बाघको दीगो संरक्षणमा चुनौती

बाघको दीगो संरक्षणमा चुनौती

गुलरिया : विश्वभर बाघ दिवस मनाइरहँदा लोपोन्मुख अवस्थामा पुगेका पाटेबाघको दीगो संरक्षणमा चुनौती थपिँदै गएको छ। मानव–बाघबीचको बढ्दो द्वन्द, यसको आहारा तथा बासस्थानमा कमी, चोरी शिकारीको थ्रेट लगायतका कारणले पछिल्लो समय नेपालमा बाघको दीगो संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

जैविक विविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघ नेपालमा उल्लेख्य रुपमा बढ्दो क्रममा छ। सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको बाघ पाइने देशहरुको सम्मेलनमा विश्वमा लोप हुने अवस्थामा पुगेकाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे। नेपालले समेत प्रतिबद्धता गरे अनुरुप बाघ संरक्षणमा चासो दिएको छ। सन् २०१८ को नतिजा अनुसार चितवन ९३, बर्दिया ८७, बाँके २१, पर्सा १८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गरी नेपालमा २ सय ३५ वटा पाटेबाघ छन्।

बाघको संख्या बढेसँगै यसको दीगो संरक्षणमा चुनौती थपिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। मानवसँगको बढ्दो द्वन्द, साँघुरिएको बासस्थान र आहारा अभाव लगायत चोरी सिकारीको थ्रेट पछिल्लो समय बाघ संरक्षणमा प्रमुख चुनौतीका रुपमा देखिएको छ। बाघको संख्यात्मक बृद्धि भएसँगै मध्यवर्ती लगायत वनक्षेत्रहरुमा हिँडडुल बढेको पाइन्छ। उनले भने, 'मध्यवर्ती क्षेत्रको विकास निर्माण लगायत वनक्षेत्र अतिक्रमणका कारण बाघको नयाँ बासस्थानमा समस्या आएको हो। घाँसेमैदानहरु घट्न गई आहारा प्रजातीको बृद्धिदर घटेको छ।'

'बाघको बासस्थान चरम रुपमा अतिक्रमण भइरहेको छ।' बरालले थपे, 'निकुञ्जहरुमा मात्र बासस्थान नपुगेर बाघहरु मध्यवर्ती क्षेत्रका सामुदायिक र सरकारी वनहरुमा समेत बस्न थालेका छन्। यस्तो अवस्थामा उनीहरुलाई आहारा प्रजाती र सुरक्षित वासस्थानको ब्यवस्थापन गर्नु जरुरी छ। निकुञ्जमा मात्र घाँसेमैदान, पोखरी लगायत वासस्थान बनाएर अपुग हुनसक्छ। त्यसैले सामुदायिक लगायत सरकारी वनक्षेत्रहरुमा समेत बन्यजन्तुको लागि उचित व्यवस्थापन गर्नु आवश्यक देखिन्छ।'

बासस्थान, आहारा प्रजातीको घनत्व, चोरी शिकार बाघ संरक्षणको प्रमुख चुनौतीको रुपमा देखा परेको छ। बाघको संख्या बढेसँगै आहारा अभावमा जंगलबाट बाहिरिने क्रमले मानव—वन्यजन्तुबीच द्वन्दको स्थिति श्रृजना भएको छ।निकुञ्जले बाघ संरक्षणका लागि घाँसेमैदान, पोखरी, वासस्थान लगायत आहारा प्रजाती बृद्धिका लागि वर्षेनी कामगर्दै आइरहेको उनले प्रष्ट्याए। बरालका अनुसार समुदायमा बाघसँगको द्वन्द न्युनीकरणका लागि सचेतना लगायत समुदाय स्तरमा अन्तरक्रिया गरिएको छ।

बाघ–मानवबीच द्वन्द 

बाघको प्राकृतिक बासस्थान बाँके–बर्दिया कम्प्लेक्समा दुई वर्षको अवधिमा बाघको आक्रमणमा परी ९ जनाको मृत्यु भयो २ जना घाइते भए। बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ४२ वर्षीय मंगरु थारु, गेरुवा गाउँपालिका - ४ दंगपुरकी ५६ वर्षीया रामकली शाही, ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँका ७० वर्षीय पहरीया थारु तथा बाँसगढी नगरपालिका राँझा निवासी एक महिलाले बाघको आक्रमणमा परी ज्यान गुमाए। बाघको संख्या बढ्दा धनजनको क्षतिमा समेत बृद्धि भएको छ।

