गिनिजपछि ३२ विश्व रेकर्डको तयारी

गिनिजपछि ३२ विश्व रेकर्डको तयारी

काठमाडौं : गीत लेखेरै १५औं रेकर्डका रूपमा गिनिज बुक अफ अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएपछि गीतकार डा. डीआर उपाध्याय एकै दिन १७ नयाँ विश्व कीर्तिमानको तयारीमा जुटेका छन्। मेहनत र धैर्य भयो भने कुनै पनि विषयमा सफलता प्राप्त पर्छ सकिन्छ भन्ने प्रमाणित गरेका डीआरले आगामी साउन २५ गते आधिकारिक रूपमा थप १७ विश्व कीर्तिमान आफ्नो पोल्टामा पार्नेछन्। यसका लागि लगभग तयारी पूरा भइसकेको छ।

गीत लेखनमा विभिन्न नयाँ प्रयोग गरेर रेकर्ड गराएका डीआरले एकै दिन १२ भाषामा रेकर्ड गराएका गीत सार्वजनिक गरेर गिनिज बुकमा आफ्नो र देशको नाम लेखाएका हुन्। उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

उनले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हुन्। गीतमा सन्तोष श्रेष्ठको संगीत छ। यो गीत सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डीआरले गाएका हुन्। मायाको सागर गीतलाई नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ।

देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएकाले यसैलाई माध्यम बनाएर मेहनत गरिरहेको गीतकार डीआरले बताए। डीआरका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दूर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्बमका सयौं गीत सार्वजनिक छन्।

उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता १० उपन्यास पाठकमाझ आइसकेका छन्। वल्र्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट १४ वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्।

डीआरले १६ महिनामा १८ गीति एल्बम श्रोतामाझ ल्याएका छन्। एकै दिन साता, सातवटा गरेर दुई पटक एल्बम विमोचन गरेका उनले दुवै इभेन्टका लागि विश्व कीर्तिमान कायम गरेका थिए। २०७५ देखि अहिलेसम्ममा उनले आफ्ना यी कृति सार्वजनिक गरेका हुन्।

मायाप्रीतिका कथाभन्दा पनि सामाजिक सम्बन्ध उजागर गर्दै गीत लेख्ने उनको शैली छ। बाबुछोरी, नन्दभाउजू, पतिपत्नी बीचको सम्बन्धदेखि चाडपर्व, पर्यटन र समाजसँग सम्बन्धित गीत र उपन्यास छन्। १७ नयाँ कीर्तिमानबारे उनले भने, ‘यसका लागि मैले धेरै इमानदार भएर मेहनत गरेको छु। सामान्य रूपमा सोचिने भन्दा फरक शैलीले काम गर्ने मेरो बानीले नै मलाई यो सफलता दिएको हो।’ दुई सय ८० हरफको एउटा गीत लेख्न मात्रै लगातार २१ दिन मेहनत गरेको उनले बताए। ‘यहाँ देशलाई चिनाउन धेरैले धेरै मेहनत गर्नुभएको छ तर उहाँहरूलाई हामीले प्रचार गर्न सकेका छैनौं। मैले तिनै रेकर्डधारीको सम्मानमा काम गरेर आफ्नै लागि रेकर्ड कायम गरेको छु’, उनले आफ्नो काम गर्ने शैली बताए। सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्ने सम्पूर्णको नाम समावेश गरेर गीत तयार गरेको पनि उनले बताए। यस्तै अहिलेसम्म हुलाक टिकटमा समावेश भएका सबै व्यक्तिको नाम समेटेर गीत तयार भएको छ भने कुनै गीतमा गीतका प्रत्येक अक्षरमा फरक फरक गायकगायिकाले गाएका छन्। संगीत पनि त्यस्तै छ। यी गीत तयार गर्न साहित्यको ज्ञानले मात्रै नपुग्ने र धेरै अनुसन्धान आवश्यक पर्ने उनको भनाइ छ।

‘धेरैवटा रेकर्ड पाइसकेपछि गिनिजका लागि पनि किन प्रयास नगर्ने भन्ने लागेर एप्लाई गरेको थिएँ, प्राप्त भयो। यो मेरो मेहनतको फल हो। मैले जति सम्पत्ति कमाए पनि मरेर गएपछि सबै नामसारी हुन्छ तर मैले देश र समाजका लागि गरेको यो काम त मेरो आफ्नै नाममा रहिरहन्छ, सदाका लागि। यही नै सन्तुष्टि हो’, उनले भने। उनले आगामी सबै कीर्तिमानबारे भने खुलाउन चाहेनन्। ‘धेरै दिन बाँकी छैन। सबै सर्टिफिकेट आइरहेका छन्। आधिकारिक रूपमै सार्वजनिक हुनेछ’, उनले भने।

महिलाको स्वभाव र सम्बन्धमाथि नै विद्यावारिधि गरेका डीआर समाजमा शिक्षाको विकास भए पनि यसको उद्देश्य भौतिक उपलब्धि धन, यश, आर्जन गर्नेतर्फ केन्द्रित भएकाले विकृति विसंगति बढ्दै गएको बताउँछन्। पारिवारिक सम्बन्धमा गीत लेख्ने उनी अधिकांश सासूबुहारीबीच हुने नकरात्मक भावनाको कारण देखासिखी, चुक्ली, परम्परागत कथन सबै सोचले बढी प्रभाव पारेको अनुभव गर्छन्।

अर्को एक प्रसंगमा उनले भने, ‘साहित्य तथा संगीत एकअर्काका परिपूरक हुन्। एकअर्काको अभावमा दुवै अधुरा वा निरस हुन्छन्। दुवैमध्ये कुनै एकसँग एकाकार हुँदा स्वतः अर्काको अप्रत्यक्ष उपस्थिति महसुस हुन्छ।’ साहित्य र संगीतले शरीरमा हार्मोनको सन्तुलन कायम राख्न मद्दत गर्ने उनको बुझाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.