जोखिममा पुष्प व्यवसाय

जोखिममा पुष्प व्यवसाय

काठमाडौं : शुभकार्य, भेला, समारोह, जमघट, होटेल तथा रेस्टुराँको साजसज्जादेखि अतिथि सत्कारसम्म फूलको ठूलो भूमिका हुन्छ। रंगीबिरंगी, बास्नादार र अर्नामेन्टल फूल तथा यसको बोटबिरुवाबिना यी क्षेत्र खल्लो हुन्छन्। कोभिड १० का कारण अहिले यो अतिप्रभावित क्षेत्रको सूचीमा परेको छ।

चैतदेखि नै फूलको उत्पादन तथा बजारीकरण पूर्णरूपमा ठप्प छ। यसले गर्दा यो क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएका उत्पादक किसानदेखि बजारीकरण गर्ने विक्रेतासम्म बेरोजगार छन्। कुल मागमध्ये झण्डै ९१ प्रतिशत आफ्नै उत्पादनले धानेको यो क्षेत्र पछिल्लो समय आत्मनिर्भरउन्मुख थियो।

लकडाउनमा शून्यमा झरेको पुष्प व्यवसाय असार १ देखि सामान्य रूपमा सञ्चालनमा आए पनि खरिदकर्ताको अभावमा ढुलमुलिएको छ। काठमाडौं उपत्यकामा केही दिनयता कोभिडको संक्रमण दर बढेसँगै पुनः थला पर्न थालेको छ।

सामान्य अवस्थामा हुँदै आएको कारोबारको करिब २० प्रतिशत मात्रै हाल भइरहेको किसान तथा व्यवसायीले बताएका छन्। भक्तपुर दधिकोटस्थित जेएस नर्सरीका सञ्चालक शुशील खड्कालाई बढ्दो संक्रमण दरले झस्काएको छ। ‘लकडाउनको अवस्था अन्त्यसँगै फाट्टफुट्ट खुलेका होटेल तथा रेस्टुराँका कारण केही व्यापार भएको थियो’, खड्काले भने, ‘तर, काठमाडौं उपत्यकामै कोभिड संक्रमण दर बढेसँगै बजार फेरि खुम्चिने त्रास सिर्जना भएको छ।’

बैंकबाट ऋण लिएर दुई करोड लगानीमा व्यवसाय सुरु गरेका खड्का पनि कोभिडको मारमा परे। खड्काले भने, ‘कारोबार नभएपछि कामदारलाई कसरी काममा लगाउने र ज्याला दिने भनेर चुनौती सिर्जना भएको छ ? ’ बैंकको साँवा र ब्याजसँगै जग्गाको भाडा कसरी तिर्ने चिन्ताले उनलाई सताएको छ।

बनेपा काभ्रेमा युनिक फ्लोरा फार्म सञ्चालक भोजराज तिम्लिसनाको दुखेसो पनि खड्काजस्तै छ। विवाह, ब्रतबन्ध नहुनु, होटल तथा रेस्टुराँ राम्ररी सञ्चालन हुन नसक्नु, सभा सम्मेलनमा रोक लागेका कारण पुष्प व्यवसायमा प्रत्यक्ष असर परेको तिम्लिसिनाले जानकारी दिए।

सरकारले घोषणा गरेको २०२० नेपाल भ्रमणका लागि पुष्प व्यवसायीले पनि लगानी वृद्धि गरी उत्पादनमा बढोत्तरी गरेका थिए। अधिकांश किसान र व्यवसायीले लगानीको जोहो बैंकबाट ऋण लिएर गरेका थिए। अन्य कृषि उत्पादनको माग र खपत बढिरहेको अवस्थामा पुष्प व्यवसायको माग अहिले ३० प्रतिशतमा झरेको नेपाल फलोरिकल्चर एसोसिएसन (फ्यान)का महासचिव विश्वमणि पोखरेलले बताए।

उनकाअनुसार कोभिडका कारण करिब ५० प्रतिशत कामदार पेशामा फर्केका छैनन्। यो पेशाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४३ हजार ५ सयले रोजगारी पाएका छन्। ‘अवस्था बिग्रदै जाने हो भने यो पेशामा लागेका किसानदेखि उत्पादक, आयातकर्ता, निर्यातकर्ता र विक्रेता सबै बेरोजगार हुनुपर्ने अवस्था आउन सक्छ’, पोखरेलले भने।

