नेकपा विवाद ‘समाधान उन्मुख’

नेकपा विवाद ‘समाधान उन्मुख’

काठमाडौं : नेकपाका दुई अध्यक्षको सम्बन्ध ‘मिलेको’ हो कि ‘बिग्रेको’ ठम्याउन हतपती हम्मे पर्छ। संवादहीनताबीच बुधबार एपी वानसँगको अन्तर्वार्तामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘पार्टी फुट्दैन, त्यसको नयाँ सिनारियो ५ दिनभित्रै देख्नु हुनेछ।’ नभन्दै भोलिपल्टै दुई अध्यक्ष ४ घण्टा बसेका छन्। मन माझामाझ गरेका छन्।

यससँगै मेलमिलापमा लागेका र पछिल्ला घटना बुझेका नेताहरू विवाद समाधान उन्मुख देख्न थालेका छन्। त्यसो त दुई अध्यक्षको प्रत्यक्ष संवाद नभए पनि उनीहरूकै ‘प्रोत्साहन’ मा दोस्रो तहका नेताहरू गहन छलफलमा थिए। त्यसले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाललाई सकारात्मक छलफलमा बस्ने वातावरण निर्माण गरेको छ। त्यसपछि बालुवाटारमा बिहीबार दुई नेता लामो छलफलमा बसेका हुन्।

बालुवाटारको ४ घण्टा छलफलमा ओली र दाहालले धेरै समय एक्लाएक्लै छलफल गरे। केही समय भने महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई पनि साथमा राखेका थिए। बालुवाटार निकट स्रोतका अनुसार, महासचिव पौडेलले मुख्यमन्त्री पोखरेल र नेता शर्मासँगको सल्लाहका आधारमा तयार पारेको सहमतिको ‘खेस्रा प्रस्ताव’ दुई अध्यक्षको छलफलमा प्रस्तुत गरेका थिए।

महासचिवले उक्त प्रस्ताव आफ्नो ल्यापटप खोलेर पढेका थिए। उक्त प्रस्ताव १३ साउनमा उपाध्यक्ष वामदेव गौतमले ल्याएको प्रस्तावसँग मिल्दोजुल्दो छ। पार्टी एकतालाई सुढृढ गर्ने र बलियो बनाउँदै लैजाने, प्रतिनिधिसभाको अबको बाँकी समय सरकारको नेतृत्व ओली नै गर्ने, पार्टीमा कार्यकारी अध्यक्षको जिम्मा दाहालले लिने र विगतमा भएका कमी, कमजोरीलाई आलोचना/आत्मआलोचनाका विधिबाट समाधान गरेर जाने विषय त्यसमा समेटिएका थिए।

‘महासचिवले छलफलका क्रममा अगाडि सार्नु भएको प्रस्ताव वामदेव कमरेडले अगाडि सार्नु भएकै ६ बुँदे प्रस्तावकै वरिपरि रहेर आएको थियो,’ नेकपाका एक उच्चस्तरीय नेताले अन्नपूर्णसँग भने, ‘प्रस्ताव महासचिवले ल्याएपछि दुई अध्यक्षले त्यसपछि एक्लाएक्लै छलफल गर्नु भएको थियो।’

दाहालले भने छलफलका क्रममा पार्टीको स्थायी समिति बैठक राखेर जानुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका थिए। तर उनले त्यसअघि दुई अध्यक्षबीच सहमति बन्नुपर्ने र त्यसलाई बोकेर बैठकमा जान आफू तयार रहेको बताएका थिए। यस अगाडि ओली सचिवालय र दाहाल स्थायी समिति बैठकका अडानमा विवाद गर्दै आएका थिए।

१३ साउनमा ओलीले एकतर्फी स्थायी समिति बैठक रोक्ने र दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले बैठक राखेर दोहोरी खेलेका थिए। त्यसपछि १८, १९ र २० साउनमा ओलीले संसदीय दलका उपनेता सुवास नेम्बाङ र दाहालले वरिष्ठ नेता झलनाथ खनाललाई साथमा लिएर तीन दिन लगातार छलफल गरेका थिए। तर छलफल पार्टीको कुन कमिटीको बैठक बोलाउने भन्ने विवादमै रुमल्लिएको थियो।

