अमेरिकामा चिनियाँ गुप्तचर पक्राउ

अमेरिकामा चिनियाँ गुप्तचर पक्राउ

वासिङ्टन : अमेरिकामा चिनियाँ गुप्तचरका रूपमा काम गरेको आरोपमा सिंगापुरका एक नागरिकलाई दोषी ठहर गरिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार जुन वेई येओ नाम गरेका सिंगापुरका ती नागरिकले अमेरिकामा एउटा राजनीतिक कन्सलटेन्सी चलाइरहेका थिए। यसैका माध्यमबाट उनले चीनको गुप्तचर एजेन्सीका लागि जानकारी जुटाउँदै आएका थिए।

अमेरिकी न्याय विभागका अनुसार जुन वेई येओको अर्को नाम डिक्सन येओ हो। सन् २०१५ देखि २०१९ सम्म चिनियाँ सरकारको एक गैरकानुनी एजेन्टका रूपमा काम गरिरहेको आरोपमा उनलाई शुक्रबार एक संघीय अदालतमा दोषी ठहर्‍याइएको थियो। देशमा राजनीतिक कन्सल्टेन्सी चलाउँदै महत्वपूर्ण र गैरसार्वजनिक जानकारी जुटाएर चिनियाँ इन्टेलिजेन्सलाई दिइरहेको आरोप उनीमाथि लागेको थियो। उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो।

त्यसैगरी एक चिनियाँ अनुसन्धानकर्तालाई पनि हिरासतमा लिइएको छ। चिनियाँ सेनासँगको आफ्नो सम्बन्ध लुकाएको आरोप उनीमाथि लागेको छ। ती अनुसन्धानकर्ताको नाम जुआन ट्यांग हो। ३७ वर्षीय यी अनुसन्धानकर्ता पक्राउ परेका अन्य चार चिनियाँ नागरिकमध्येका हुन्। उनीहरूलाई साताको सुरुमै पक्राउ गरिएको हो।

अमेरिकाको सन फ्रान्सिस्कोस्थित चिनियाँ दूतावासमाथि जुआनलाई शरण दिएको आरोप लागेको छ। त्यसपछि पक्राउ परेका अन्य चिनियाँका साथमा उनलाई क्यालिफोर्नियाको हिरासतमा सारियो। अमेरिकी गुप्तचर संस्था एफबीआईले उनी सैनिक पोसाकमा रहेको तस्बिर फेला पारेको थियो। साथै केही महŒवपूर्ण लेख पनि भेटेको थियो। यिनै प्रमाणले उनी सेनासँग जोडिएको पुष्टि गथ्र्यो।

केही दिनअगाडि संयुक्त राज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएपछि दुई देशबीचको तनाव झन् बढेको थियो। अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीनले बौद्धिक सम्पदा चोरेको आरोप लगाउँदै दूतावास बन्द गराउनु परेको बताएका थिए। चिनियाँ कूटनीतिज्ञहरूलाई ह्युस्टन छाड्न ७२ घण्टाको समय दिइएको थियो जुन शुक्रबार साँझ ४ बजे सकिएको थियो।

चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धमा थप हानि पुर्‍याउने भन्दै विरोध गरेको थियो। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्य दूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता लिन चीनले अमेरिकासमक्ष आग्रह गरेको बताएका थिए। उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका थिए। चीनले पनि जवाफी कारबाहीस्वरूप छेङ्दुस्थित अमेरिकाको महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ। पछिल्लो समय अर्धस्वायत्त हङकङका सन्दर्भमा पारित विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तीव्र असन्तोष व्यक्त गरेको छ। त्यसैगरी कोरोना भाइरस, व्यापार लगायतका विषयमा ट्रम्प प्रशासन र चीनबीच तनाव बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.