चाँडै गल्ने र बिग्रने भएकाले यसलाई संवेदनशील व्यवसाय पनि भनिन्छ। साढे ६ अर्ब लगानी भएको यो क्षेत्रको करिब साढे चार अर्ब लगानी जोखिममा परेको छ।

कटफ्लावरको खेती तथा बजारीकरण, सिजनल र अर्नामेन्टल बिरुवाको उत्पादन, विभिन्न पुष्प र पुष्पको गानो निर्यात, पुष्प खेतीमा आवश्यक पर्ने सामग्री र बजारीकरण पूर्ण रूपमा प्रभावित भएकाले लगानीको ठूलो हिस्सा जोखिममा छ।

नेपाल राष्ट्र बैंकले पुष्प व्यवसायलाई ‘अति प्रभावित क्षेत्र’ मा सूचीकृत गरी मौद्रिक नीतिमा उल्लेख पनि गरेको छ। जसअनुसार यस क्षेत्रमा प्रवाह भएको सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवाको किस्ता र ब्याजको रकम २०७८ असार मसान्तसम्म भुक्तानी गर्नेगरी म्याद थप भएको छ।

अर्थविद रामेश्वर खनालले पुष्प व्यवसायीका लागि नगद प्रोत्साहन व्यवस्था गर्नुपर्ने सुझाव दिए। करोडौं लगानी जोखिममा परेको हुँदा व्यवसायीलाई हतोत्साहित हुन नदिन नगद अनुदान दिएर प्रोत्साहन दिन सकिन्छ। सरकारले बजेटमार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको कोषको रकम सहकारीमार्फत व्यावसायिक पुष्प व्यवसायीसम्म पुर्‍याउनुपर्ने उनको कथन छ। ‘करिब ६० प्रतिशत पुष्प व्यवसायीले सहकारीबाट कारोबार गर्छन्’, खनालले भने, ‘केन्द्रीय बैंकले ५ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउन सहकारीमार्फत जान मिल्ने गरी कार्यविधि बनाउनुपर्छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले पुष्प व्यवसायसहित अन्य कृषि उपजलाई समेट्ने गरी राहतका लागि कृषि ऋणको व्यवस्थालाई अघि सारिएको बताए। बजेटले प्रत्यक्ष रुपमा केही व्यवस्था नगरेको भए पनि अप्रत्यक्ष रूपमा ५ प्रतिशत व्याजमा कृषि ऋण, कृषिजन्य उपजमा भन्सार छुटजस्ता अप्रत्यक्ष व्यवस्था गरेको उनले जानकारी दिए।


तंग्रिन दुई वर्ष लाग्ने

कुमारकसजु श्रेष्ठ

अध्यक्ष, नेपाल फ्लोरिकल्चर एसोसिएसन

कृषिजन्य उपजमध्ये पुष्प क्षेत्र पछिल्लो समय फस्टाएको क्षेत्र थियो। आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको यो क्षेत्रलाई अब हालकै अवस्थामा आइपुग्न कम्तीमा दुई वर्ष लाग्छ। कोभिड १९ का कारण उत्पन्न परिस्थितिले यो क्षेत्र आर्थिक रूपमा जर्जर बन्न पुग्यो। कारोबार नगन्य मात्रामा हुन थालेको छ। विशेष गरी अतिथि सत्कारसँग यो क्षेत्र जोडिएकाले होटेल, रेष्टुराँ, विवाह व्रतवन्ध पूर्ण रुपमा चलायमान नहुँदासम्म यसले गति लिन सक्दैन।

पुष्प उत्पादक किसान र व्यवसायीलाई घर तथा जग्गाको भाडा, कामदारको पारि श्रमिक र बैंकको ऋणले पनि सताएको छ। बैंकको ऋणसम्बन्धमा मौद्रिक नीतिले केही राहतमुखि नीति सार्वजनिक गरे पनि कार्यान्वयनको अवस्था हेरेपछि मात्रै केही भन्न सकिन्छ। यसवाहेक संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले राहतका कार्यक्रम ल्याइदिएको भए यो क्षेत्र फेरि ठडिन सक्थ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.