उडान गर्न १३ कम्पनी इच्छुक

उडान गर्न १३ कम्पनी इच्छुक

काठमाडौं : हवाई उडानका लागि १३ वटा वायुसेवा प्रदायक कम्पनीले सरकारसँग अनुमति माग गरेका छन्। गत चैत ११ गतेदेखि नेपालमा आन्तरिक र बाह्य हवाई सेवा अवरुद्ध छ।

आगामी भदौ १ गतेदेखि हवाई सेवा पुनः सञ्चालन गर्ने सरकारको घोषणासँगै एक दर्जनभन्दा बढी विमान कम्पनीले उडानका लागि अनुमति माग गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स कम्पनीसँगै अन्तर्राष्ट्रिय ११ वायुसेवा कम्पनीले नेपालमा उडान गर्न सहमति जनाउँदै अनुमतिका लागि निवेदन दिएका हुन्।

जसअनुसार अनुमति माग गर्ने अन्तर्राष्ट्रिय बिमान कम्पनी टर्किस एयर, सलाम एयर, इन्डिगो चाइना साउथर्न, एयर चाइना, जजिरा एयर, फ्लाइ दुबई मलेसिया एयरलाइन्स, मालिन्दो एयर र एयर अरेबिया छन्। १३ कम्पनी गरी १ सय ५८ वटा उडानका लागि निवेदन परेको क्षेत्रीले बताए। उडान निवदेनका लागि अझै केही समय बाँकी रहेकाले इच्छुक वायुसेवा कम्पनीले अनुमति दिन आउन सक्ने उनले बताए।

आन्तरिक तथा बाह्य उडानलाई कुल उडानको २५ प्रतिशत हुने गरी अनुमति दिने तयारी सरकारको छ। कोभिड १९ अघिसम्म दैनिक हुने कुल उडानको २५ प्रतिशत हुने गरी उडान अनुमति दिने निश्कर्षमा पर्यटन मन्त्रालय पुगेको सहसचिव सुरेश आचार्यले जानकारी दिए।

नियमित उडान खुलाउने विषयमा सरकारले आन्तरिक तथा बाह्य उडानलाई सुरक्षित बनाउने विषयमा गृहकार्य सुरु गरेको छ। अन्तर्राष्ट्रिय उडानको हकमा दैनिक बढीमा १२ वटा र आन्तरिक उडानको हकमा दैनिक ४० वटासम्म उडानको अनुमति दिन सकिने गरी तयारी छ। ढेड महिनाका लागि हुने गरी यो उडान तालिका निर्धारण गरिएको आचार्यले अन्नपूर्ण पोस्टलाई बताए।

‘अहिलेलाई अगस्ट १७ देखि सेप्टेम्बर महिनासम्मका लागि उडान तालिका निर्धारण भएको छ। परिस्थितिको मूल्यांकन गरी अक्टुबरका लागि छुट्टै तालिका निर्धारण तयारी छ’, सहसचिव आचार्यले भने। उनका अनुसार तालिका उडान नहुने गन्तव्यमा भने चार्टर्ड तथा उद्धार उडान गरिनेछ।

अहिलेलाई नेपाली कामदार बढी रहेका मुलुकलाई लक्ष्य गरी मलेसिया, दुबई, साउदी अरेबियालगायत खाडी मुलुकको उडान अनुमतिलाई प्राथमिकतामा राखिएको उनले बताए। भारतले बाह्य उडान नखुलाएकाले तत्कालका लागि तालिका उडानको अनुमति नदिइने मन्त्रालयले जनाएको छ।

आन्तरिक उडानतर्फ भने उडानको लामो दुरी (ट्रंक रुट) तय गर्ने तराईका जिल्लाभन्दा छोटो रुट तय गरिने (सर्ट टेक अफ ल्यान्डिङ –स्टल रुट) पहाडी तथा हिमाली जिल्लालाई प्राथमिकतामा राखिएको छ। ट्रंक रुट तय गरिने तराईका प्राय जिल्लामा कोभिड १९ को महामारी बढ्दै गएकाले उक्त स्थानमा उडान अनुमति दिन नसकिने मन्त्रालयको भनाइ छ। तर, पोखरा, भरतपुरलगायत केही जिल्लामा महामारी नियन्त्रणमा रहेकाले ती स्थानका लागि उडान अनुमति दिन सकिने बताइएको छ।

यस्तै नेपालबाट अनअराइभल भिसा नदिने र पर्यटक तथा एनआरएनले सम्बन्धित मुलुकबाट नै भिसा लगाउनुपर्ने मापदण्ड निर्धारण गरिएको छ। अहिलेलाई अनअराइभल भिसा नखुलाउने भनिएको छ तर कूटनीतिक राहदानी बोकेका विदेशीको हकमा भने भिसा दिन सकिने निर्णय भएको आचार्यले जानकारी दिए।

कोभिड १९ को जोखिम बढिरहेको अवस्थामा उडान सम्बन्धी मापदण्डलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने मन्त्रालयको दाबी छ। मन्त्रालयले तय गरेको मापदण्डलाई सीसीएमसी र मन्त्रिपरिषद् बैठकले पारित गरेपछि लागू हुनेछ।

१४ दिन अनिवार्य क्वारेन्टाइन

विदेशबाट आउने यात्रुको हकमा १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने मापदण्ड सरकारले निर्धारण गरेको छ। नेपाल आउन चाहने पर्यटक तथा गैर आवसीय नेपालीको हकमा कोभिड १९ सम्बन्धी परीक्षण रिपोर्ट, सीसीएमसीको फर्म अनिवार्य भरेको हुनुपर्ने, होटल बुकिङ गरी क्वारेन्टाइनमा बस्नुपर्ने, क्वारेन्टाइन बसेको छैठौं दिनमा पीसीआर टेस्ट गर्नुपर्नेलगायत मापदण्ड तयार भएको सहसचिव आचार्यले बताए।

नेपाल आउने नेपालीको हकमा भने पीसीआर टेस्ट नेगेटिभ भए स्थानीय तहका निगरानीमा होम क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.