कोशी सरकार संकटमा, कांग्रेस र एमालेको नजर नेकपातिर
विराटनगर : नेपाली कांग्रेसले नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै कोशी प्रदेशको राजनीतिक समीकरण एकाएक बदलिने भएको छ ।
कांग्रेसको निर्णयले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको छ । कार्की एमालेका केन्द्रीय सचिव हुन् । कोशीमा अब सरकार जोगाउने वा नयाँ सरकार गठन गर्ने दुवै समीकरणमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्णायक शक्तिका रूपमा उभिएको छ ।
२०८१ असार १७ गते नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संघ र प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कोशी प्रदेशमा २०८१ भदौ २८ गतेदेखि एमालेको नेतृत्वको सरकारमा कांग्रेस सहभागी भयो ।
तर, केन्द्रको राजनीतिक घटनाक्रमपछि कांग्रेसले बुधबार एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ । त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि परेको हो । स्रोतका अनुसार कोशीमा कांग्रेसका मन्त्रीहरूले पनि सरकारबाट बाहिरिने तयारी गरेका छन् । उनीहरूले सम्भवतः बिहीबार राजीनामा दिने स्रोतको भनाइ छ ।
यद्यपि, कांग्रेस कोशी प्रदेश संसदीय दलले केन्द्रको निर्णयका बारेमा अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ । संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले मौखिक जानकारी प्राप्त भएसँगै बिहीबार पार्टीको कार्यदल बैठक बोलाइएको बताए ।
उनका अनुसार कार्यदलमा प्रदेश पदाधिकारी, संसदीय दलका पदाधिकारी तथा वरिष्ठ नेताहरू सहभागी छन् । बैठकले केन्द्रको निर्णयका बारेमा औपचारिक धारणा तय गर्ने र त्यसअनुसार आगामी रणनीति बनाउनेछ । एमाले पनि कांग्रेसको औपचारिक निर्णयको प्रतीक्षामा रहेको छ । एमाले प्रमुख सचेतक रमेशकुमार बस्नेतले कांग्रेसले आधिकारिक रूपमा समर्थन फिर्ता लिएपछि मात्रै पार्टीले नयाँ राजनीतिक रणनीतिका बारेमा निर्णय गर्ने बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल एमालेका ४० र कांग्रेसका २९ सांसद छन् । दुवै दलको सहकार्य समाप्त हुने अवस्थामा अब १७ सांसद रहेको नेकपा प्रदेशको सत्ता समीकरणको केन्द्रमा पुगेको छ ।
एमालेका लागि सरकारलाई निरन्तरता दिन नेकपाको साथ अनिवार्यजस्तै देखिएको छ । कांग्रेसले नयाँ सरकार गठन गर्न पनि नेकपाको समर्थन अपरिहार्य छ । कांग्रेसले बहुमत जुटाउन नेकपासँगै साना दलहरूको सहयोग आवश्यक पर्नेछ भने एमालेले नेकपासँग सहकार्य गरे सहज रूपमा बहुमत पुग्ने अवस्था रहन्छ ।
यही कारण अहिले कांग्रेस र एमाले दुवैले नेकपाका नेताहरूसँग संवादलाई तीव्र बनाएका छन् । दुवै दलको नजर नेकपातिर सोझिएको हो । कोशी प्रदेशको आगामी सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषय अब धेरै हदसम्म नेकपाको निर्णयमा निर्भर देखिएको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो दलले अहिले हतारमा कुनै निर्णय नगर्ने बताए । उनका अनुसार राजनीतिक अवस्था स्पष्ट भएपछि मात्रै पार्टीले औपचारिक धारणा बनाउनेछ ।
उनले वैचारिक आधारमा एमालेसँग सहकार्य सहज हुन सक्ने संकेत गर्दै कांग्रेसले समर्थन फिर्ता लिएपछि एमालेले कस्तो प्रस्ताव ल्याउँछ भन्ने विषय महत्वपूर्ण हुने बताए । उनका अनुसार विभिन्न तहमा संवाद भइरहे पनि कुनै औपचारिक सहमति भने भइसकेको छैन । कांग्रेस–एमाले गठबन्धन टुटेसँगै कोशी प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ । अब नेकपाले लिने निर्णयले प्रदेश सरकारको भविष्य मात्र नभएर आगामी राजनीतिक समीकरण पनि निर्धारण गर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !