बर्दियामा कोरोना संक्रमितको संख्या ३ सय २० पुग्यो
गुलरिया : महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बर्दियामा बढ्दो क्रममा छ । पछिल्लो समय समुदायस्तरमा पीसीआर परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढेर ३ सय २० पुगेको छ ।
बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि सबैलाई सचेत रहन आग्रह गरिएको छ । क्लस्टरस्तरमा समेत संक्रमितहरु देखिएकाले अत्यावश्यक काम बाहेक घरमै सुरक्षित बस्नु जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले सुझाए।
बर्दियाका ८ वटा पालिकमध्ये सबैभन्दा बढी बढैयाताल गाउँपालिकामा ६५ जना संक्रमित छन् । मधुवन ४६, गुलरिया ४४, बाँसगढी ४२, ठाकुरबाबा ३९, राजापुर ३ र बारबर्दिया नगरपालिकामा १९ जना संक्रमित फेला परेका छन् । त्यस्तै गेरुवा गाउँपालिकामा ३२ जना संक्रमित छन् ।
बर्दियामा संक्रमितको संख्या अझै वृद्धि हुने सम्भावना छ । उनले भने,' हामीले विभिन्न क्लस्टर गरी हालसम्म ८ हजार ३ सय ५७ जनाको पीसीआर परीक्षण गरेका छौं । जसमध्ये १ सय ९९ जनाको नतिजा आउन बाँकी छ । '
बर्दियामा २ सय ६५ जनाले कोरोना जितेका छन् । एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको गिरीले जानकारी दिए । ५४ जना कोभिडका बिरामी उपचारमै छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा १ सय ४८ जना छन् । जिल्ला नै रेडजोनमा परेका कारण स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।