युट्युबमा खुम्चिएको गाईजात्रा

युट्युबमा खुम्चिएको गाईजात्रा

काठमाडौं : आगामी मंगलबार गाईजात्रा दिवस छ। अरू वर्ष भए गाईजात्राको दुई साता पहिल्यै नेपाल प्रज्ञा प्रतिष्ठान अनि राष्ट्रिय नाचघरका हलमा टिकट काटेरै गाईजात्राको सो हेर्नेहरूको लर्को हुन्थ्यो। तर यस वर्ष कोरोना महामारीले लकडाउनका कारण गाईजात्रा युट्युबमा सीमित भएको छ।

गाईजात्रा नजिकिँदै गर्दा हास्यव्यंग्यले भरिएका भिडियो सार्वजनिक भइरहेका छन्। यस्तैमा उत्सव केसी र दमन रूपाखेतीको गाईजात्रे झटारो ‘वार कि पार’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक झटारोमा राजनेताहरूलाई गाली गरी सुनिदिने मौका दिएको, अबको जिम्मेवारी युवाहरूलाई दिन सुझावलगायतका विषय समेटिएको छ।

भिडियोमा लय संग्रौला, दमन रूपाखेती, लक्ष्मीनाथ तिमिल्सिना, सुशीला निरौला (बिम्ली), घनश्याम गौतम, सुरेश तिमिल्सिना, शोभा भण्डारी, विजय तिमिल्सिनालगायतका कलाकारको अभिनय छ।

गाईजात्राको अवसरमा कमल गाउँलेले विगत दुई दशकदखि नियमित गाईजात्रे क्यासेट कोसेली ल्याउने गरेका छन्। कोरोना महामारीकोे लकडाउन खुकुलो भएपछि उनले एक सातापहिले यस वर्षको गाईजात्रे कोसेली ‘के के हुने हो’ शीर्षकमा युट्युबमा अपलोड गरेका छन्। साता दिनमै करिब साढे तीन लाख लाइक पाएपछि उनी भन्छन्, ‘ श्रोताहरूलाई देशको विकृति, विसंगतिबारे निकै चासो हुने रहेछ भन्ने लागेको छ।’

टाउकोमा ह्याट, जिउमा नेहरू कोट लगाएर साइकलमा माइक अनि नेपालको झन्डा बाँधेर हुइँक्याउँदै कमलले गाईजात्रा भट्ट्याएका छन्। २३ मिनेटको उनको प्रस्तुतिमा राजनीतिदेखि कला क्षेत्रको महानायक विवाददेखि भुवन–साम्राज्ञीको विवादसमेत समेटिएका छन्। बीचबीचमा प्यारोडी पनि पस्किएको उनको एउटा गीत छ, ‘लकडाउनले बनायो मेरो स्वास्नी मोटाउने, के गरेर होला यसको भुँडी घटाउने ? ’

युवराज भण्डारी राजेन्द्र नेपालीको लेखन निर्देशनमा ‘घुँडैसिती’ गाईजात्रा युट्युबमा अपलोड छ। भण्डारी सुरुवाल कुर्ता, चुरा लगाएर, चुल्ठो बाटेर महिला पोसाकमा गाईजात्रा भट्ट्याउँदै हँसाउने प्रयास गरेका छन्।

जोगिन्दर पानवालाको नामले चिनिने शिवशंकर रिजालले लकडाउन शीर्षकमा गाईजात्रे प्रस्तुति युट्युबमा राखेका छन्। उनी पीपलबोट अगाडि दर्शक जुटाएर हँसाउने प्रयास गरेका छन्।

माथि चर्चा गरिएका प्रायःको प्रस्तुति सामान्य टुक्का जोडेर चिच्याइचिच्याई कराउने पुरानै शैलीको छ। महजोडीले गाईजात्राको बेला सामान्य बोलीमा कुनै एउटा कथा बुनेर हँसाउने शैली खासै देखिँदैन। नेताहरूलाई शब्दमा मात्रै होइन, साँच्चिकै थुक्छन्। यसले हास्यव्यंग्य क्षेत्रलाई खासै उकास्दैन।