बर्दिया–बाँके कम्प्लेक्समा सोही अवधिमा ७ वटा पाटेबाघ मरेको राष्ट्रिय प्रकृति कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरिया बताउँछन्। सन् २०१८ देखि हालसम्म बर्दियामा १ र बाँकेमा २ वटा बाघ सिकारीबाट मारिएका छन्। उनले भने, 'बर्दियाको पाताभारमा विद्युतीय धरापमा पारी बाघ मारिएको छ। राजमार्गस्थित सडक दुर्घटनामा दुईवटा बाघ मरे। मान्छे खाने बुढो बाघ निकुञ्जले नियन्त्रणमा लिएपछि मरेको छ।'

'बाघको दीगो संरक्षणमा ध्यान नदिईए तत्काल गरिएका संरक्षणको कुनै अर्थ रहदैन।' अधिकृत कडरियाले थपे, 'मानव बाघ विचको द्वन्द, आहारा र वासस्थानको समस्या लगायत शिकारीको थ्रेट नै दीगो बाघ संरक्षणका बाधक हुन्। '

मानव र बाघबीचको सहअस्तित्व बढाउन बाघको आनीबानीका बारेमा समुदायलाई सचेत पार्नु जरुरी भइसकेको छ। समुदायमा युवाहरुको परिचालनमा बृद्धि गर्दै बाघको आहारा, बासस्थान प्रभावकारी बनाउन सक्नुपर्छ। समुदायका पशुहरु सुरक्षित राख्न खोरहरु वितरणको दायरा बृद्धि गर्नुपर्ने उनको भनाई छ। बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा निकुञ्जवर्ती राजमार्गहरुमा क्यामेरा ट्रयापि® प्रविधि मार्फत बाघको अनुगमन गरेको छ। राजमार्गमा जडान गरिएका स्वचालित क्यामेराहरुमा ६ वटा पाटे बाघहरुको तस्बिर कैद भएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत राखिएका १० वटै क्यामरामा बाघ परेको कडरिया बताउँछन्। 

पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारी दुर्घटनाबाट बाघ मर्नेक्रम बढेसँगै बाघको अनुसन्धान सुरु गरिएको हो। बााघका प्रजातीहरु पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन्। बासस्थान विनास, आहाराको कमि लगायत बढ्दो चोरी सिकारका कारण बाघका उपप्रजातीहरु लोप हुने अवस्थामा पुगेका हुन्। विश्वमा पाइने बाघका ९ उपप्रजातीमध्ये ३ प्रजाती लोप भइसकेका छन्। पछिल्लो समय अर्को प्रजातीसमेत प्राकृतिक वासस्थानबाट हराइसकेपछि चिडियाखानामा राखेर वैज्ञानिकहरुले प्रजनन् सुरु गरेका छन्। 

विश्वमा पाटेबाघका ५ वटा उपप्रजातीहरु मात्र बाँचेका छन्। सन् १९४० को दशकमा बाली, १९७० को दशकमा क्यास्पिएन र १९८० को दशकमा जाभान उपप्रजातीका बाघ संसारबाटै लोप भइसकेका छन्। साउथ चाइना बाघ प्राकृतिक बासस्थानबाट लोपहुने अवस्थामा पुगेपछि चीनका चिडियाखानाहरुमा राखेर प्रजनन् कार्य सुरु गरिएको छ। यसको संख्या ६५ वटा छ। दक्षिण पश्चिम चीन, थाईल्याण्ड, लाओस्, भियतनाम, कम्बोडियामा पाइने इन्डोचाईनिज बाघको अवस्था पनि नाजुक छ। यसको संख्या २ सय ३ वटा छन्। मलेसियाको दक्षिण र केन्द्रिय प्रायद्विपमा मात्र पाइने मलायन बाघ २ सय ५० को हाराहारीमा छ। रसियाको पूर्वी भुभाग चीनको उत्तरकोरियासँग जोडिएको सिमावर्ती क्षेत्रमा सिमित रहेका साइबेरियन बाघ ४ सय ३३ वटा छन्। इण्डोनेसियाको सुमात्रा टापुमा मात्र पाइने सुमात्रान बाघ ३ सय ७१ वटा रहेको अनुमान छ। कडरिया भन्छन् विश्वमा पाटेबाघको संख्या ५ हजारको हाराहारीमा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.