विद्यार्थीलाई एक शिक्षकको पत्र

विद्यार्थीलाई एक शिक्षकको पत्र

प्रिय सहयात्रीहरु, 

न्यानो माया अनि मिठो सम्झना !

हालसम्म स्वस्थ छु अनि सोही चाहान्छु। तिमीहरुमध्ये केहीसँग सिकाइ केन्द्रमा, केहीसँग सम्पर्क कक्षामा अनि केहीसँग अनलाइन कक्षामा क्षणिक भेटघााट भए पनि झण्डै ५ महिनादेखि हामीले आत्मियतासहितको सहयात्रा गर्न पाएका छैनौँ। निकै दुखी छु हाम्रो अपेक्षित सहयात्रा केही समय रोकिएकोमा अनि निकै आतुर पनि छु तिमीहरुलाई भेटेर हाम्रो नयाँ कक्षारुपी सहयात्रा प्रारम्भ गर्न। विगत लामो समयदेखि तिमीहरुसँगै रमाउने बानी परिसके छ । तिमीहरुबिनाको दैनिकी निकै उकुशमुकुश लाग्यो, मन भत्भत् पोल्यो अनि यो पत्र लेख्न बाध्य भएँ। 

मेरो जस्तो दिनचर्या तिमीहरुको छैन होला। किनकि हाम्रो विगतको सहयात्रामा तिमीहरुमा छुट्टीको अपेक्षा धेरै गर्दथ्यौ। कुनैदिन भोलि बिदा छ है भनेर सुचना गर्दा सबैले खुसी हुँदै ताली बजाएको पल सम्झनामा छ। अहिले परिस्थितिले नै लामो समय बिदा दिएको छ। खुसीको त सीमा नै छैन होला है ? मेरो अपेक्षा पनि तिमीहरुमा खुसी देख्नु नै हो। तिमीहरुको खुमीमा अझ खुसी थप्ने चेस्टा यो पत्रमार्फत गर्दैछु। आशा छ, केही खुसी पक्कै थपिन्छ। 

नयाँ कक्षाका किताबहरु सबै पाइसक्यौ। केही दिन त नयाँ किताबका रमाइला–रमाइला कथाहरु पढ्दा अनि चित्रहरु हेर्दा निकै रमाइलो अनुभव भयो होला। तर एक पटक पढेको कुरा फेरि पढ्न मलाई जस्तै तिमीहरुलाई पनि मन लाग्दैन होला है ? चिन्ता नगर पुस्तक पढ्न मन नलागे, गाह्रो लागे, अल्छी लागे सबैलाई सुक्षित राख। परिस्थिति अनुकुल हुने बित्तिकै ती पुस्तकको साथ हाम्रो सहयात्रा पुन सुरु हुने छ। किताबी सिकाइलाईभन्दा सिकाइका अन्य रमाइला माध्यमहरुलाई अपनाऔ। किताब मात्र सिकाइको एकमात्र माध्यम होइन। सर्वप्रथम तिमी आफ्नो रुची र क्षमतालाई चिन। पढ्ने लेख्ने रुचि छैन भने पनि चिन्ता नगर। आफूलाई भित्री मनबाट के गर्न मन लाग्छ र आफुसँग के सीप छ त्यो कुरालाई पहिचान गर। 

विश्वास छ, जे गर्न मन लाग्छ त्यो गर भन्दा नराम्रो काम पक्कै गर्दैनौं किनकि तिमीहरुलाई मैले बुझेको छु, राम्रो नराम्रो छुट्टाउन सक्छौ। यदि गीत गाउन र नाँच्न मन लाग्छ भने गाऊ, नाच। सबै सामु असहज भए एक्लै नाँच अनि गाऊ। मोबाइल छ रेकर्ड गर, पछि आँफै सुन, आँफै हेर अनि फेरि अर्कोपटक अझै राम्रो गर्ने प्रयास गर। मोबाइल छैन भने पनि कत्ति चिन्ता नमान। घर परिवारका सबैलाई राखेर गाऊ, नाच अनि कस्तो भयो सोध। अझै राम्रो बनाउन के गर्नुपर्छ त्यो पनि सोध। सोहीअनुसार सुधार गर्दै जाऊ। लाग्छ अहिले गीत र नाँच मन नपराउने कोही पनि छैनन्।   