एपीवानमा गाईजात्रे कार्यक्रम

गाईजात्राको अवसरमा ‘ब्रान्डवर्थ प्रालि’ले साउन १५ देखि २२ गतेसम्म दैनिक साँझ ८ बजे एपीवान टेलिभिजनमार्फत गाईजात्रे कार्यक्रम प्रस्तुत गर्दैछ। साथै यो कार्यक्रम युट्युब च्यानल–गजुरेलमार्फत समेत प्रसारण गरिनेछ। कोरोनाका कारण हल नखुल्ने भएपछि डिजिटल माध्यम रोजिएको आयोजक ब्रान्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले बताए।

कार्यक्रममा यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, शैलेन्द्र सिम्खडा, लक्ष्मण गाम्नागे, सीताराम कट्टेल, कुञ्जना घिमिरे, धीरेन्द्र प्रेमर्षि, राजा राजेन्द्रलगायत कलाकारहरूको प्रस्तुति रहेको छ।

त्यसैगरी, यो वर्षको गाईजात्रा विशेष कार्यक्रममा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाइ, खबपु, मेक्सम गौडेल, सुमन कार्कीलगायतका प्रस्तुति पनि हेर्न सकिनेछ।

साथमा सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवि डंगोल, पूर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुइँया’, सन्देश लामिछाने ‘बट्टारे’, रुविना अधिकारी, अर्जुन दाहाल, भरतमणि पौडेल, टेकबहादुर कोइराला, रत्नावली शर्माले पनि प्रस्तुति दिँदैछन्।

ब्याजले पुगिराछ

-वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ

गाईजात्रा आउनै लाग्दा केही कलाकारले युट्युबमा प्रस्तुति पस्किरहेका छन्। तर हामी (मह) लाई अब गाईजात्रे कोसेली दिने जाँगर छैन। पहिलेकै कार्यक्रमको ब्याजले पुगिराछ। किनभने प्रायः सबै कुरा पुरानै छ। देशमा भ्रष्टाचार उस्तै व्याप्त छ। राजनीतिक गोलमटोल उस्तै छ। दुई तिहाइको सरकार भएपछि देश विकास होला भनेको कुर्सी तानातानको प्रवृत्ति उस्तै छ। महँगीको कुरा गरी साध्य छैन। मेलम्चीको पानी अब त आउला भनेको झन्झन् टाढा भइराछ। यसरी इस्यु सबै पुरानै भएपछि नयाँ हास्यव्यंग्य के गर्नु ?

हाम्रो पालामा हास्यव्यंग्यका लागि गाईजात्रा कुनुपथ्र्यो। टीभी थिएन, एफएम थिएन। भएको एउटा रेडियो नेपालमा सामान्य हाकिमको विरोध समेटिएको कार्यक्रम गर्न पनि रेडियोका निर्देशकको खुसामद गर्नुपथ्र्यो। त्यसैले, गाईजात्रे अडियो क्यासेट पनि निकाल्ने सुरुआत ग¥यौं। हामीले हास्यव्यंग्यको प्लेटफर्म बनायौं। अहिले त जति पनि प्लेटफर्म छन्।

अहिले सामाजिक सञ्जाल यति बलियो भएको छ कि कदमकदममा नेताहरूलाई व्यंग्यबाण बर्सिरहेको छ। तर के गर्नु, जति विरोध गरे पनि, व्यवस्था फेरिए पनि घुस महात्म्य ज्यूँका त्यूँ छ। कलाकारले हास्यव्यंग्यमार्फत सचेत गराउने हो। आआफ्नो कर्म गर्ने हो। इमान छोड्नु हुन्न। संविधान, कानुन अनि आफ्नो आत्माले गर्न नदिएको काम गर्नु हुन्न। गाईजात्राको अवसरमा आफूउपर गरिएको व्यंग्यलाई हलुका ढंगले नलिई देश विकासमा लाग्न हाम्रा नेतागणको सद्बुद्धि आउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.