निरीह पुजारीको निर्मम हत्या

निरीह पुजारीको निर्मम हत्या

गौर : अज्ञात समूहले बुधबार राति गोली प्रहार गरी ६५ वर्षीय पुजारी श्रीराम साहको ज्यान लिएको छ। साहले रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलनजिकै सार्वजनिक जग्गामा हनुमान मन्दिर बनाएर पूजाअर्चना गर्दै आएका थिए। उनले त्यही मन्दिरमा पाएको दान र भिक्षाबाट छाक टार्दै आएका थिए। उनी बुधबार राति ९ बजेतिर मन्दिरछेउ रहेको छाप्रो अगाडि खुला स्थानमा बसेर रोटी खाइरहेका थिए। 

त्यहीबेला उनको टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा कचौरामा रोटी, तरकारी र भुइँमा सानो कागजमा नुन र एक लोटा पानी भेटिएको छ।

हत्याको खबर पाएपछि प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो। घटना भएको इलाका सिल गरी प्रहरीले अनुसन्धान थालेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाएर हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

मृतक पुजारी श्रीमती बितेपछि एक्लै बस्दै आएका थिए। उनका छोराछोरी छैनन्। उनकै पहलमा उक्त मन्दिर २०७६ जेठमा निर्माण गरिएको स्थानीयको भनाइ छ।पुजारीको स्वभाव सीधासादा र कोहीसँग नरिसाउने रहेको माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्र्रसाद यादवले बताए। ‘पुजारीसँग कोही कसैको विवाद, झगडा भएको थाहा छैन’, मेयर यादवले भने, ‘मदिरा खाएका कोही कसैले हत्या गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ।’

बस्तीभन्दा करिब आधा किलोमिटर टाढा बाटोछेउ मन्दिर छ। बाटो किनारमा मन्दिर र छेउमा पुजारी बस्ने फुसको सानो छाप्रो छ। श्रीमतीको मृत्युपछि  साह धर्मकर्ममा लागेको वडाध्यक्ष हनुमान सहनीले बताए। उनको हत्यामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न वडाध्यक्ष सहनीले माग गरे। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.