छलफलमा ओलीले दुवै नेतृत्व नछाड्ने अडान दोहो¥याएका छन्। ‘महासचिवले अगाडि सारेको प्रस्तावको सीमा भित्रबाट मात्र नभई स्वतन्त्र ढंगले पनि छलफल गरी प्रस्ताव तयार पार्ने गरी कार्यदल बनाउने गरी दुई अध्यक्ष करिब सहमतिमा पुग्नु भएको छ,’ सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने, ‘समाधानको प्रस्ताव बनाउन भनेर कार्यदल बनाउने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ। महासचिवले एउटा खालको प्रस्ताव गर्नु भएको छ। त्यसमा दाहालले सहमति जनाई सक्नु भएको छैन। उहाँले माधव नेपाल, झलनाथ खनाललगायतसँग सल्लाह गर्ने कुरा गर्नु भएको छ। अन्य विकल्पमा पनि कार्यदल बनाएर छलफल गर्ने र प्रस्ताव तयार पार्ने गरी अगाडि जान उहाँहरू खोज्नु भएको छ।’

कार्यदलमा कुन–कुन नेतालाई राख्ने, त्यसले के के विषयमा गृहकार्य गर्ने भन्नेमा भने ओली दाहालले सहमति जुटाइसकेका छैनन्। तर पौडेल, पोखरेल, शर्मा र अर्का एकदुई नेता सहभागी गराएर कार्यदल बनाउन सक्ने सम्भावना अधिक देखिएको छ।

त्यसो हुँदा दुई अध्यक्षको कार्य विभाजनदेखि महाधिवेशन कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक राजनीतिक बहस, आलोचना, आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्तिहरूको बदर, राजनीतिक नियुक्तिहरूमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत विषयमा केन्द्रित रहेर कार्यदलले प्रस्ताव तयार पार्ने देखिन्छ।

विवाद समाधानका लागि महाधिवेशन आयोजक समिति बनाउने गरी जान खोजेको भनिए पनि बिहीबारको छलफलमा यो विषयमा कुरा नउठेको नेताहरूको भनाइ छ। अध्यक्ष दाहालसँगको खुमलटार भेटमा बुधबार महासचिव पौडेलले महाधिवेशन आयोजक समितिको प्रस्ताव गरेका थिए। तर त्यस्तो प्रस्तावमा दाहालले कुनै सकारात्मक जवाफ नदिएका कारण बिहीबारको छलफलमा भने यो विषयले प्रवेश पाएन।

नेकपाको विधानमा महाधिवेशन आयोजक समिति गठन गर्ने व्यवस्था छैन। त्यसका लागि केन्द्रीय समिति बोलाएर विधान संशोधन गर्नुपर्ने हुन्छ। अहिलेकै केन्द्रीय समितिलाई महाधिवेशनको तयारी मात्र गर्ने गरी आयोजक समिति बनाउने विकल्पमा नेकपाभित्र छलफल चलेको छ। तर, दाहालले त्यसमा रुचि नदेखाएको कारण बिहीबारको छलफलमा त्यस्तो विकल्प छलफलमा नउठेको स्रोतले बतायो।

उक्त छलफलपछि दाहालले थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा आफू र नेपाल निकट प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। विवाद समाधानका लागि सुझाव लिने उद्देश्यले दाहाल–नेपाल पक्षले बुधबारबाट प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेको छ। बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग उनीहरूले छलफल गरेका थिए।

उक्त छलफलमा दाहालले ओलीसँगको कुराकानी सकारात्मक भएको र अब समाधान उन्मुख बनाएर लैजान पहल गरिएको बताएका थिए। त्यहाँ दाहालले बालुवाटार छलफलबारे ब्रिफिङ गरेका थिए। वरिष्ठ नेता नेपालले भने त्यहाँको छलफलमा पनि प्रधानमन्त्री ओलीको चरित्र र शैली सधैं उही रहिरहेकोले विश्वास झट्ट गरेर जान सकिने अवस्था अझै नरहेको बताएका थिए।

ओलीपक्षीय नेता तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भने बिहीबारको छलफलपछि दुई अध्यक्षको विवाद समाधान उन्मुख भएको बताएका छन्। ‘दुई अध्यक्षबीच सकारात्मक ढंगले छलफल सुरु भएको छ। हार्दिकतापूर्वक सुरु भएको छलफल भोलि (शुक्रबार) पनि निरन्तरतामा छ,’ नेम्बाङले अन्नपूर्णसँग भने, ‘निरन्तर सबै तहको प्रयास र दुई अध्यक्षको प्रोत्साहनले सकारात्मक वातावरणको यो स्थिति तयार भएको हो। समस्या अब समाधान उन्मुख छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.