सबैलाई गीत गाउन र नाच्न मन लाग्दैन। नाँच्न, गाउन नजान्दैमा केही हुँदैन। तिमीहरुमध्ये केही यति प्रतिभावान् छौ कि निकै राम्रो चित्र बनाउन सक्छौ। विभिन्न चित्र बनाऊ, रङ मिलाएर लगाऊ अनि बाबा, आमा, दाजु दिदीको मोबाइबाट फोटो खिच। फेसबुकमा राख्दिन भन। के के कमेन्ट आए बुझ अनि सोहि अनुसार सुधार गर। मोबाइल र फेसबुक नभए पनि पीर नगर। तिमीले बनाएको चित्र परिवारका सबैलाई देखाऊ। उहाँहरु पनि फेसबुकमा जस्तै मौखिक कमेन्ट गर्नुहुन्छ। सोही अनुसार आफ्नो कलालाई सुधार गर्दै जाऊ। आफूले बनाएका सबै चित्र मिति लेखेर संकलन गरेर राख है, मलाई पनि देखाउनु पर्छ नि। हाम्रो भेटमा म पनि लाइक र कमेन्ट गर्छु नि है ? अनि केही मेरा सहयात्रीहरु मिठो कथा, कविता, गजल, मुक्तक र चुट्किला लेख्न मन पराउँछौ। दिनमा केही समय मिलाएर लेख, मिठो आवाजमा वाचन गरेर सुनाउ, जसरी मलाई हाम्रो विगतको सहयात्रामा पटकपटक सुनाएर खुसी बनाएका छौ। 

अनि गीत, नाँच, कथा, कविता, चित्र आदि केही नआउनेहरु पनि छौ है ? नआए के भो तिमीहरु कति राम्रो अभिनय गर्छौ, त्यही गर। कहिले जनावर जस्तै गर, कहिले चलचित्रको नायक जस्तै गर, अनि कहिले नेताहरु जस्तै गर। जे सक्छौ त्यो गर।  गर्ने मात्र हैन परिवारका सदस्यहरुलाई पनि देखाऊ। दिन दिनै केही समय निरन्तर गर। अनि आशा पनि गर केही वर्षपछिको कमेडि च्याम्पियनमा भाग लिन्छु भनेर। किनकि ती कमेडी च्याम्पियनका विजेता पनि तिमीहरु जस्तै सिक्दै सिक्दै त्यो ठाँउमा पगेका त हुन् नि। गर्भबाटै त्यो कला लिएर आएका त पक्कै होइनन्। आफूमा विश्वास राख, सफलता तिम्रै हातमा छ। किनकि तिमीहरु मसँगको सहयात्रामा निरन्तर सफल भएका छौ त्यो पनि तिमीहरुकै प्रयासबाट त हो नि। 

अनि पत्र पढ्दै जाँदा लाग्न सक्ला, मलाई त केही गर्न आँउदैन। केही सीप छैन। अब के गर्ने ? यो प्रश्नको उत्तर पनि मसँग छ। तिमी केही गर्न नसके पनि प्रश्न गर्न त पक्का सक्छौ, जसरी कक्षामा मलाई अचम्मका प्रश्न गर्ने गथ्र्यौ। हो त्यस्तै प्रश्न गर।  जे देख्छौ, जे सुन्छौ त्यसैमा प्रश्न गर, ढिलो चाँडो उत्तर पाउने छौ। बाहिर पानी परिराखेको हेर अनि प्रश्न गर, पानी कसरी पर्छ ? किन पर्छ ? अनि रेडियो टेलिभिजन हेर्छौ भने प्रत्येक कुरामा किन र कसरी भन्ने प्रश्न गर। तिमीलाई थाहा नभएका सबै कुरामा प्रश्न गरिराख। रेडियो टेलिभिजन छैन भने बाहिर बाटोतिर हेर, के देख्छौ प्रश्न गर। आकाशमा हेर चरा उडेको, बादलले सूर्यलाई ढाकेको, चन्द्रमाका विभिन्न आकृति आदि देख्यौ प्रश्न गर्न नछाड। अनुकुल छ भने गुगलमा ती प्रश्नका उत्तर खोज छैन भने पनि आफूभन्दा अग्रजलाई लाज नमानेर ती प्रश्नहरु सोध। केही न केही उत्तर पाउने छौ तर सबै उत्तरहरुलाई पनि प्रतिप्रश्न गर। पाएसम्म उत्तर खोज, नपाए आफ्नै अनुमानित उत्तर सोच। अनुमान लगाउन पनि सकेनौ भने सबै प्रश्नहरु जम्मा पारेर राख। हाम्रो भेटमा तिमी हामी मिलेर छलफल गरौँला। यस्तो प्रश्न गर्ने बानीले तिमीलाई अध्ययनशील, जागरुक, जिज्ञासु र समालोचक बनाउन सहयोग गर्दछ। ए, साँच्चै, तिमीहरु आँफैले भनेका हैनौ त, न्युटनले रुखबाट स्याउ खस्दा कसरी र किन खस्यो भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा वैज्ञानिक भए भनेर ? हो यही कुरालाई आत्मसाथ गर्दै तिमी पनि प्रश्न गर्दै जाऊ अनि उत्तर पनि खोज्दै जाऊ है। 

