कोरोना संक्रमितलाई तिरस्कार
बुटवल : कोरोना संक्रमितलाई समुदायले असामान्य व्यवहार गरेपछि बुटवलका दुई नाबालक आमासँगै आइसोलेन सेन्टरमा पुगेका छन्। बुटवल माझगाउँकी एक महिलामा बिहीबार कोरोना पोजिटिभ देखिएको थियो। उनका १ र ६ वर्षिय सन्तान छन्।
कोरोना पोजिटिभ भए पनि उनी सुरक्षित रुपमै आफ्नै घर बस्न चाहान्थिन्। आइसोलेसनभन्दा घरमै सन्तानको हेरचाह सजिलो हुने थियो। तर टोलका अन्य बासिन्दाले विरोध गरेपछि उनी संक्रमित नभएका नाबालकसहित देविनगरको एन्फा एकेडेमीमा रहेको आइसोलेसन सेन्टरमा पुगेकी छन्। देविनगरको आइसोलेसन सेन्टर बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको हो। त्यहाँ २१ जना लक्षण नभएका कोरोना संक्रमित छन्।
बुटवल उपमहानगरका जनस्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहले आफन्तले हेरचाह गर्न नसक्ने बताएपछि नाबालकलाई समेत आइसोलेसनमा पुर्याइएको बताए। ‘उहाँहरुलाई एउटै कोठामा राखिएको छ, बच्चाहरुको स्वाब संकलन भएको छ। रिपोर्ट आएको छैन', उनले भने,‘नातेदारले बालकहरुलाई राख्न मान्नुभएन। कसैले नराखेपछि नगरपालिकाले संरक्षण गर्नु दायित्व हो।’ शुक्रबार भने महिलाका माइतीले बालकहरुलाई लैजाने प्रस्ताव गरेको उनले बताए।
बुटवल उपमहानगरका टोल–टोलमा कोरोना संक्रमित छन्। ती संक्रमित र परिवारमाथि समुदायले तिरस्कार गर्ने गरेका छन्। संक्रमित नभएका सदस्यलाई समेत तिरस्कार गर्दा व्यवस्थापनमा कठिनाइ भएको स्वास्थ्यकर्मीले जनाएका छन्। समुदायकै तिरस्कारका कारण बुटवल आदर्शनगरका ७४ वर्षीय वृद्ध संक्रमण भएको पाचौं दिनमा आइसोलेसन सेन्टरमा पुगेका छन्। संक्रमण भएपछि पनि घरमै सुरक्षित बसेका र परिवारबाट स्याहार पाएका उनलाई टोलका बासिन्दाले विरोध गरेर धपाएका हुन्। उनलाई घरमा नराख्न भन्दै नाराबाजी नै भएको थियो।
‘म घरमै बसेको थिएँ। सबै सुरक्षित व्यवस्थापन भएको थियो। परिवारको रेखदेख पाएको थिएँ तर विरोध गरेर बस्नै दिएनन्', ती वृद्धलाई उदृत गर्दै एक स्वास्थ्यकर्मीले भने। छिमेकीहरु नै विरोधमा उत्रिएपछि संक्रमण नभएका आफन्तसमेत तनावमा छन्। बुटवल उपमहानर–१३ का एक संक्रमितका छिमेकीले नै चर्को विरोध गरेका छन्। ‘म आइसोलेसन सेन्टरमा छु, घरमा भएका परिवारका सदस्यलाई अन्तै पठाउनुपर्छ भन्दै छिमेकीबाटै विरोध भएको छ, उनले भने,‘समाजका बुद्धिजीवि भनिनेले नै तिरस्कार गर्छन्।’
बुटवल उपमहानगरका जनस्वास्थ्य प्रमुख सिहंले बिरामीमाथि असामान्य व्यवहार हुने गरेको बताउँछन्। ‘कतिपय स्थानमा त हामीमाथि नै जाइलाग्ने अवस्था भयो', उनले भने, ‘यसो हुँदा संक्रमित व्यवस्थापन जटिल बन्दै गएको छ।’ छिमेकमा कोरोना संक्रमित हुँदैमा नसर्ने उनले बताए। छुट्टै शौचालय, कोठा भएमा घरमै बस्न सकिने उनको भनाइ छ।
बुटवलमा होम आइसोलेसनमा बस्नका लागि टोल विकास संस्थाको सिफारिसपछि वडा कार्यालयको अनुमति चाहिन्छ। तर धेरै टोल विकास संस्थाले घरमा बस्नै नदिने नीति अपनाएका छन्। यसो हुँदा आइसोलेसन सेन्टरमा संक्रमित राख्न कठिन हुने अवस्था देखिएको छ। बुटवलमा लक्षणसहितका संक्रमितलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल र लक्षण नभएकालाई एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा राखिएको छ। एन्फा सेन्टरमा अभावकाबीच बस्नु परेको संक्रमितले बताएका छन्। ‘सुत्ने स्थान त ठिकै छ, तर गर्मीमा पंखा छैनन्, म्याट्रेस, पानी तताउने किट्ली, बाल्टी मग निकै कम छन्', एक संक्रमितले भने,‘पत्रपत्रिका पढ्ने र इन्टरनेटको सुविधा छैन। समय कटाउन कठिन भएको छ।’ खाजाका रुपमा पत्रु खाना समोसा, पुरी दिने गरिएको गुनासो त्यहाँ बस्नेले गरेका छन्। बिरामीले के खाना खाने भन्ने मापदण्ड बनाइएको छैन।
आइसोलेसनमा बसेका संक्रमितले सहयोगदाता संस्थाहरुलाई गुहारेर केही समाग्री सेन्टरमा पुर्याएका छन्। लायन्स क्लव अफ बुटवल देउरालीले म्याट्रेक्स, लाइन्स क्लव अफ बुटवल चौतारीले बाल्टी, मग, इलेक्ट्रिक किट्ली उपलब्ध गराएका छन्।
संक्रमण बढ्दै, ५ जिल्ला लकडाउन
प्रदेश ५ मा संक्रमण उच्च गतिमा बढिरहेको छ। समुदायमै कोरोना देखिएपछि यसको परीक्षण जटिल बन्दै गएको हो। कन्ट्रयाक ट्रेसिङमा परेकाको स्वाब परीक्षण रिपोर्ट आउने ५/७ दिन लागेको छ। त्यसो हुँदा संक्रमण झन फैलिएको हो।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका उच्च तहका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। मन्त्रालय नै क्वारेन्टाइनमा गएको छ। संक्रमण फैलिएपछि प्रदेशका ५ वटा जिल्ला लकडाउनमा छन्। पश्चिम नवलपरासी, रुपन्देहीका चार नगरपालिका, कपिलवस्तु, बाँके र बर्दियामा लकडाउन छ। महेन्द्र राजमार्गको दाङ खण्डबाहेक अन्य स्थानमा छोटा रुटका यातायाताका साधन चलाउन निषेध गरिएको छ। रुपन्देहीका बुटवल, देवदह, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका भदौ ५ गतेसम्म लकडाउन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !