प्रदेश –२ मा संक्रमण बढ्दो
जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ। यहाँ कोरोना संक्रमणबाट हालसम्म ४० जनाको मृत्यु भइसकेको छ। पछिल्लो सातामात्र कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाएका छन्।
दीर्घरोगी कोरोना संक्रमणको पहिलो सिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा संक्रमितको उपचारमा पनि समस्या भएको छ। प्रदेश २ का आइसोलेसन भरिभराउ भएपछि संक्रमित घरमै बस्न बाध्य छन्। यसले समुदायमा संक्रमण फैलिने खतरा बढेको छ।
साउन २४ गतेसम्ममा प्रदेश–२ मा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३१ थियो भने मृतकको संख्या २४ थियो। साउन २९ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ६ हजार ४ सय २८ पुगेको छ। साउन ३० गते सिरहामा एक पुरुषको ज्यान गएपछि प्रदेश २ मा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
‘दीर्घरोगी बढी संक्रमित छन्। उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर पनि बढ्दो छ।,’ जनस्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ प्रशासक विजयकुमार झाले भने, ‘संक्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभाविक हो।’
भारतबाट आएकाको व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकार चुक्दा कोरोना संक्रमण र मृत्युको ग्राफ उकालो लागेको हो। क्वारेन्टाइन भद्रगोल बन्नु, पीसीआर परीक्षणमा ढिलाइ हुनु, संक्रमित व्यवस्थानमा ध्यान नदिनु, सीमा नाका खुकुलो हुनु, संक्रमितले भेन्टिलेटर नपाउनु जस्ता कारणले प्रदेश– २ कोरोनाको उच्च जोखिममा पुगेको बताइएको छ।
प्रदेश– २ मा हाल दैनिक ८ सय जनाको कोरोना परीक्षण भइरहेको छ।जनकपुर, राजविराज र वीरगन्ज गरी ३ स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ। प्रदेश– २ का ८ जिल्लामा करिब ६० लाख जनसंख्या छ। भारतबाट आएका अधिकांशमा कोरोना संक्रमण भेटिए पनि सचेतता भने कम छ।
प्रतिक्रिया दिनुहोस !