म विश्वस्त छु कि दिनको एक चरणमा माथिका कुनै न कुनै काम अवश्य गर्नेछौ। अब म तिमीहरुलाई अर्को चरणमा प्रवेश गराँउछु। तिमीसँगको सहयात्रामा तिम्रा थुप्रै प्रतिभाहरु बुझ्ने मौका पाएको छु। आफ्नो क्षमता अनुसारका घरयासी कामहरु पनि गर है। भान्छा कोठा सक्ने जति सफा गर, आफ्नो विस्तरा मिलाएर राख, कपडा मिलाएर व्यवस्थित गर, भान्छाकोठाका सक्ने जति भाँडाहरु सम्बन्धित ठाँउमा राख, शौचालय सफा गर, तरकारी तयार गर्न आमा बाबालाई सहयोग गर, सक्ने जति दिनमा एकपटक गर। केही पनि गर्न आँउदैन भने अग्रजहरुले गरेको हेर, त्यहाँ पनि प्रश्न गर। अनि कसरी गर्ने पनि सिक। मलाई लाग्छ पक्कै पनि घरको काम गर्न खोज्दा सबै अभिभावकहरु खुसी साथ सिकाउनुहुन्छ। 

व्यक्तिगत स्वास्थ्यको पनि ख्याल गर। सरसफाईमा निरन्तरता देऊ। नङ काट्न, हात धुन, सक्ने जति लुगा सफा गर्न, र किताब कापी व्यवस्थित गर्न अरुको अपेक्षा नगर। आफूलाई थाहा भएको राम्रो कुरा परिवारमा सबैलाई भन। केही समय पहिले सिकाइ केन्द्रमा तिमीहरुले मलाई कोरोनाका लक्ष्यणहरु र बच्ने उपायहरु भनेका थियौ नि त्यसै गरी सबैलाई भन्ने काम पनि गर है। भन्ने क्रममा भौतिक दुरी कायमा गर्न त मैले भन्नै पर्दैन, तिमीहरुले मलाई नै सिकाएका थियौ। मैले सम्झिराखेको छु, तिमीहरु प्रायले भन्दै आएको, हामी स्वावलम्भी हुनुपर्छ भन्ने सिद्धान्त। हाम्रो आगामी भेटमा आफ्नो काम आफैँ गरेर साँच्चिकै स्वावलम्भी भएको खवर सुन्न पाउनेछु भन्ने आशा अनि विश्वास लिएको छु। 

यसका अतिरिक्त तिमीहरु खेल खेल्न, आराम गर्न, परिवारसँग कुराकानी गर्न पनि उत्तिकै मन पराँउछौ, त्यो पनि निश्चित अवधिमा गर। बिहान साना र शारीरिक अवस्था अनुकुलताका घरमै गर्न सकिने व्यायमलाई पनि निरन्तरता देऊ। यसले तिमीलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य रहन सहयोग गर्दछ। खाने कुराहरु के खाने के नखाने भन्ने तिमीहरुलाई राम्रोसँग थाहा छ। त्यसलाई पनि व्यवहारमा उतार। विद्यालयमा जस्तै घर परिवारमा पनि मिठो बोली, सरल एवम् अनुशासित बानी व्यवहार र इमान्दारितालाई पनि अनुशरण गर। यसले तिमीलाई एक असल विद्यार्थीको परिचहान दिनेछ, जुन मैले सदा अपेक्षा गरिरहेको छु। थाहा छ मेरो अपेक्षा माथि पक्कै पनि न्याय गर्नेछौ। 

