सय रुपैयाँ घुस दिँदा हजार जरिवाना
![सय रुपैयाँ घुस दिँदा हजार जरिवाना](https://annapurnapost.prixacdn.net/media/albums/20180418051507_Ghus-ciaa_n7Yt02Momu.jpg)
सिन्धुली : सिन्धुलीमा एक सवारी चालक घुसबापत सय रुपैयाँ दिँदा एक हजार रुपैयाँ जरिवानामा परेका छन्। सर्लाहीबाट काभ्रेको पनौती तर्फ जाँदै गरेको बा २१ च ३९९८ नं. को बोलेरोको चालकले सय रुपैयाँ दिएर प्रहरीलाई आर्थिक प्रलोभना पार्न खोज्दा एक हजार जरिवाना तिर्नु परेको हो।
जिल्लाको कमलामाई नगरपालिका-९ भिमानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान दिपक भण्डारीलाई गाडी चेकजाँच गराउँनुको साटो एक सय रुपैयाँ फ्यालेर प्रलोभनमा पार्न खोजेपछि उक्त बोलेरोका चालकलाई एक हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता (डिएसपी) श्यामकुमार खत्रीले जानकारी दिए।‘बोलेरोमा तिनवटा लैना भैसी लिएर हिडेका चालकले सय रुपैयाँ फ्याँकेर हिँडेपछि उनलाई जिल्ला प्रहरी कार्यालय नजिकै रहेको ट्राफिक प्रहरी चेकपोष्टमा नियन्त्रणमा लिएर नियम अनुसार एक हजार जरिवाना लिइएको हो,’ उनले भने।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि चालक र भैसी साहुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरी आइन्दा प्रहरीलाई कुनै पनि किसिमको आर्थिक प्रलोभनामा नदेखाउने सर्तमा एक सय रुपैयाँ रकमसमेत फिर्ता गरी छाडिएको खत्रीको भनाई छ।
लकडाउनका बेला अत्यावश्यक बाहेकका सावारी साधन सञ्चालनमा प्रहरीले कडाई गरेको छ। तर, आर्थिक प्रलोभनमा पारेर केही व्यवसायीले सवारी साधन सञ्चालन गर्ने गरेको पाइएपछि पछिल्लो समय जिल्लामा ट्राफिक चेकजाँचमा कडाई गरिएको छ।
उता जिल्लामा यसअघि यातायात व्यवसायीसँग अबैध रकम असुल गर्ने गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मातहतका ७ जना प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)