बालुवाटारमा ओली - प्रचण्ड भेटवार्ता : ५ दिनभित्रै अन्त्य होला त विवाद ?
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार ओलीलाई भेट्न प्रचण्ड केही समय अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीले ओलीले एपीवान एचडी टेलिभिजनमा बुधबार ‘द बाभ्रो डेल्टा सो’ कार्यक्रममा अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरेका थिए। उनले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै प्रचण्डसँग भेटवार्ता भएको हो ।
नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताउँदै ओलीले पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको स्पष्ट पारेका थिए।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए। अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन्।
महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए। उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए। शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन्। उनीहरूका छलफलबारे केही नखुले पनि प्रधानमन्त्रीले अबको ५ दिनमा ‘सिनारियो नयाँ देखिने’ बताएपछि छलफल सकारात्मक रहेको अनुमान लगाउन थालिएको छ।
ओलीले आफू तत्कालीन एमालेको बहुमतबाट निर्वाचित अध्यक्ष भएको र पार्टीमा तत्कालीन दुई पार्टीका अध्यक्ष महाधिवेशनसम्मका लागि अध्यक्ष रहने गरी व्यवस्था गरिएको प्रष्ट पारेका छन्।उनले ५ वर्ष सरकार पनि यही निरन्तर रहने बताए। प्रधानमन्त्री भएर पनि गुट चलाउने भन्ने प्रश्नमा ओलीले भने, ‘म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नु भएन ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। मभन्दा अघि त लड्ने चलन थिएन नि।’ ६५ वर्षकै उमेरमा आफूले राजनीतिबाट सन्न्यास लिन खोजे पनि परिस्थितिले नदिएको ओलीको भनाइ छ।
प्रचण्ड-ओलीबीच समसामयिक घटनाक्रम र आन्तरिक विवाद समाधानका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ। गत असार १० गते देखि सुरु भएको पार्टी स्थायी समितिमा प्रचण्डलगायत नेताहरूले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो। साउन १३ मा स्थायी समिति बैठक नै एउटा पक्षले स्थगित गर्ने र अर्काे पक्षले बोलाउने दोहोरीका बीच विवाद समाधानको थप सूत्र फेला परेको छैन।
प्रतिक्रिया दिनुहोस !