अब म तिमीहरुलाई मेरो मनको व्यथा बाँड्न चाहान्छु। आखिर तिमीहरुबाहेक अरु को नै छ र मेरो व्यथालाई बुझिदिने।  तिमीहरुले विभिन्न समचारमार्फत सुनेका छौ होला, शिक्षकहरु निदाएका छन्, बसीबसी तलब खाएका छन्, मरेका छन् आदि इत्यादि भनेको। यस्ता कुराहरुले मलाई निकै चोट पुगेको छ। हाम्रो भेट निरन्तर नभएकाले तिमीहरुलाई पनि लाग्न सक्छ, साँच्चिकै सर निदाउनु भयो वा बसीबसी तलब खानु भयो। कृपया यसलाई यसरी नबुझ। 

तिमीहरु सबैलाई थाहा छ, महामारीको स्वरुप निकै खतरा हुँदै गएको छ। यस्तो अवस्थामा सबैलाई ज्यानको माया छ। म स्विकार गर्छु, सचेत, सुरक्षित, र सजग रहनको लागि पहिले जस्तै दैनिक सहयात्रा गर्न सकेका छैनौँ। तैपनि दुरी कायम गरेर सम्पर्क कक्षा, सिकाइ केन्द्रमा सहजीकरण, घरघरमा पाठ्यपुस्तक, अनुकुल हुनेलाई व्यक्तिगत मोबाइल डाटा प्रयोग गरेर अनलाइन कक्षा, तिमीहरु धेरैले नजानेको कुरा सोध्न मिसकल हानेपछि म आफैँले कल व्याक गरेर पटक पटक सहजीकरण आदि जस्ता कार्यहरु गरिराखेकै हो। यसको प्रत्यक्ष प्रमाण तिमीहरु नै हौ। अहिले कोरोना महामारीको अवस्थामा जोखिम पनि बढेकोले सम्पर्क कक्षा तथा सिकाइ केन्द्र स्थगित गरिएको हो।  म पूर्ण विश्वस्त छु कि, जसले जस्ता आरोप लागाए पनि तिमीहरु मलाई विस्वास गर्छौ, अनि समग्र परिस्थितिको मुल्याङकन पनि। 

म आफैँ अतालिएको छु अनि प्रत्येक पलपलमा परिस्थिति सामान्य होस् भनेर प्राथना गरिरहेको छु। तिमीहरुसँग सहकार्य गर्न प्रतिक्षारत छु। बस्दाबस्दा, मलाई पनि विद्यालयमा कहिलेबाट निरन्तर पढाइ होला र जाऊँला भन्ने तीव्र चाह भइसकेको छ।। तिमीहरुको शैक्षिक गन्तव्यमा पुग्ने कार्य तिमीहरुको र मेरो सहकार्यमा मात्र सफल हुने हो, ती हामीलाई निदाएको देख्नेहरुको कुनै भूमिका रहँदैन। त्यसैले, बोल्नेहरुले जे जस्ता आरोपहरु लगाए पनि म मेरो पेशाप्रति वफदार रहेको कुरा तिमीहरुलाई विश्वास दिलाउन चाहान्छु। 

अहो ! मनका भावहरुलाई समावेश गदै जाँदा पत्र लामो बनिसकेछ। तसर्थ, पत्रका कुराहरुलाई पक्कै पनि आत्मसाथ गर्ने छौ भन्ने आशा अनि भरोसा सहित पत्रबाट बिदा हुन्छु। स्वास्थ्य र सुरक्षित बस्नु। हाम्रो स्वास्थ्य ठिक होस् अनि परिस्थिति सहज बनोस् हाम्रो सहयात्रा निश्चित छ। 

उही ननिदाएको शिक्षक, 
विष्णुदेवी मा.वि. काठमाडौं 
@bhimsapkota33


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.