचिवालय बैठकमा ओलीको राजीनामा माग गरे। त्यसपछि भने फेरि नेपालको खोजी भयो बालुवाटारबाट। त्यसको भोलिपल्ट नेपाललाई ओलीले बालुवाटार बोलाए। १८ वैशाखमा ओलीसँगको संवादमा रहेका नेपाल त्यसबेला कहिले खुमलटार कहिले बालुवाटार ओहोरदोहोरमा रहे।

वैशाख २० गतेको सचिवालय बैठकमा ओली-दाहाल कमजोरी स्वीकार गर्ने प्रस्तावसहित जब बैठकमा आए, नेपालले दुई नेताको चोचोमोचो मिलाएर मात्र नहुने भन्दै पार्टीभित्रको विधि पद्धति र एक व्यक्ति एक मुख्य जिम्मेवारीको प्रश्न उठाइरहे। ओली-दाहाल जस्तो विवाद देखिए पनि नेकपाभित्रको विवाद फेरि पछि सर्‍यो।

स्थायी समिति बैठक बोलाउने÷नबोलाउनेमै रस्साकस्सी चल्न थाल्यो। फेरि नेपाल-ओली संवाद टुट्यो। १० असारमा स्थायी समिति बैठक सुरु हुनुअघि बालुवाटारमै ओली, दाहाल र नेपालबीच संक्षिप्त कुराकानीबाहेक बीचमा फेरि संवाद थिएन।

नेकपाभित्र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन असफल भएको भन्दै राजीनामा मागियो। १८ असारदेखि ओली- दाहाल निरन्तर सहमति जुटाउने कोसिसमा वार्तामा बसे। दाहालले नेपाललाई पनि सहमतिमा ल्याउन र वार्तामा राख्न ओलीसँग आग्रह गरिरहे। तर, ओलीले अनिच्छा देखाइरहे। अन्तत : दाहालकै जोडबलमा साउन १ गते भने दाहालको प्रस्तावमा तीन नेताबीच बालुवाटारमा छलफल भयो। त्यसयता भने फेरि ओली-नेपाल संवादहीनता छ। ओलीनिकट नेता ओली-नेपाल मिल्नुपर्ने प्रस्ताव लिएर नेपाल निवास कोटेश्वर कयौंपटक पुगेका छन्। तर दुई नेताकै बीचमा भने मन माझामाझ भएर छलफल हुन नसकेको नेपालको सचिवालयले बताएको छ।

पुरानो ईख

ओली र नेपालको सम्बन्ध पुरानो छ। २०२९ सालदेखि नै नेपाल र ओली एकअर्कासँग चिनापर्चीमा थिए। त्यसयता उनीहरू एकै पार्टीमा रहेर उतारचढावको राजनीति गर्दै आइरहेका छन्। बेलाबेला हुने ठाकठुकलाई एक प्रसंगमा नेपालले श्रीमान्- श्रीमतीको झगडाका रूपमा लिनुपर्ने बताएका थिए। तर यो झगडा बल्झाउन कतिपय इगो र पुरानो ईखले पनि मलजल गरेको नेताहरूको टिप्पणी छ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ मा नेपालले संसद्मा गरेको सम्बोधनको ईख ओलीमा अझै पनि देखिन्छ। ‘त्यतिबेला गठबन्धनका साथीहरूले धोका दिए। धोकाधडीको समझदारी हुँदै अगाडि बढेको छ नि राजनीति। त्यतिबेला अविश्वासको प्रस्ताव राख्ने कांग्रेसका नेताहरूले त्यति विधि भनेनन् होला। तर आफ्नै अध्यक्षले नेतृत्वको गरेको सरकारविरुद्ध पार्टीका वरिष्ठ नेताहरूले धुवाँदार विरोध गर्नुभयो। त्यसबेला माधव कमरेडले के बोल्नुभयो ? झलनाथ कमरेडले के भन्नुभयो ? यो पृष्ठभूमिमा मन संग्लो पारेर ओलीले उहाहरूसँग सहमति गर्ने ठाउ“ नै राखिदिनु भएन’, ओली निकट स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नपूर्णसँग भने, ‘त्यसपछि चुनाव भयो। फेरि ओली प्रधानमन्त्री बन्ने स्थिति आयो। अहिले फेरि पार्टीका नेताहरूको गतिविधि हेरौं न हामीले नाटक हेर्न अन्त जानै पर्दैन। संसद्मा हेरे पुग्छ। प्रमुख विपक्षी कांग्रेस एजेन्डाविहीन छ। सरकारको विरोध गर्ने वैचारिक र राजनीतिक मुद्दा कांग्रेसले पाएको छैन। तर सरकारको धुवाँदार विरोध गर्ने को छ ? पार्टीकै ओलीइतर गुटका नेताहरू होइनन् ? ’

सरकारलाई पार्टीबाट सहयोग नभएको बुझाइ ओलीमा देखिन्छ। तर, फेरि नेपाल-दाहाललगायत नेता ओलीले पार्टी र सरकार स्वेच्छाचारी ढंगले चलाएको, सर्वसत्तावाद लागू गर्न खोजेका कारण समस्या आएको बताउँदै आइरहेका छन्।

