समुदायमा कोरोना संक्रमण जोखिम

समुदायमा कोरोना संक्रमण जोखिम

दमौली : विदेशको ‘ट्राभल हिस्ट्री’ नै नभएका भानु १ र बन्दीपुर ५ का व्यक्तिमा कोरोना भाइरस कोभिड पोजिटिभ देखिएपछि उनीहरु बस्ने क्षेत्रका व्यक्ति पनि बिरामी परेका छन्। भानु नगरपालिका-१ भन्सार र बन्दीपुर ५ याम्पाका ३४ वर्षका ती पुरुष दुबै जनामा कोभिड पोजिटिभ संक्रमण देखिएको थियो। निर्माण व्यवसायी यी दुबैमा ज्वरो र रुघाको लक्षण देखिएको थियो। यस अघि विदेश पनि नगएका र जिल्लाबाहिरको यात्रा नगरेका व्यक्तिमा कोभिड संक्रमण देखिएपछि भानु नगरपालिकाले भदौ २ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै नगर क्षेत्रलाई शिल गरेको छ।

संक्रमण देखिएका क्षेत्रका २५ मा ज्वरो र टाउको दुख्ने लक्षण
संक्रमित भानुका युवकका परिवारका सदस्यसहित आसपासका अरु व्यक्तिमा पनि ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि यसले थप त्रास बढाएको छ। ‘संक्रमितको छिमेकका सदस्यले आफूलाई पनि टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको गुनासो गरेका छन्,’ नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भने,‘२५ जनामा यस्तो समस्या देखिएकाले सबैको स्वाब संकलन गरेका छौं।'

निर्माण व्यवसायी ती युवक नगरपालिकामा पनि गइरहने भएकाले उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधिसहित एक सय २४ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए। समुदायमा संक्रमणको अवस्था जटिल हुन सक्ने निष्कर्ष निकाल्दै भानु नगरपालिकाले सोमबारबाट भाद्र २ गतेसम्म सबै सेवा रोक लगाउने घोषणा गरेको थियो। ती व्यक्तिहरु कामका शिलशिलामा नगरपालिका तथा विभिन्न ठाउँमा गैरहने भएकाले यसले अरु धेरै जोखिम बढाएको ठानिएको छ। ‘उनीहरु विभिन्न कामले हिंडिरहेको खबर आएकाले नै धेरैको स्वाब संकलन गरेर पठाएका हौं,’ भट्टराईले भने। भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डेले समुदायमा थप संक्रमण फैलन नदिनका लागि अत्यावश्यकबाहेकका सेवामा रोक लगाउने निर्णय गरेको बताए।

बन्दीपुरको संक्रमित क्षेत्रमा पनि कडाइ
बन्दीपुर गाउँपालिकाले पनि सोमबार संक्रमित भेटिएका बन्दीपुर ५ का ती युवकको घर आसपासको क्षेत्रमा अत्यावश्यकबाहेकका काममा बाहिर निस्कन रोक लगाएको छ। ‘संक्रमण अन्यत्र पनि फैलनसक्ने देखिएकाले अत्यावश्यकबाहेकका काममा निस्कन रोक लगाएका हौं,’ गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले भने,‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिको सूची तयार पारेर परीक्षणका लागि पठाउँछौं।’ ती युवक बाहेक हालसम्म अरुमा समुदाय संक्रमणका घटना नदेखिए पनि अब विशेष सावधानीपूवर्क परीक्षण गराइने थापाले बताए।

संक्रमित आएको अस्पतालको इर्मजेन्सीबाहेक सेवा बन्द
भानुका संक्रमित व्यक्ति परीक्षणका लागि आएको दमौलीको एक अस्पतालले इर्मजेन्सीबाहेकका सेवा बन्द गरेको छ। सोमबार नतिजा आउनु केहीअघि ती व्यक्ति रत्नहरि अस्पताल पुगेका थिए। ‘संक्रमणको खबर आउनुअघि ती व्यक्ति अस्पतालमा आएका थिए,’ चिकित्सक डा. रामकुमार श्रेष्ठले भने,‘हामीले परीक्षण गर्न नपाए पनि टिकट काटेर बसेकाले सम्पर्कमा आएका सबै क्वारेन्टिनमा बसेका छौं।’ उनले इर्मजेन्सीबाहेकका अरु सेवा बन्द गरिएको बताए। ती सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ। 

समुदाय संक्रमण देखिए पछि भानु नगरपालिका प्रमुख उदयराज गौलीको पीसीआर परीक्षण गरिंदै। नगरपालिकाका एक सय २४ जनाको पीसीआर परीक्षण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.