फरक समुहको रगतले सुत्केरीको ज्यान गयो : लापरवाही कसको ?
जनकपुरधाम : जनकपुरको एक अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरमा एक सुत्केरीको ज्यान गएको छ। जनकपुर स्थित रामजानकी अस्पततालमा एक सुत्केरी महिलालाई फरक रगत समुहको रगत चढाउँदा ज्यान गएको हो।
महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ। ‘ओ’ पोजिटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजिटिभ ब्लड चढाउँदा बिहीबार राति गंगा देवीको मृत्यु भएपनि घटना शुक्रवार सार्वजनिक भएको हो। व्यथा लागेपछि बिहीबार अपराहन ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो। शल्यक्रिया (अप्रेशन) मार्फत गंगा देवीले छोरी जन्माएकी थिइन्। पछि शरीरमा रगत अभाव भएको थियो। अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो।
नेपाल रेडक्रस सोसाईटी धनुषा जनकपुरले दिएको दुई पोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ रगत चढेको पत्ता लागेको थियो। त्यसको केहि बेर पश्चात सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले अन्नपूर्ण अनलाइनलाई बताए। अस्पतालले भने अनुसार नै नमूना लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजिटिभ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन्। दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए। यता अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजिटिभ चढेको दावी गरेको छ। अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको नमूना अनुसार रेडक्रसले रगत दिएको र त्यहि चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरे।
छोरी पाए श्रीमती गुमाए
पहिलो सन्तानको रुपमा घरमा आउन लागेको नयाँ सदस्यको आवगमनमा श्रीमतीसहित राजकिशोर महतो औधी खुशी थिए। आखिर किन नहोस् पहिलो सन्तानको प्रतिक्षा महतो दम्पतीलाई जो थियो। तर राज किशोर र उनको परिवारको खुशी समय टिकेन। उनी सन्तानको रुपमा छोरी त पाए तर श्रीमती गुमाए। अस्पताल र रेडक्रसको लापरवाहीले उनको २३ वर्षिया श्रीमती गंगादेवी महतोले ज्यान गुमाउनु पर्यो। अस्पताल न रेडक्रसले ब्लड ग्रुप छुट्टयाएर नमूना नपठाउँदा तथा रेडक्रसले क्रस फेरिफाईङ्ग नगर्दा श्रीमती गंगाको मृत्यु भएको राजकिशोरको आरोप छ। ‘ओ’ पोजिटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजिटिभ ब्लड चढाउँदा रिएक्सन भएपछि मृत्यु भएका गंगाको मृत्युबारे घटना शुक्रबार बिहान साढे ९ बजे मात्र सार्वजनिक भएको थियो।
अस्पताल र रेडक्रसको लापरवाहीले सुत्केरी महिलाको मृत्यु भएपछि परिवारजनले शव उठाउन मानेका छैनन्। मृतकको शव भने अहिले पनि रामजानकी हस्पिटलको आइसीयुमा राखिएको छ। परिवारजनले शव उठाउन नमानेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन र रगतको पोका दिएका रेडक्रसका पदाधिकारीहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा पक्राउ गरी लगिएको छ।



प्रतिक्रिया दिनुहोस !