घर जान निस्किएकी किशोरीको बाटैमा सामुहिक बलात्कार
जनकपुरधाम : दिदीको घरबाट फर्किंर्दै गरेकी एक किशोरी सामुहिक बलात्कारको सिकार भएकी छिन्। धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय बिघामा भएको दिदीको घरबाट दाजुभाइसहित घर जान निस्किएकी किशोरीको बाटैमा सामुहिक बलात्कार भएको हो।
बलातकारीले गत भदौ १ गते सोमबार साँझ दिदीको गाउँबाट निस्किएकी किशोरीलाई पछ्याउँदै सुनसान स्थानमा पुगेपछि उनीसँगै रहेका दाजु–भाइलाई कुटपिट गरेर भगाएका थिए। किशोरीको दाजुभाइलाई भगाइ किशोरीलाई जबरजस्ती मोटरसाइकलमा बसाएर सुनसान स्थानमा लगी सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पीडितको जाहेरी तथा बयानको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनले भने, ‘पीडितले दिएको जाहेरीको आधारमा धनुषाधाम प्रहरी चौकीसहित हामीले अनुसन्धान गर्दै केही व्यक्तिलाई पक्राउ गरेका थियौं। जसमध्ये संलग्न एकजनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौं।’
घटनाको अनुसन्धानको क्रममा चार जनाले सामुहिक बलात्कार गरेको देखिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। उनले भने, ‘अन्य अभियुक्तहरु समेत प्रहरी खोजीको सुचिमा छन्, छिट्टै पक्राउ पर्छन्।’