ओली-नेपाल सम्बन्ध खटपटमा यति मात्र कारण छैन। २०५६ को संसदीय चुनाव र तत्कालीन एमालेभित्रको सातौं महाधिवेशनका बेलादेखिको सम्बन्ध केलाउनुपर्ने कतिपय नेकपा नेताको मत देखिन्छ। त्यही बेलादेखि दुई नेताबीच अन्तरविरोध देखा परेको थियो। त्यसबेला ओली पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न खोजेका थिए। तर, नेपालले दिएनन्। त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेको नेताहरूको बुझाइ छ।

नेपालनिकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडा भने आठौं महाधिवेशनमा ओली झलनाथ खनालसँग चुनावमा पराजित भएपछि नेपालसँग सम्बन्ध बिग्रन थालेको बताउँछन्। ‘अरू सम्बन्धमा केही समस्या थिएन। केपी र झलनाथ जब महाधिवेशनमा चुनाव लडे, झलनाथ चुनाव जिते, केपी हारे। त्यो बेला केपीको पक्षमा माधव नेपाल थिए। तर उहाँ (ओली) को आरोप छ माधव नेपालले मेरो पक्षमा राम्रोसँग भूमिका खेलिदिएनन्। त्यस बेलादेखि अलि देखिने गरी सम्बन्ध खटपट सुरु भएको देखिन्छ’, खतिवडा भन्छन्।

ओली अन्य नेताका तुलनामा अलिक ईखालु स्वभावका पनि छन्। जसले गर्दा विगतमा भएका सानातिना खटपटका कारण पनि बेलाबेला अहिले पनि विवाद बल्झिने गरेको अनुभव पनि नेकपा नेतासँग देखिन्छ।

स्वभाव नै फरक

ओली र नेपालको स्वभाव, आनीबानी र शैली फरक छ। विपन्न पृष्ठभूमिबाट राज्यको कार्यकारी निकायको सर्वाेच्च पदमा पुगेका व्यक्ति हुन् ओली। तर ओलीभन्दा अलिक फरक पृष्ठभूमि छ नेपालको। ओली २०२८ को ‘वर्ग शत्रु सफाया क्रान्ति’का नामले चिनिएको झापा आन्दोलनका प्रमुखमध्ये एक नेता थिए। त्यही वर्ष उनी जेल परे र २०२८ देखि २०४४ सालसम्म १४ वर्ष जेलमा बिताए। नेपाल सुरुमा माले मोरङमा आबद्धता जनाउँदै झापा आन्दोलन समूहसँग मिसिएर पार्टीमा स्थापित हुन पुगेका थिए। ओलीको जस्तो लामो जेल अनुभव त नेपालसँग छैन। तर उनले पनि २०३२ मा राजकाज मुद्दामा दुई वर्ष जेलमा बिताएका थिए।

ओलीमा वाकपटुता छ। उनी आफ्नो विचार र अडानमा स्पष्ट छन्। तर नेपालमा ओलीजस्तो वाकपटुताको खुबी छैन। एकै रस र लयका भाषण मात्र गर्छन् नेपाल। नेपालले आफूलाई समन्वयकारी नेताको रूपमा चिनाएका छन्। सबैसँग मिलेर जान सक्ने क्षमता राख्छन्। तर, ओली अन्तरमुखी स्वभावका छन्। त्यही कारण ओलीमा मनोगतवादी प्रवृत्ति देखिन्छ। लचकताभन्दा ढृढतामा जोड दिन्छन्। त्यही कारण पार्टीका बहुमत नेताहरूले राजीनामा माग गर्दा पनि उनी टसमस भएका छैनन्।

‘स्वभावमै भिन्नता भएपछि मान्छेले गरेको कुरा मिल्दैन। वस्तुवादी भए विधिले मिलाउँछ। हिजो विधि कार्यान्वयन गर्ने माधव नेपालको हातमा थियो। केपी ओली माग गर्नेमा थिए। टसल हुँदाहुँदै पनि सन्तुलन नै थियो’, नेपालनिकट नेता खतिवडा भन्छन्, ‘अहिले विधि पनि ओलीकै हातमा, निर्णयकर्ता पनि ओली, माधव नेपालको हातमा केही पनि भएन। जसले पनि अन्तरविरोध चुलिएको छ।’

नेकपाभित्रको वैचारिक राजनीतिक विषयका मुद्दामा भने यी दुवै नेता एकै ठाउँमा देखिन्छन्। संगठनात्मक र कार्यशैलीगत विषयमा परेको अन्तरसंघर्षले वल्लो र पल्लो छेउमा ओली र नेपाललाई पुर्‍याए पनि जनताको बहुदलीय जनवाद (जबज)को विषयमा उनीहरूको समान धारणा देखिन्छ। यही समानताका बीचबाट ओली र नेपालको मिलनबिन्दुको खोजीमा पनि ओली र नेपालनिकट केही नेता प्रयासरत देखिन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.